|

काठमाडौं : सरकारी प्रकाशन गोरखापत्र संस्थानमा व्यापक सुधारमा लागिरहेका टीकाराम राईलाई सरकारले हटाएको छ। कुनै बेला लथालिङ्ग रहेको गोरखापत्र संस्थानमा व्यापक सुधार गरिरहेका विज्ञ सल्लाहकार राईलाई सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयको प्रस्तावमा हटाइएको हो। 

राईलाई यही सोमबार बसेको मन्त्रीपरिषद् बैठकले पदमुक्त गरेको हो। उनलाई पदमुक्त गरिएको पत्रसमेत दिइसकिएको छ। 

तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटाले राईलाई गोरखापत्र संस्थानको व्यवस्थापन, प्रिन्टिङ र अर्थ हेर्ने गरी डेढ वर्षअघि विज्ञ सल्लाहकार नियुक्त गरेका थिए। तर कोहलपुरमा प्रेस र अनलाइन संस्करणका लागि हालका सञ्चार मन्त्री युवराज खतिवडाले बजेट नदिएपछि राईले विरोध गरेका कारण पदबाट हटाइएको गोरखापत्र व्यवस्थापन सुत्र बताउँछ। 

राईलाई हटाउने क्रममा सरकारले स्पष्टिकरणको अवसर पनि दिएन। 'मैले गल्ती गरेको भए सफाइको मौका दिनुपर्ने थियो। स्पष्टीकरणसमेत नसोधी सिधै पदबाट हटाइएको पत्र थमाइएको छ', उनले थाहाखबरसँग भने, 'मैले गरेको काममा म पूर्ण सन्तुष्ट छु। मलाई हटाउनुअघि मैले गरेको कमजोरीबारे स्पष्टीकरण सोध्नुपर्थ्यो। तर त्यो अवसर नदिएका अब न्यायिक उपचारका लागि अदालतमा जान्छु। अदालतबाट अन्तरिम आदेश जारी गराउने बिषयमा कानुन व्यवसायीसँग परामर्श गरिरहेको छु।'

राई गोरखापत्रमा गएपछि उनकै योजनामा प्रदेश कार्यालय खुलेका थिए भने प्रदेशबाट पनि गोरखापत्र छापिन थालेको थियो। राईकै नेतृत्वमा पत्रिकाको वितरण ह्वात्तै बढाइएको गोरखापत्र संस्थानका कर्मचारी बताउछन् ।

राई काठमाडौंमा थुप्रिएका कर्मचारीलाई प्रदेशका पठाउने तयारीमा थिए। त्यसका लागि उनले पत्रिकाको वितरण २५ प्रतिशत बढाउने र विज्ञापन पनि त्यही दरमा बढाउने गरी अधिकृतस्तरका कर्मचारी पठाउने अन्तिम तयारीमा थिए। 

उनले हेटौंडा, बुटवल र पोखरामा केन्द्रमा अधिकृत खटाइसकेका थिए। सुर्खेत, कोहलपुर र धनगढीमा पनि अधिकृत तहका कर्मचारी खटाउने तयारी भएको थियो। 

'पत्रिकाको सर्कुलेसन र विज्ञापन बढाउने निश्‍चित लक्ष सहित कर्मचारीलाई प्रदेशमा खटाउँदै थियौँ', उनले भने, 'हाजिर गरेर घर हिँड्ने कर्मचारीलाई लगाम कस्दै काममा लगाइरहेका थियौँ। तर राम्रो काम गर्दा सरकारले सजाय स्वरुप हटाएको पत्र थमाएको छ।'

उनकै अगुवाइमा गोरखापत्रको हिसाब किताब पारदर्शी बनाउन लेखा  र प्रशासन प्रणालीमा सफ्टवयर राखिँदै थियो। उनले गोरखापत्र र द राइजिङ नेपालको समाचारकक्ष पत्रकारलाई काम गर्न सहज बनाउने गरी एसी जडान गराएको थिए।

राई गोरखापत्रमा गएपछि संस्थानका कर्मचारीलाई कार्यालय समय १० देखि ५ बजेसम्म अनिवार्य बस्‍ने नियम बनाएका थिए। त्यही नियम कडा बनाइएपछि उनीविरुद्ध कर्मचारीका केही नेता जाइ लागेका थिए। जुन दलको सरकार आउँछ त्यसकै राजनीतिक भर्ती केन्द्र गोरखापत्रमा 'कामचोर' कर्मचारीहरु राईसँग रिसाएको राईले बताए ।

राईले गोरखापत्र सुधार अभियानका क्रममा कोहलपुरका लागि प्रेस किन्‍न सञ्‍चार मन्त्रालयमा बजेट मागिएको थियो। अर्थमन्त्री समेत रहेका खतिवडाले प्रेस किन्‍न र अनलाइन संस्करण सुधारका लागि आवश्यक ८ करोड बजेट नछुट्टयाए पछि राईले विरोध जनाएका थिए। त्यहीकारण उनलाई बर्खास्त गरिएको बताइएको छ। राईले विरोध जनाएपछि खतिवडा रिसाएका थिए। 

आफूलाई हटाउन लागिएको जानकारी राईले यसअघि नै सामाजिक सञ्‍जालमा पनि लेखेका थिए। ‘गर्वका साथ भनिन्छ, गोरखापत्रमा परिणाम ल्याइयो। पुच्छर लुकाएर हिँडिन्‍न, अन्याय गरे अदालत छँदैछ,’ उनले यसअघि लेखेका थिए। तीन दशकदेखि पत्रकारितामा रहेका राईले लामो समय काठमाण्डु टुडे म्यागेजिन​ र अपरान्ह दैनिक चलाएका थिए। 

राई गोरखापत्र जानु अघि संस्थानले कागज नै महँगो मूल्यमा किन्‍ने गरेको थियो। राई गोरखापत्रमा जानुअघि एक लाख तीन हजारदेखि एक लाख ११ हजार रुपैयाँ सम्ममा प्रति मेट्रिकटन कागज किनिरहेको थियो। 

तर उनी गएपछि ८१ हजार प्रति मेट्रिक टनमा किन्‍न थालिएको थियो। कमिशन खान नपाउने भएपछि व्यवस्थापनकै केही मान्छे र कर्मचारी उनीसँग रिसाएका थिए। राईले गोरखापत्रमा सफ्टवयर प्रणाली लागु गरेर हिसाब पारदर्शी बनाइरहेका बेला मन्त्रीले उनिलाई हटाएको हुन्। राई भन्छन् ' मन्त्रीलाई गलत कुरा लगाएर मलाई अन्याय गरियो । तर म माथिको अन्याय भन्दा पनि संस्थानलाई डुबाएर आफू मोटाउन खोज्ने सफल हुनु दुखको कुरा हो।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.