|

बैतडी : सार्वजनिक स्थलमा मास्क नलगाई हिँड्नेलाई बैतडी प्रहरीले कार्बाही गरेको छ। उनीहरुलाई नियन्त्रणमा लिनुका साथै जरिवाना समेत तिराउने गरेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

असार २२ गतेदेखि हालसम्म २ हजार १४० जनालाई कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता गौरीप्रसाद जैसीले जानकारी दिए। बजारक्षेत्रमा बिनामास्क निस्केका २२ जनालाई प्रतिव्यक्ति १०० रुपैयाँ जरिवाना समेत तिराइएको जैसीले बताए। यसका साथै ३५ जनालाई मास्क समेत बितरण गरेको प्रहरीले जनाएको छ।

नियन्त्रणमा लिइएका अधिकांसलाई मास्क अनिवार्य लगाउनुपर्ने सुझाव दिइएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले बताए।

गृह मन्त्रालयले असार २२ मा मास्क नलगाई घरबाहिर निस्किने र सामाजिक दूरी कायम नगर्नेलाई तत्काल पक्राउ गर्न प्रहरी र ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको थियो। स्थानीय प्रशासन र प्रहरीलाई परिपत्र गर्दै मन्त्रालयले स्वास्थ्य मापदण्डअनुसार सामाजिक दूरी कायम नगर्ने र मास्कबिना सार्वजनिक स्थलमा हिँड्डुल गर्नेमाथि संक्रमक रोग नियन्त्रण ऐनअनुसार कारबाही गर्न निर्देशन दिइएको हो।

मास्क नलगाई हिँड्ने र सामाजिक दूरी कायम नगर्नेलाई संक्रमण रोग ऐन २०२० अनुसार कारबाही गर्ने क्रम जारी रहेको बैतडीका प्रमुख जिल्ल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए। लकडाउनलाई स्वास्थ्य मापदण्ड पालना गर्दै खुकुलो बनाउने नीति अबलम्बन गरिए पनि सर्वसाधारणसहित सरकारी, निजी तथा गैरसरकारी संघसंस्था र कार्यालयले यसको उल्लंघन गरिएकाले तत्काल कडाइका साथ पछिल्लो निर्देशन कार्यान्वयन गराउन गृहले निर्देशन दिएको थियोे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.