|

म्याग्दी : हिमाली जिल्ला म्याग्दीमा दजनौँ अन्य बस्तीहरू जोखीममा रहेको छन्। तीन दिनअघि म्याग्दीको ढाडाखानी, मराङ र विममा गएको भीषण पहिरोमा २८ जनाले ज्यान गुमाएका छन्‌ भने चार जनाको शव खोजी भइरहेको छ। 

पहिरोको जोखिम नभएका स्थानमा पनि धमाधम बाढी पहिरो चल्न थालेपछि स्थानीय बासिन्दा त्रसित भएका छन्। भिरालो जमीन, कमजोर भूबनोट, भूमिगत जलप्रवाह, बस्ती नजिकबाट सडक विस्तार लगायत विभिन्न कारणले गर्दा जिल्लाका अधिकांश बस्ती पहिरोका जोखिममा रहेको भू तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतका सहायक अधिकृत शम्भुकुमार मिश्रले बताए।

उनका अनुसार केही बस्ती ठूला पहिरोको जोखिम हुने अवस्थाका भएका कारण ती ठाउँहरूको अवस्थाका बारेमा अध्ययन भैरहेको छ। जताततै खनिएका ग्रामिण सडक, बस्तीमाथिको क्षेत्रमा विकास निर्माणका गतिविधि, नदीखोलाको कटानका कारण म्याग्दीका ग्रामिण क्षेत्रहरू बाढी पहिरोका जोखिममा परेका मिश्रले बताए।

‘म्याग्दीमा विशेष गरेर म्याग्दी, कालिगण्डकी र रितुङ खोलाका आसपासका बस्तीहरू नदी कटान,पहिरो र बाढीको उच्च जोखिममा छन्’ उनले भने।  जिल्लामा १८ भन्दा बढी ठूलो र सयौँको संख्यामा रहेका मध्यम तथा साना पहिरोले दर्जनौ बस्तीका हजारौं घर जोखिममा रहेका उनको भनाइ छ।

गुर्जा, मुदी, लुलाङ्ग, वेगखोला, निस्कोट, रुम, पात्लेखेत, भूरुङ–तातोपानी, नारच्याङ्ग, कुइनेमङ्गले, पुलाचौर, पाखापानी, ओखरबोट, मुना, मुदी, भकिम्ली, बगरफाँट, बरंजा, अर्मन, हिस्तान, दोवा, शिख, घारका विभिन्न बस्ती संवेदनशील क्षेत्रमा समावेश गरिएको छ।

त्यस्तै, कालीगण्डकी कटानका कारण उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको भुरुङतातोपानी बजार, बेगखोला, रघुगङ्गा गाउँपालिकाको पिप्लेको चमेरे, बेनी नगरपालिका अन्तर्गत पर्ने गलेश्वरबजार, बेनीबजार, आनन्द बगरलगायत तटीय क्षेत्रमा रहेका बस्ती जोखिममा छन्।

उता, म्याग्दी खोलाले जिल्लाकै दोस्रो व्यापारिक केन्द्र दरवाङबजार, रातोढुङ्गा, सिम, ताराखेत, बाबियाचौर, अर्मन हाँडेभिर, निस्कोटको खोप्टी गाउँ, तातोपानी, बगरफाँट, सिङ्गा, बेनी मङ्गलाघाट बजार जोखिमको सूचीमा राखिएको छ। प्रfकृतिकसँगै मानव सिर्जित समस्या नै विनाशको प्रमुख कारण भएको मिश्रको भनाई छ।

गाउँ माथिबाट अव्यवस्थित तवरले सडक निमार्ण गर्दा मंगालाको ५ मा पर्ने अर्मन गाउँ नै जोखिममा परेको छ। ‘अहिले नै उच्च जोखिममा परेको छ,’ स्थानीय युवा ठाकुर सुवेदीले भने, 'अर्मन गाउँ नै स्थानान्तरण गर्नुपर्ने देखिएको छ।'

ग्रामीण क्षेत्रमा सामुदायिक वन तथा मापदण्ड विपरीत धमाधम सडक विस्तारले बाढीपहिरोको जोखिम हरेक वर्ष थपिँदै गएको प्राविधिकको भनाइ छ। जिल्लामा रहेका ठाडो तथा सहायक खोला राहुघाट खोला, घट्ठेखोला, फूलबारी रितुमखोलाकोे कटानले समेत जोखिम बढाएको छ।

एक नगरपालिकासहित ६ स्थानीय तहको सरकार भएको जिल्लाका स्थानीय तहले विपद् व्यवस्थापनमा सक्रियता देखाए पनि बजेट अभावका कारण रोकथाम गर्न सकिएको छैन। स्थानीय तहमा विपद् व्यवस्थापनमा पर्याप्त बजेट विनियोजन गर्नसमेत जनप्रतिनिधिले माग गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.