|

एजेन्सी : कोरोना भाइरसको उत्पत्तिको श्रोतको खोजी गर्दै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का विज्ञहरु चीन आएका छन् । 
 

डब्लुएचओका दुई जना विज्ञ चीन आएको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुआचुनयिङले सोमबार पुष्टि गरेकी छन्। विश्वभर महामारीको रूपमा फैलिएको कोरोनाकाे सङ्क्रमण सबैभन्दा पहिला चीनमा भेटिएकोले उनीहरु अध्ययनका लागि चीन आएका हुन् । 

दैनिक पत्रकार सम्मेलनमा परराष्ट्र प्रवक्ता हुआले अध्ययनका लागि आएका डब्लुएचओका विज्ञहरुले चिनियाँ वैज्ञानिक, चिकित्सा विज्ञ र सरोकारवालाहरुसँग छलफल गर्ने जानकारी दिइन्।  

'उनीहरुले हाम्रा विज्ञहरुसँग सम्बन्धित विषयमा प्रश्नहरु गर्नेछन् र हाम्रा विज्ञहरुले जानकारी दिनेछन्,' प्रवक्ता हुआले भनिन्। डब्लुएचओका स्वास्थ्य विशेषज्ञहरुले यस्तै छलफलका लागि अन्य देशहरुमा पनि जान सक्ने उनले बताइन्। 

'कोरोना भाइरसको विकासका लागि विभिन्न देश तथा क्षेत्रहरुमा धेरै चरण पुरा गर्नु परेको डब्लुएचओले पनि विश्वास गरेको छ, त्यही चरणहरुका बारेमा पहिचान गर्न उनीहरु आएका हुन,' उनले भनिन्।

धेरै ठाउँमा धेरै चरणबाट कोरोना भाइरसको विकास भएकाले उनीहरु आवश्यकता अनुसार अन्य देशहरुमा पनि जानसक्ने उनले पत्रकारहरुलाई जानकारी दिइन्। यसअघि डब्लुएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रयेससले अघिल्लो महिना भनेका थिए , 'कोरोना  भाइरसको श्रोत के हो भन्ने कुरा पत्ता लगाउनु धेरै महत्वपूर्ण हुन्छ ।' 

यो विज्ञानसँग सम्बन्धित, सार्वजनिक स्वास्थ्यसँग सम्वन्धित विषय भएको, यसले सबैलाई प्रभावित पारेको र सरोकारको विषय भएकाले कसरी सुरु भयो, कहाँ उत्पति भयो भन्ने कुरा पत्ता लगाउनुपर्ने उनकाे भनाइ थियाे। 

कोरोना भाइरस पहिलो पटक गत वर्ष सन् २०१९ को डिसेम्बरमा चीनमा भेटिएको पुष्टि गरिएको थियो । त्यसपछि विश्वका धेरै देशहरुमा कोभिड–१९ को महामारी फैलिएको थियो । 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.