|

पाल्पा : जिल्लाको रम्भागाउँपालिका ३ खोकखोलाका २४ वर्षीय आशिष न्यौपाने। यो क्षेत्र र सामाजिक सञ्जालमा अहिले उनको निकै चर्चा छ। किनकि उनले गाडी निर्माण गरेर सडकमा गुडाएका छन्। भने हेलिकोप्टर उडाउने तयारी गरिरहेका छन्।

उनले निर्माण गरेको गाडीले सामग्री बोकेर गाउँगाउँमा पुगेपछि यहाँका स्थनीय दंग परेका हुन्। बग्गी नाम दिएको गाडीले गाउँगाउँमा सामान ढुवानी गर्दै आएको छ। आवश्यक परेमा मानिस पनि बोक्ने गर्दछ। तर सम्बन्धित निकायबाट आधिकारिकता नपाउँदासम्म मानिसलाई जतिबेला पनि सेवा दिन नसकेको उनी बताउँछन्। घरमा घाँस बोक्न, मल बोक्न, र लसुने बजारबाट गाउँसम्म सामग्री ढुवानी गर्न यो गाडी प्रयोग गर्दै आएको न्यौपानेले सुनाए।

सानै उमेरदेखि प्राविधिक क्षेत्रमा बढी रुची राख्ने उनले एक हाइड्रो पावरमा समेत काम गरेका थिए। जहाँ वर्कसपको काम नै गर्दथे उनले। तर जागिरबाट असन्तुष्टि भएका उनले एक वर्षमा जागिर छाडे। र गाउँमै फर्किए। न्यौपानेले बुवाको सहयोगमा विजनेस थाले। घरभन्दा केही टाढा लसुने बजारमा उनले मोटरसाइकल वर्कसप  खोले। यसरी आफ्नै वर्कसप सञ्चालन गरेको ८ वर्ष पुगिसक्यो। अहिले उनका दाई विवेक पनि उनीसँगै वर्कसपमा काम गर्दै आएका छन्। 

प्रायः फुर्सदिलो समयमा नयाँ कुराको खोजी गर्ने आशिषले लकडाउनको समयलाई राम्रोसँग सदुपयोग गरेका छन्। लकडाउनका बेला वर्कसप बन्द गरेर घरमा बसेका उनले १५ दिनमा बग्गी गाडी निर्माण गरेका छन्। अहिले त्यहि गाडीको सहयोगमा घरका काम गर्छन्। सामग्री ढुवानी गर्नको लागि त्यहि गाडी उपयोग गर्दै आएका छन्, आशिषको परिवारले।

मोटर साइकलको इन्जिन र कारको गेयरबक्स प्रयोग गरेर उनले सडकमा गुड्न सक्ने गाडी बनाएका हुन्। कारको टायर र प्रयोगहिन भएका सीट प्रयोग भएका छन्। ग्यारेजमा फालिएका पुराना सामग्रीको प्रयोग गरेर उनले बग्गी गाडी निर्माण गरेका हुन्। घरमा फालिएका फलाम र काठ समेत प्रयोग गरिएको छ। ११ गियर रहेको गाडी गाउँका कच्ची सडकमा समेत गुड्ने गरेको छ। ‘५ सय किलोसम्म बोक्न सक्ने क्षमता यो गाडीको छ’ उनले भने ‘एक लिटर पेट्रोलले ३० किलोमिटरभन्दा बढी गुड्छ।’

भिडियो :

स्थानीय सरकारले सहयोग गरे कृषकका लागि गाडी निर्माण गर्ने उनले बताए। यो प्रकारको गाडी कृषकलाइृ बढी उपयोगी हुने न्यौपानेले दावी गरे। कृषकले उत्पादन गरेका कुनैपनि बस्तु बजारसम्म ढुवानी गर्न सहज हुने उनको भनाई छ। मल विउ बोक्न समेत सहयोगी बन्ने उनी बताउँछन्। राम्रो र बलियो गाडी बनाउन करिब ५ लाख रकम खर्च हुन्छ।

न्यौपानेको सीप र क्षमतालाई स्थानीय सरकारले सहयोग गर्ने रम्भा गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए। ‘यो गाउँलिकाको मात्र नभई सिंगो नेपालको सम्पत्ति हो’ उनले भने ‘नयाँ कुराको आविस्कारका लागि यो पालिकालाई पाठशालाको रुपमा विकास गर्न प्रयास रहने छ। यस्ता सीप क्षमतालाई सक्दो सहयोग हुनेछ।’

आशिषले हेलिकप्टरसमेत बनाएका छन्। उड्ने तयारीसम्मको हेलिकप्टर उनले बनाएका हुन्। आर्थिक अभाव र केही सामग्रीको अभावले उडाउन नसकिएको उनी बताउँछन्। कुनै निकायबाट सहयोग मिलेमा हेलिकप्टर निर्माणको काम सकेर उडानको परीक्षण गर्ने उनले बताए। उनका अनुसार अहिले हेलिकप्टरको पंखामा काठको फल्याक प्रयोग भएको छ। त्यसैले उडान हुन नसकेको हो।

नेपाल पत्रकार महासंघ पाल्पा शाखाका सभापतिसहित पत्रकारको टोलीले न्यौपानेले निर्माण गरेको गाडीमा चढेर मनोरञ्जन लिएका छन्। यस्तो क्षमता भएका युवालाई राज्यले सहयोग गर्नुपर्ने उनले बताए।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.