क्‍वारेन्टाइन व्यवस्थापन फितलाे, समुदायस्तरमा संक्रमण फैलिने खतरा

|

कैलाली : सुदूरपश्चिम प्रदेशमा भारतबाट फर्किने नेपालीको संख्यामा वृद्धि भएकै कारण कोरोना जोखिम झन बढ्दै गएको छ। लकडाउन खुकुलो भएसँगै स्थानीय तहहरुले क्वारेन्टाइन व्यवस्थापनमा ध्यान नदिँदा भारतबाट फर्किनेहरु सीधै घर जान थालेका छन्। 

लकडाउनको सुरुवातमा भारतबाट फर्किएकाहरुलाई स्थानीय तहहरुले क्वारेन्टाइनमा राखेर घर पठाउने गरेको भए पनि पछिल्लो समय क्वारेन्टाइन व्यवस्थापन फितलो देखिएको छ। यसरी भारतबाट आउनलेलाई क्वारेन्टाइनमा राख्न नसक्दा समुदायस्तरमा कोरोनाको उच्च जोखिम देखिएको छ। 

कैलालीको गौरीफन्टा नाका हुँदै भारतबाट फर्किने नेपालीको संख्यामा बढ्न थालेको छ। सीमा सिल गर्नुभन्दा अघि गौरीफन्टा नाका भएर ५० हजार बढी नेपाल प्रवेश गरेका थिए। यस्तै सीमा सिल पश्चात् पनि दुई हजार चार सय २५ जना नेपाल आइसकेका छन्। 

लकडाउनको अवधि लम्बिएसँगै पछिल्लो दुई महिनामा भारतबाट फर्किनेको संख्यामा भारी वृद्धि भएको छ। जेठ २ गतेदेखि साउन १ सम्म झण्डै एक लाख बढी नेपाली गौरीफन्टा नाका हुँदै फर्किएका सशस्त्र प्रहरी कैलालीका एसपी कमल तिमिल्सेनाले जानकारी दिए। 

उनले भने, ‘नाकामा पुगेका नेपालीलाई सम्बन्धित स्थानीय तहको जिम्मा लगाएर पठाउने गरेका छौं, उनीहरुलाई क्वारेन्टाइनमा राख्ने÷नराख्ने स्थानीय तहको जिम्मेवारी हो।’ सुदूरपश्चिम प्रदेशभर हाल ६ हजार ३ सय १२ जना क्वारेन्टाइनमा छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार २ हजार ३ सय ८४ जना आइसोलेसनमा छन् भने सुदूरपश्चिममा हालसम्म ६ जनाको मृत्यु भइसकेको छ। 

प्रदेशमा संक्रमितको संख्या ४ हजार नाघ्यो

प्रदेशभर बिहीबार थप २२ जनामा कोरोना पुष्टि भएको छ। योसँगै यहाँ संक्रमितको संख्या ४ हजार पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा बढी कैलालीमा ९ सय ४१, अछाममा ६ सय ४५, बाजुरामा ६ सय १६, डोटीमा पाँच सय ७८, कञ्चनपुरमा ४ सय ६२, डडेल्धुरामा २ सय ९२, बैतडीमा २ सय ७६, बझाङमा १ सय ७० र दार्चुलामा २० जनामा कोरोना पुष्टि भएको छ।

संक्रमितमध्ये एक हजार ६ सय १५ जना डिस्चार्ज भइसकेका छन् भने ८ जनाको मृत्यु भइसकेको छ। सेती प्रादेशिक अस्पतालमा रहेको प्रयोगशालामा गरिएको परीक्षणमा १४ र डडेल्धुरा अस्पताल प्रयोगशालामा ८ गरी आज २२ जनामा कोरोना पुष्टि भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार डडेल्धुरा प्रयोगशालामा गरिएको परीक्षणमा डडेल्धुराकै ८ जनामा संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा सेती अस्पतालको प्रयोगशालामा एक सय ६९ जनाको कोरोना परीक्षण भएको छ।

प्रदेशभर ५१ जना संक्रमित मात्र अस्पतालमा

सुदूरपश्चिम प्रदेशमा ५१ जना कोरोना संक्रमित मात्र आइसोलेसनमा छन्। बिहीबारसम्म देखिएका ४ हजार संक्रमितमध्ये ५१ जना प्रदेशका विभिन्न अस्पतालमा रहेका सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयको तथ्यांकअनुसार सबैभन्दा बढी महाकाली अस्पतालको आइसोलेशनमा १८ जना छन्। यसैगरी कैलालीको टीकापुर अस्पतालमा १६ जना, सेती प्रादेशिक अस्पतालमा २ जना, अछाम जिल्ला अस्पतालमा १० जना, डोटी अस्पतालमा २ जना र मालाखेती अस्पतालमा ३ जना संक्रमित रहेका मन्त्रालयको तथ्यांकमा उल्लेख  छ। 

बाँकी संक्रमित स्थानीय तहमा निर्माण गरिएका आइसोलेसन र होम क्वारेन्टाइनमा छन्। सुदूरपश्चिममा कोरोना संक्रमित आठ जनाको मृत्यु भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.