एक सातापछि संवाद, निकास खोज्‍ने प्रयास

|

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा देखिएको शक्ति संघर्ष केही मथ्थर भएको बेला दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड करिब एक सातापछि संवादमा जुटेका छन्। 

दुई अध्यक्षबीच मंगलबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता सुरू भएको हो। विवाद समाधानका लागि दुई नेताबीच फेरि एक्ला एक्लै संवाद सुरू भएको हो।

असार १० गतेदेखि जारी स्थायी कमिटी बैठक धेरै पटक स्थगित भइरहँदा दुई नेताबीच पटक पटक निकासका लागि संवाद भएको थियो। तर दुवैजनाले आफ्नो अडान नछाडेका कारण कुरो मिलेको थिएन। 

स्थायी कमिटी रोकेर छलफल गर्दा पनि दुई नेता आफ्नो अडानबाट पछि हटेका थिएनन्। ओली प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पद नछाड्ने अडानमा छन् भने प्रचण्ड ओलीलाई कम्तीमा एउटा पदबाट बिदाइ या आलोपालोको सहमति कार्यान्वयन गर्नुपर्ने पक्षमा छन्। उनीहरूले आफ्नो पक्षमा सहयोगीसमेत राखेर संवाद गर्दा पनि निकास निस्किएको थिएन।

यसअघि उत्कर्षमा पुगेको विवादले पार्टी विभाजनको जोखिम बढेका बेला उक्त विवाद तत्काललाई टरेको बताइएको थियो। तत्काललाई पार्टीको उत्कर्षमा पुगेको विवाद टरेको बताइरहेका बेला दुई अध्यक्ष फेरि छलफलमा केन्द्रित भएका हुन्। 

यो भेटअघि चितवन पुगेका दाहालले आफूले हतार नगर्नाले पार्टी फुटबाट जोगिएको बताएका थिए। त्यस्तै ओलीले पनि पार्टीको विवादलाई आन्तरिक भन्दै यो समाधान हुने बताएका थिए। दुई नेताबीच यसअघि गत आइतबार, सोमबार, मंगलबार र बुधबार पनि संवाद भएको थियो। तर दुवै नेताले समाधान दिन सकेनन्। 

असार १० गतेदेखि जारी स्थायी कमिटी बैठकपछि साउन २ सम्मका लागि स्थगित भइसकेको छ। बाढीपहिरोको बहनामा स्थायी कमिटी स्थगित गरिए पनि खास कारण भने दुई नेताबीच कुरा नमिल्नु थियो। 

अध्यक्ष दाहाल र वरिष्ठ नेताहरू झलनाथ खनाल तथा माधवकुमार नेपालले ओलीका कारण पार्टी बदनाम भएको भन्दै प्रधानमन्त्री या पार्टी अध्यक्षमध्ये एक छाड्नै पर्ने माग गर्दै आएका छन्। यस्तोमा पार्टीका प्रथम अध्यक्ष ओलीले दाहालसँग निरन्तर संवाद गरिरहेका छन्। तर उनले खनाल र नेपालसँगको संवादमा भने चासो दिएका छैनन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.