नेकपाको अहिलेको अन्तरविरोध पार्टी र ओली गुटबीचमा हो

|

काठमाडौं : सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार यथास्थितिमा नै रहे नेपाल कम्युनिष्ट पार्टीको ७१ वर्षको उपलब्धि गुम्‍ने बताएका छन्। 

पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले नेपाल कम्युनिष्ट आन्दोलनलाई बचाइराख्‍न अब सरकार र पार्टीको समीक्षा गरेर पुनर्गठन गर्नुको विकल्प नरहेको बताएका छन्। 

सहाना प्रधान प्रतिष्ठानले सोमबार गरेको ‘नेकपाको आजको समस्या के हो ? सम्भावना के हो?’विषयक भर्चुअल छलफलमा भाग लिँदै खनालले भने ओली सरकारले यथास्थितिमै निरन्तरता पाइरहे सबै कुरा बिग्रिने बताए। 

'ओलीले पाँच वर्ष सरकार चलाए भविष्य अनिश्‍चित हुन्छ। अहिले जसरी केपी ओलीले सरकार चलाइरहनु भएको छ, यसरी नै पाँच वर्ष उहाँ सरकारमा रहने हो भने नेकपा ‘रुट’ आउट हुन्छ', उनले भने, 'नेकपाको भविष्य अनिश्‍चित हुन्छ।’

उनले ओलीको एकलौटीको पनि खुलेर विरोध गरे। 'मन्त्रिपरिषद्, योजना आयोगदेखि सबै ठाउँमा ओलीले आफूले चाहेको वा गुटको मानिसलाई मात्रै ठाउँ दिएका छन्', उनले भने, 'अब नयाँ ढंगले नसोची हुँदैन, सुधार नगरी हुँदैन । त्यस्तो गर्न सक्यो भने मात्रै नेकपाले पुनर्जीवन पाउने सम्भावना रहन्छ।’

खनालले अहिलेको अन्तरविरोध ओली गुट र नेकपाबीच भएको पनि बताए । ‘अहिलेको नेकपाभित्रको अन्तरविरोध पार्टी र केपी ओली गुटबीचको हो', उनले भने, 'प्रधानमन्त्री ओली गुटका कारण नवउदारवादीहरु हाबी भए। समाजवादीहरु कमजोर हुँदै गए।'

उनले ठूलो सम्भावना र सपनाको बीचमा प्रधानमन्त्री ओलीको नेतृत्वमा सरकार बने पनि गत अढाई वर्ष नेपाल कम्युनिष्ट पार्टीका लागि असाध्यै तीतो भएको बताए। खनालले हालसम्मका नीति तथा कार्यक्रम र योजनाबारे पार्टीमा छलफल नहुँदा समस्या निम्तिएको बताए ।

'कस्तो योजना बनाउँदा समाजवादमा जान सकिन्छ? नीति तथा कार्यक्रम बनाउँदा कुनै छलफल भएन', उनले भने, 'योजना आयोग पार्टीको त होइन नि! तर अहिले केवल प्रधानमन्त्री ओलीको 'टुल' मात्रै बनेको छ।'

सरकार पुनर्गठन गरौं

वरिष्ठ नेता खनालले नेकपाको इज्जत जोगाउन संघीयदेखि प्रदेशसम्मको सरकार पुनर्गठन हुनुपर्ने मत राखे। 'अब केन्द्रदेखि प्रदेशसम्मका सरकार पुनर्गठन गर्नुपर्ने जरुरी छ', उनले भने, 'जनसंगठन र पार्टीका सबै कमिटीलाई पूर्णता दिएर पार्टीलाई गाउँसम्म चलायमान बनाउनुपर्छ।'

यो बाटो समाजवादको होइन

उक्त भर्चुअल छलफलमा भाग लिँदै राननीतिक विश्लेषक डा.खगेन्द्र प्रसाईले अहिले सरकार हिँडिरहेको बाटो समाजवादी नभएको बताएका छन्। प्रसाईले सरकार पूर्णत: समाजवादी कार्यक्रमबाट विमुख भएर पुँजीवादीहरुको चंगुलमा फसेको बताए । 

छलफलका क्रममा सहजकर्ता तथा नेकपा केन्द्रीय सदस्य ठाकुर गैरेले नेकपाले मुलुकलाई बनाउन चाहेको कार्यदिशामै अन्योलको अवस्था रहेको बताए। गैरेले पार्टीका सबै नेता कार्यकर्ताको सम्मानजनक भूमिका र अस्तित्व नहुँदा अहिलेको संकट निम्तिएको बताए। 

प्रतिष्ठानकी अध्यक्ष तथा नेकपा केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले पार्टीभित्र अहिले देखिएको अन्तरविरोध नेकपाको भविष्यमै प्रश्‍न उठेको बताइन्। अहिलेको संकटका कारण नेकपाको अबको यात्रा नै अलमलमा परेको उनको भनाइ थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.