राजनीति

स्वास्थ्य मन्त्रालयलाई नमुना बनाएर मात्रै छाड्छु : मन्त्री ढकाल

परिवर्तन विरोधी र स्वार्थ समूहको सामना गर्छु

असार २९, २०७७

    काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले मन्त्रालयको पुनर्संरचना गरेर नमुना बनाउने बताएका छन्। सोमबार मन्त्रालयमा स्वास्थ्यसँग सम्बन्धित विभिन्न संघ, संस्था र ट्रेड युनियनका प्रतिनिधिसँग छलफल गर्दै मन्त्री ढकालले नीति तथा कार्यक्रममा उल्लेख भएका विषय कार्यान्वयनमा लैजाने बताए। 

    मन्त्री ढकालले हाल स्वास्थ्य मन्त्रालयको नेतृत्व गरेकै कारण विभिन्न स्वार्थ समूहको निशानामा परेको भन्दै त्यसको आफूले दृढतापूर्वक सामना गर्ने बताए। 

    उनले मन्त्रालय नमुना बनाएर सबैले असल मनसायले काम गर्नुपर्ने बताए।  ‘स्वास्थ्यमा आमुल परिवर्तनका लागि कोभिड–१९ ले केही असहजता सिर्जना गरे पनि स्वस्थ्य मन्त्रालय नमुना बनाएर मात्र अरूलाई हस्तान्तरण गर्छु’, उनले भने। 

    मन्त्री ढकालले स्वास्थ्यको क्षेत्रमा इतिहासकै सबैभन्दा उत्कृष्ट नीति तथा कार्यक्रम आएको भन्दै यसको कार्यान्वयनमा सबै संघसंस्थाले पनि सकारात्मक साथ दिनुपर्ने बताए। ‘परिवर्तन नचाहने मन्त्रालयभित्रै पनि छन, बाहिर पनि छन्’, उनले भने, ‘तर म यसपटक यो देशमा स्वास्थ्य मन्त्रालय पनि छ भन्ने अनुभूति दिलाउने गरी काम गर्छु।’

    उनले स्वास्थ्यमा परिवर्तनका लागि प्रस्तावित विषयको गृहकार्य गर्न आवश्यक नीति तथा कार्यविधिहरू तय गर्न विभिन्न समिति गठन गरिसकिएको बताए। 

    मन्त्री ढकालले त्यस्ता समितिमा विषयगत क्षेत्रका कुनै संस्थाको प्रतिनिधित्व छुटेको रहेछ भने ती संस्थाका प्रतिनिधिलाई पर्यवेक्षक सदस्यका रूपमा भए पनि बैठकमा सहभागी गराउने विश्वास दिलाए। 

    आफूले पारदर्शी भएर काम गरिरहेको बताउँदै ढकालले भोलिका दिनमा पनि त्यसैगरी अघि बढ्ने बताए। ‘म सबैलाई स्वार्थ समूहको हतियार नबन्न अनुरोध गर्छु’, उनले भने ‘असन्तुष्टि र आलोचनाले मात्र निकास दिँदैन। अरूको हतियार बनेर दुरूपयोग नहोऊँ। हामी सबैको कुरा सुन्छौँ। स्वास्थ्य मन्त्रालयलाई नमुना बनाएर छाड्छौँ।’ 

    उनले पिसिआर परीक्षणको दायरा नघटाइएको भन्दै अहिले २५ वटा ल्याबबाट दैनिक १० हजारको नमुना परिक्षण गर्न सक्ने गरी क्षमता वृद्धि गरिएको बताए। 

    मरेका व्यक्तिहरूको पिसिआर भएकोमा कतिपयले असन्तुष्टि जनाएको सन्दर्भ उल्लेख गर्दै उनले मर्ने व्यक्तिबाट समाज र परिवारमा जोखिम हुन नदिन पिसिआर गरिएको बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]