नेताहरु भन्छन्ः अध्यक्षद्वयले सहमति खोज्नुको विकल्प छैन

|

काठमाडौं : शीर्ष नेताहरुको शक्ति संघर्षको टकरावको कारणले उत्कर्षमा पुगेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्रको विवादले समाधान पाउन सकेको छैन। 

प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेताको आन्तरिक तानातानले नेकपाभित्र सिर्जना भएको विवाद समाधान हुन नसकेको हो। 

पार्टीभित्रको आन्तरिक शक्ति संघर्षको कारणले यतिबेला नेकपाभित्रको विवाद भुसको आगोझैँ सल्किएको छ। तर, प्रधानमन्त्री ओली र अध्यक्ष दाहाल बीचको शक्ति संघर्षले तत्कालै निकास पाउने छाँट देखिएको छैन। 

पार्टीको समस्या समाधानमा प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच ८ पटक भन्दा धेरै दुईजना मात्रै बसेर भएको छ। बिहिबार प्रधानमन्त्री ओली र अध्यक्ष दाहाल वरिष्ठ नेता नेपालसहित वार्तामा जुटेका थिए। तर, नेताहरुले अडान नछाडेपछि अवस्था झन् जटिल बनेको छ।

विवादको कारणले असार १० गतेबाट बोलाइएको स्थायी कमिटीको बैठक समेत पटक पटक स्थगित भइसकेको छ। बिहीबार पनि कुरा नमिलेपछि शुक्रबारका लागि पछिल्लो पटक नेकपाले स्थायी कमिटीको बैठक डाकिएको छ। 

ओलीले भने : राजीनामा दिन्‍नँ 

प्रचण्ड र नेपालले दुईमध्ये एक पद छाड्न दबाब बढाइरहँदा ओलीले पनि आफूले दुवै पद नछाड्ने बताइरहेका छन्। असार १४ गतेको अभिव्यक्तिपछि उनीविरुद्ध दुई नेता झनै घेराबन्दी बढाएका छन्। ओली पार्टीको महाधिवेशनबाटै अध्यक्ष पदको टुङ्गो लगाउने पक्षमा अडिग रहदै आएका छन् भने प्रधानमन्त्रीमा पनि सहमति भैसकेको बताउदै आएका छन्।

ओलीबाट सरकार र पार्टी सञ्चालन नभएको भन्दै अध्यक्ष दाहालसहितका नेताहरु राजीनामा मागिरहेका छन्। स्थायी कमिटीको बैठकमा दाहाल–नेपाल समूहले मोर्चाबन्दी गरेपछि उनले बैठक छलिरहेका छन्। दाहालले पार्टी एकताका क्रममा सहमति भए अनुरुप कार्यान्वयनका लागि आलोपालोको कुरा उठाउँदैछन् भने नेपाल एक पद छोड्नै पर्ने अडानमा छन्। 

पार्टीभित्रको विवादलाई लिएर प्रधानमन्त्रीको राजीनामाबारे उठेका बिषयमा प्रधानमन्त्रीको धारणा स्पष्ट भइसकेको स्थायी कमिटी सदस्य छविलाल विश्वकर्मा बताउँछन्। ‘उहाँले आफ्नो राजीनामाको बिषयमा स्पष्ट धारणा राखिसक्नु भएको छ। अध्यक्ष दाहालसँगको भेटमा पनि त्यही कुरा पटक पटक दोहर्याइसक्नु भयो,’ उनले भने, ‘अहिलेको अवस्थामा प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने कारण छैन।’

बिहीबार पनि ओलीसँग दाहाल–नेपालले राजीनामाकै कुरा दोहोर्या‍ए । ‘प्रधानमन्त्रीसँग आज पनि अध्यक्ष दाहाल र नेता नेपालले कुरा गर्नुभएको छ। त्यही पनि केही कुरा भयो होला’, उनले भने, ‘यसअघि जस्तो बैठक पटक पटक स्थगित नभए भोलिको स्थायी कमिटीको बैठकमा छलफल होला। उहाँहरुले आफ्नो धारणा राख्नुभयो। हामीले आफ्नो धारणा राखेका छौँ, राख्छौँ। बाँकी त्यही निर्णय हुन्छ।’ 

सामना गर्ने

सरकार असफल भएको भन्दै ३० बढी स्थायी कमिटी सदस्यले स्थायी कमिटीको बैठकमा प्रधानमन्त्रीको राजीनामा माग्दा समेत प्रधानमन्त्री ओली आफ्ना अडानबाट टसमस नहुने पक्षमा उभिएका छन्। बिहीबार पनि वरिष्ठ नेता नेपालले दुईमध्ये एक पद छाड्नै पर्ने अडान लिएका थिए। तर ओलीले बरु आफू सामना गर्न तयार रहेको तर कुनै पद नत्याग्ने बताएका थिए। 

दाहाल–नेपाल समूहको मोर्चाबन्दीका कारण अफ्ठेरोमा परेका ओलीले आजको वार्तामा राजीनामा नदिने बरु स्थायी कमिटीको बैठकमा सामना गर्ने बताएको उनको भनाइ उधृत गर्दै एक स्थायी कमिटी सदस्यले बताए। 

‘उहाँले दुवै पदबाट पछि नहट्ने कुरा दोहोर्याउनु भएको छ। यसअघि बैठक छल्दै आउनुभएको उहाँले भोलिको बैठक सामना गर्न तयार रहेको प्रतिक्रिया दिनु भएकोछ’,  ती नेताले भने, ‘दाहाल–नेपाल समूह पनि आफ्नो अडानबाट पछि हट्ने संकेत छैन। प्रधानमन्त्रीको अडान यथावत् देखियो। त्यसलाई हेर्दा स्थायी कमिटी बैठकमा जटिल अवस्था सिर्जना हुनसक्छ। त्यहीँबाट केही निकास निस्केला।’

छलफलमै छ

पार्टीभित्रको विवाद छलफलमार्फत समाधानको विकल्प खोज्नुपर्ने दबाव दिइरहेको महिला बालबालिका समाजकल्याण तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङ बताउँछन्। ‘हामीले देशभर दबाब कार्यक्रम चलाइरहेका छौ। अध्यक्षद्वयलाई भेट गरेर विभाजनको पक्षमा जान नहुनेमा दबाव दिएका छौँ’, उनले भने। 

पार्टीभित्रको विवाद अध्यक्षद्वयले छलफल गरेर समाधानको बाटोमा लाग्नु उपयुक्त हुने बताए। ‘हामीले पार्टी विभाजन हुनबाट रोक्न दबाब दिइरहेका छौँ। भोलिको स्थायी कमिटी बैठकमा पनि त्यही बिषयमा छलफल होला। हामीले तल्लो तहबाट समाधानकै लागि दबाव दिइरहेका छौँ’, उनले भने।

पार्टीभित्रको विवाद समाधान गर्नका लागि प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच सहमति जुट्नुपर्ने नेकपा प्रमुख सचेतक देव गुरुङ बताउँछन्। शीर्ष नेताहरुले छलफल गरेर विवादको समाधान गर्नुपर्नेमा उनले जोड दिए।  

दाहालको प्रस्ताव अस्वीकार 

स्रोतका अनुसार वार्ताका लागि अध्यक्ष दाहालले प्रधानमन्त्री ओलीलाई नौ बुँदे प्रस्ताव लगेका थिए। तर, प्रधानमन्त्री ओलीले त्यो प्रस्ताव अस्वीकार गरेर आफ्नै ढंगबाट अघि बढ्ने अडान लिएका छन्। 

उनले दाहाल–नेपालसँगको वार्तापछि स्थायी कमिटी बैठकमा कसरी अघि बढ्ने भन्नेबारेमा आफूनिकट नेतासँग छलफलसमेत गरिरहेका छन्। उता बिहीबारै पनि दाहाल–नेपाल समूहले खुमलटारमा भेला भएर ओलीविरुद्ध रणनीतिबारे छलफल गरेका थिए। 

अध्यक्ष दाहालले प्रधानमन्त्री ओली सामू पार्टी एकताको सम्झौतामा अघि बढ्नुपर्ने, पार्टीको नियम मान्नुपर्ने, मंसिरमा भएको सहमतिमा अघि बढ्नुपर्ने, त्रिपक्षीय सहमति गर्नुपर्ने, मन्त्रिपरिषद् पुनर्गठन गर्नुपर्ने लगायतका प्रस्ताव गरेका थिए। तर, प्रधानमन्त्री ओली त्यो प्रस्तावमा सहमत छैनन्।

प्रधानमन्त्री ओली बीचमा पार्टी अध्यक्ष छोड्ने होइन बरु महाधिवेशन छिटो गर्ने र जे हुन्छ त्यो व्यहोर्ने पक्षमा देखिएका छन् भने प्रधानमन्त्री पदमा अध्यक्ष दाहालसँग पाँच बर्षका लागि सहमति भइसकेको भन्दै नछोड्ने बताउदै आएका छन्  ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.