|

पर्वत : भारतबाट आएर पुलिङ क्वारेन्टाइनमा नबसी सीधै घर पुगेकी गएकी पर्वतकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ।

भारतको गोरखपुरबाट सुनौली आएपछि त्यहीँबाट ट्याक्सी रिजर्भ गरेर जिल्लाको मोदी गाउँपालिका-२ देउपुरस्थित आफ्नो घरमा पुगेकी ३० वर्षीया महिलामा कोरोना पुष्टि भएको हो। उनी गत २१ गते घरमा पुगेकोमा असार २९ गते स्वाब परीक्षण गर्दा संक्रमित रहेको पाइएको हो।

वडाध्यक्ष विकास तिमिल्सिनाले उनी आएको थाहा पाएपछि घरमा पुगेर अवस्थाबारे जानकारी लिएका थिए। आफू त्यहाँ पुग्दा उनी परिवारको अन्य सदस्यसँगको सम्पर्कमा नरही घरकै छुट्टै कोठामा बसेको पाइएकाले उनमा संक्रमणको पुष्टि भएपनि आत्तिनुपर्ने अवस्था नरहेको तिमिल्सिनाले बताएका छन्।

स्वाब परीक्षणको रिपोर्ट नआउँदै वडाध्यक्षमार्फत नै उनलाई सदरमुकाममा रहेको पुलिङ क्वारेन्टाइनमा सारिएको थियो। नतिजा पोजेटिभ आएपनि उनलाई सदरमुकामै रहेको आइसोलेसनमा सारिएको छ। उनी घरमा गएका कारण उनको सम्पर्कमा आएका व्यक्तिहरूको पनि पीसीआर परीक्षण गरिने भएको छ।

यसअघि पर्वतकी एक महिलाले पनि क्वारेन्टाइन बसाइमा लापरबाही गरेको पाइएको थियो। सदरमुकामको क्वारेन्टाइनमा कम्तीमा २ हप्ता बसेपछि अवस्था हेरेर स्थानीय तहमा पठाउने भनी जिल्ला स्तरीय सिसिएमसीले निर्णय गरेको भएपनि कुस्मा नगरपालिका १० पिपलटारीकी ती महिला ५ दिनमा नै सदरमुकामको क्वारेन्टाइनबाट घरमा पुगेको पाइएको थियो। प्रहरीले पक्राउ गरेपछि उनमा संक्रमण पोजेटिभ रहेको पाइएको थियो।

लगत्तै उनको सम्पर्कमा रहेका परिवारका १२ जनाको आरडिटी परीक्षण गर्दा १ जनामा पोजेटिभ देखिएको थियो भने जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका अन्य थुनुवा र प्रहरीको समेत पीसीआर परीक्षण गर्दा नेगेटिभ रिर्पोट आएको थियो।

पर्वतमा भारत तथा तेस्रो मुलुकबाट आउनेहरूलाई कुस्मा र मोदी गाउँपालिकामा बनाइएका पुलिङ्ग क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाइएको छ। सबैको पीसीआर परीक्षण गरेपछि मात्रै स्थानीय तहमा रहेको सामुदायिक क्वारेन्टाइनमा जान दिइन्छ।

जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेहरूको सङ्ख्या बढिरहेको अवस्थामा मुलुक बाहिरबाट आएकाहरू स्थानीय तह, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको समन्वयमा रहने गरेका थिए। तर, लकडाउन खुकुलो भएपछि सवारी सञ्चालनमा आएको सहजतासँगै सम्बन्धित निकायहरूसँग समन्वय नै नगरी आफ्नै तरिकाले घरमा जानेहरू बढेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.