कसैलाई चोट पुर्‍याउन बोलेको होइन, अध्ययन जरूरी छ

|

काठमाडौं : भगवान् रामको जन्मभूमि अयोध्याबारे प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार दिएको अभिव्यक्तिलाई लिएर नेपाल र भारतमा तीव्र विवाद भएपछि परराष्ट्र मन्त्रालयले यसबारेमा स्पष्टीकरण सार्वजनिक गरेको छ।

मन्त्रालयले मंगलबार वक्तव्य निकाल्दै मन्त्रालयले प्रधानमन्त्रीले अयोध्याबारे दिएको अभिव्यक्तिसँग कुनै किसिमको राजनीतिक सम्बन्ध नभएको पनि स्पष्ट पारेको छ। परराष्ट्रले प्रधानमन्त्रीले कसैको भावनामा चोट पुर्‍याउन उक्त कुरा नराखेको पनि उल्लेख गरेको छ।

‘भगवान् राम र उनीसँग सम्बन्धित अनेकन मिथकहरु चलनचल्तीमा छन्। प्रधानमन्त्रीले राम, रामायण र उक्त सभ्यतासँग जोडिएका थप तथ्यहरू फेला पार्न विभिन्‍न साँस्कृतिक ठाउँको थप अध्ययन र अनुसन्धान गर्नुपर्ने कुरालाई जोड दिनुभएको हो,’ परराष्ट्रले भनेको छ, 'प्रधानमन्त्रीको उक्त भनाइ अयोध्याको महत्व र यसले बोकेको सांस्कृतिक मान्यता कमजोर बनाउन सार्वजनिक भएको होइन।'

'हरेक वर्ष विवाह पञ्‍चमीमा अयोध्याबाट जनकपुरमा जन्ती आउने गरेको छ', विज्ञप्ति भनिएको छ, 'दुई वर्षअघि नेपाल-भारतका प्रधानमन्त्रीले जनकपुर-अयोध्या बस सेवा उद्घाटन गर्नु भएको थियो। त्यसबेला अयोध्याबाट आएको जन्तीको स्वागत र बिदाइ भब्यरुपमा गरिएको थियो।'

परराष्ट्रले दुई वर्षअघि प्रधानमन्त्री ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले रामायण सर्किटको उद्घाटन गरेको पनि स्मरण गराएको छ। उसले जनकपुरदेखि अयोध्यासम्म सुरू भएको यात्रु सेवाले दुई देशबीचको सम्बन्धलाई अझै मजबुत बनाउन भूमिका खेलेको पनि स्पष्ट पारेको छ।

प्रधानमन्त्रीले यही सोमबार बालुवाटारमा आदिकवि भानुभक्त आचार्यको २०७ औँ जन्मजयन्ती कार्यक्रमका क्रममा खास अयोध्या नेपालस्थित वीरगन्ज नजिकैको एक गाउँमा पर्ने बताएका थिए। उनले वीरगन्जभन्दा पश्‍चिम ठोरी क्षेत्रमा रहे पनि भारतले नक्कली अयोध्या बनाएर नेपालमा सांस्कृति आक्रमण गरेको बताएका थिए। 

ओलीले हिन्दूहरूका एक भगवान् राम भारतीय नभई नेपाली भएको बताएका थिए। प्रधानमन्त्रीले यस्तो भनाइ राखेपछि भारतमा चर्को विरोध भइरहेको छ। उनले यस्तो अभिव्यक्ति दिएपछि तथ्य नै नभएको कुरामा लहडका भरमा बोलेको भन्दै विरोध भइरहेको छ। केहीले उनको भनाइमा सत्यता रहेको भन्दै समर्थन पनि गरिरहेका छन्। 


 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.