पहिरो प्रभावित क्षेत्रमा राहत पुर्‍याउन सहज

|

म्याग्दी : पश्चिम म्याग्दीको 'लाइफलाइन' मानिने बेनी-दरबाङ सडक पहिरोले अवरुद्ध भएको पाँच दिनपछि पुनः सञ्चालनमा आएको छ। पश्चिम म्याग्दीलाई सदरमुकाम बेनीसँग जोड्ने २४ किलोमिटर लम्बाईको बेनी-दरबाङ सडकका विभिन्न खण्डमा झरेको पहिरोका कारण गत शुक्रबारदेखि अवरुद्ध भएको थियो।

पहिरो पन्छाएर बुधबार बिहानदेखि सडक नियमित रुपमा सञ्चालनमा ल्याएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ। सडकखण्ड अन्तर्गत बेनी नगरपालिका र मंगला गाउँपालिकाको सिमाना फापरखेतमा खसेको पहिरो हटाउन गण्डकी प्रदेश प्रहरीको विपद् व्यवस्थापन गुल्मको टोलीले काम गरेको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले जानकारी दिए। 

‘यात्रामा जोखिम छ, तत्काल आवश्यक समन्वय गरी सूचारु गरिएको छ,’ प्रजिअ ढकालले भने। उनका अनुसार जिल्ला प्रशासन कार्यालयको समन्वयमा प्रहरी, स्थानीय तह र पूर्वाधार कार्यालय, निर्माण व्यवसायीमार्फत पहिरो हटाएर सडक मर्मत गरी यातायात आवागमन थालिएको छ।

गत शुक्रबारदेखि सडक सञ्चालनमा नआउँदा मंगला, मालिका र धवलागिरि गाउँपालिकामा आवतजावत रोकिएको थियो। धवलागिरि र मालिकाका पहिरो पीडितलाई आवश्यक राहत साम्रगी समेत ढुवानीमा समस्या भइरहेको थियो। सडक सञ्जाल अवरुद्ध भएपछि महंगोमा हेलिकप्टरमार्फत मंगलबार प्रभावित क्षेत्रमा राहत सामाग्री पुर्‍याइएको थियो। 

दरबाङ-धारापानी हुँदै ताकम मुना जोड्ने सडक र दरबाङ-बिम-मराङ सडक सञ्चालनका लागि समेत स्थानीय तहसँग समन्वय भइरहेको जनाइएको छ। सडकको ठेक्का लिएकालाई समेत मर्मतका लागि ताकेता गरिएको छ।

पहिरो व्यवस्थापन तथा जोखिमपूर्ण स्थानको पहिचानका लागि प्रहरी सहायक निरीक्षक सागर रानाको नेतृत्वमा १० जनाको टोली परिचालन गरिएको छ। प्रसनी थापाको नेतृत्वको टोलीमा विपद् सम्बन्धी तालिम प्राप्त अनुभवी जनशक्ति समेत रहेका छन्‌। सडकखण्डमा आवश्यक स्काभेटर परिचालन गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.