'नेपालमा देखिएको कोभिडबारे अध्ययन हुनुपर्छ'

|

काठमाडौं : पछिल्लो समयमा नेपालमा कोरोना भाइरसको संक्रमण दर घट्दो क्रममा छ। संक्रमित घट्दै जाँदा मुलुकभर मानिसको ओहोरदोहोर बढ्न थालेको  भने जिल्लाका  क्वारेन्टाइन खाली हुँदै गएका छन्।

एकातर्फ भारत र तेस्रो मुलुकबाट पनि नेपाली आउने क्रममा छन्। अर्कोतर्फ सरकारले लकडाउन खुकुलो गरेसँगै सडकमा सार्वजनिक यातायात सञ्चालन हुन थालेका छन्। यसले अझ बढी जोखिम थपिन जाने सम्भावना देखिएको छ। यसै सन्दर्भमा नेपालमा कोरोना भाइरसको संक्रमणको दर घटेको र यसको जोखिम कति छ छ भनेर थाहाखबरकर्मी अतिन आचार्यले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बासुदेव पाण्डेसँग गरेको कुराकानीको सम्पादित अंश :

नेपालमा सुरुवातका दिनजस्तो कोरोना संक्रमित देखिएको छैन। के अब कोरोना संक्रमणको दर घटेको भन्न मिल्छ?

हामीले बोल्ने भनेको संक्रमणको तथ्यांक हेरेर हो। १० दिनयता संक्रमितको संख्या घटेको नै छ। यो संक्रमित घटेको हो कि होइन पत्ता लगाउनको लागि सरकार र हाम्रो जस्तो संस्थालाई गम्भीर पनि बनाएको पनि छ।

अहिले काठामाडौं उपत्यकाको विभिन्न ठाउँमा परीक्षण गरिएको छ। त्यतिका धेरै मानिसहरूको परीक्षण गर्दा पनि जम्मा ३ जनालाई मात्र पोजेटिभ देखिएको छ। बैंकिङ क्षेत्र, यातायात कार्यालय,मालपोत कार्यालय, अस्पतालको विभन्न विभागमा काम गर्नेलाई परीक्षण गर्दा अत्यन्त न्यून मात्रामा पोजिटिभ देखिएको हो। अहिलेको परीक्षणले पूरा परिणाम दिन सक्दैन किनभने देशभर गर्नुपर्ने अवस्था आउन सक्छ र गर्नुपर्छ।

जुन परीक्षण गरीएको त्यसको आधारमा भन्ने हो भने संख्या कम भइरहेको छ। कम भयो भनेर परीक्षण दायरा कम गरिएको छैन। क्वारेन्टाइनमा रहेका मानिसको संख्या कम भएदेखि नै संक्रमितको संख्या पनि कम हुँदै गएको हो। संक्रमितको तथ्यांकले  ९९ प्रतिशतमा कोरोनाको लक्षण छैन। देखिएका संक्रमित सबै भारतलगायत तेस्रो मुलुकबाट आएका छन्। युवाहरूमा बढी देखिएको छ। उनीहरुलाई परीक्षण गरेपछि समुदायमा परीक्षण नगर्दा संक्रमितको संख्या घट्नु स्वाभाविकै हो।

संक्रमितको संख्या लुकाइएको भन्ने आरोप लागेको छ खासमा के  हो बताइदिनु न?

संक्रमितको संख्या लुकाइएको छैन। यहाँ सबै कन्ट्रोल रुमबाट नियन्त्रित हुन्छ। मुलुकभरका २५ वटा ल्याबबाट आएका रिपोर्टहरूको आधारमा सबैलाई बताइएको छ। लुकाउने भन्ने कुनै हालतमा सम्भव छैन। परीक्षण  दायरा घटाएको भन्ने छ त्यो भनेको आवश्यक पर्दा गरिन्छ। अधिकांश परीक्षण क्वारेन्टाइनमा बसेकालाई गरिएको थियो। धेरै भइञ्जेल धेरै परीक्षण भयो कम हुनेबित्तिकै कम परीक्षण मात्र भएको हो।

क्वारेन्टाइनमा बसेका मानिसहरु धमाधम घर जाँदै छन्। अब साँच्चिकै नेपालमा कोरोनाको जोखिम घटेको हो  ?

नेपालमा संख्या  घट्दैमा जोखिम घट्छ भन्ने छैन। अहिले कोरोना संक्रमित दरको संख्या मात्र घटेको हो। नेपालमा जोखिम रहने वा नरहने भनेर भारतमा निर्भर रहने  गर्छ। जबसम्म भारतमा संक्रमितको संख्या घट्दैन तबसम्म नेपालमा कोरोना जोखिम रहिरहन्छ। भारतको लागि नेपालको सीमा खुला छ। केही समयको लागि घटेको भए पनि फेरि बढ्न सक्छ। संक्रमणको दर न्यून बनाउनका लागि अब यहाँ निगरानी बढाउनुपर्ने बेला आएको छ। संक्रमित कहाँ छन वा कहाँबाट आएको त्यसको खोजी गर्नुपर्ने बेला भएको छ। संक्रमणको दर कम भएको छ पिसिआर गर्नुपर्छ भन्दा पनि कतिखेर पिसिआर गर्ने हो त्यसको निर्धारण गर्नुपर्ने बेला भएको छ।

विश्वभर कोरोना जटिल बन्दै गइरहेको बेलामा नेपालमा घटेको मान्न सकिने कतिको अवस्था छ?

कोरोनाको दुई तीन खालको हुन्छन्। पहिलो भनेको छिटफुट रुपमा देखिने, सामूहिक रुपमा देखिने जस्तै भारतबाट आएका मानिस तिनीहरु क्वारेन्टाइनमा बसे अर्को भनेको समुदायमा देखिने खालको कोरोना हो। त्यो अवस्था नेपालमा हुन पाएको छैन। अहिले नेपालमा सामूहिक रुपमा छ त्यो पनि सीमित घेरामा रहेको छ। समुदायमा गएको छैन। यहाँ फेरि विशेषगरी भाइरसको  अध्ययन गर्ने विश्वसनीयता संस्था र आधार बनेको छैन। मेकानिजम विकास हुने हो भने त नेपालमा कुन अवस्थामा छ भनेर भन्न सकिने अवस्था पनि छ। त्यसको लागि केही समय भने कुर्नैपर्ने हुन्छ।

त्यसो भए उपत्यकादेखि बाहिर जाने सवारी कहिले खुल्छन्?

लकडाउनको अवस्थामा सरकारले स्पष्ट धारणा राख्नुपर्ने पर्ने बेला आएको छ। त्यो समय भनेको ६ गतेसम्म भनिसक्नुपर्छ। संक्रमितको दर कति बढेको छ। कुन क्षेत्रलाई सबैभन्दा बढी प्रभाव पारेको छ त्यसलाई अध्ययन गरेर भन्ने हो। लकडाउनको अवस्था अध्ययन गर्नको लागि सबैभन्दा महत्वपूर्ण कुरा यसको संक्रमण दर, मृत्युदरले पनि प्रभाव गर्ने गर्छ। यसको लागि निश्चित क्षेत्र तोकेर खुला गरिनुपर्छ।

जहाँ शून्य संक्रमित छन् त्यहाँ पूर्णरूपमा खुला गरिनुपर्छ। सबैभन्दा महत्वपूर्ण कुरा संक्रमितको संख्या कस्तो छ त्यसलाई आधार मानेर खोल्ने हो। विद्यालयका हकमा भन्नुपर्दा अहिले कुनै हालतमा पनि खुल्न  सकिँदैन। जहाँ ५ सयको हाराहारीमा संक्रमित छन् त्यहाँ खोल्न हुँदैन।

काठमाडौं उपत्यका मानिस आउने/जाने र उच्‍च घनाबस्ती भएकाले जोखिमको क्षेत्र हो।

लकडाउनले असहज बनाएको जीवनशैली कहिलेदेखि सहज होला जस्तो लाग्छ तपाईंलाई?

अहिले क्वारेन्टाइनमा बसेका मानिसहरु घर गएका छन् तिनीहरुबाट कस्तो प्रतिक्रिया आउँछ त्यसको परिणाम कुर्नुपर्ने हुन्छ। विदेशबाट आएका मानिस होल्डिङ सेन्टरबाट घर कसरी जान्छन् तिनीहरुबाट कस्तो परिणाम आउँछ त्यसमा निर्भर रहन्छ। जति जति संक्रमितको संख्या कम हुन्छ त्यति चाँडो लकडाउन खुल्ने र जीवन सहज हुन थाल्छ। तर, संक्रमितको संख्या कम भयो भनेर सावधानी नअपनाई हिँड्ने भने फेरि भयावह आउन सक्ने सम्भावना छ।

बाहिर बढी भीडभाडमा नबस्ने,मास्क लगाउने र स्यानिटाइजर लगाउने यस्तै सावधानीले नै यो रोगबाट बचाउने गर्छ। मुख्यतया जनजीवन सहज बनाउने कुरामा नागरिकको व्यवहार र संक्रमितको संख्यामा निर्भर रहने गर्छ।

तपाईंको विचारमा कोरोना समुदायमा फैलिइसकेको छ कि छैन?

नेपालमा देखिएको कोरोना समुदायमा गएको छैन।  नेपालमा देखिएका सबै संक्रमित सबै बाहिरबाट आएका हुन्। यहाँ भएका २ प्रतिशत मानिसमा कोरोना देखिएको छ। त्यसलाई समुदायमा गएको  छ भनेर भन्न मिल्दैन। सबै संक्रमित युवावस्थाको उमेरमा रहेका मानिसलाई छन्।

समुदायमा संक्रमण फैलिएको भए सबै ज्येष्ठ नागरिकलाई लागिसक्थ्यो वा महिलालाई लाग्थ्यो। तर, अहिले भएका सबै पुरुष छन्। तिनै भारतबाट आएका छन्। यदि त्यस्तो हुन्थ्यो भने अस्पतालमा निमोनियाको बिरामीहरु अस्पतालमा भर्ना हुन्थे। समुदायमा छैन भनेर ढुक्क साथ बस्ने अवस्था छैन। किनभने अझै धेरैको परीक्षण गर्नुपर्नेछ।

स्थानीय सरकारले बनाएको क्वारेन्टाइन मापदण्डविपरीत र फोहोर रहेको गुनासो छ नि?

क्वारेन्टाइन हतारमा बनाइयो। कस्तो के हुन्छ भन्ने त्यो अनुभव केही थिएन त्यसैको आधारमा त्यस्तो भएको हुन सक्छ। अर्को कुरा ३५ हजारको लागि भनेर बनाइयो मानिस आए २ लाखको हाराहारीमा क्षमताभन्दा धेरै भयो कि जस्तो छ।

मुलुकभर संक्रमण देखिएपछि जहाँ कन्ट्रयाक ट्रेसिङ हुनुपर्ने त्यहाँ हुन सकिरहेको छैन भन्ने छ नि?

कन्ट्रयाक ट्रेसिङ भइरहेको छ। कार्यविभाजनको लागि नेपालको प्रशासनिक गतिविधिलाई तीन तहमा विभाजन गरिएको छ। केन्द्र, प्रदेश र स्थानीय सरकार तिनीहरूको संयोजनमा अहम भूमिका हुन्छ। बाहिर जिल्लाको हकमा केही समस्या होला पनि तर पनि कन्ट्रयाक ट्रेसिङको काम छुटेको छैन। काठमाडौंको हकमा कन्ट्रयाक ट्रेसिङको काम शतप्रतिशत भएको छ। स्थानीय तहमा कन्ट्रयाक ट्रेसिङको लागि १ हजार ७५ जनाको टिम बनेको छ।

भारतबाट मानिस आइरहेका छन्। काठमाडौंमा बाहिरी जिल्लाबाट पनि मानिस आउने क्रम जारी छ यसले अर्को संकट पैदा गर्दैन र?

भारत र नेपाल दुवै तर्फबाट नागरिक जाने आउने गरेका छन्। यसले दुवै देशलाई संकटमा पारेको छ। खुला सीमाबाट मानिस आइरहेका छन् नियन्त्रणको लागि सबैभन्दा बढी भूमिका सिसिएमसी र जिल्लामा डिसिएमसी पनि छ। तिनीहरुले यो समयमा आफ्नो भूमिका देखाउनुपर्छ।

जति पनि मानिस आउछन तिनीहरुलाई तुरुन्त पिसिआर परीक्षण गरिनुपर्छ। तिनीहरुलाई निश्चित समय सम्मको लागि क्वारेन्टाइनमा राखिनुपर्छ। जोखिम न्यूनीकरणको लागि सरकारीस्तर  र समुदायको मानिस बढी सक्रिय हुन जरुरी छ। नियन्त्रण र व्यवस्थापनमा स्थानीय सरकारको भूमिका हुने गर्छ।

नेपालमा  देखिएको भाइरस कस्तो हो?

विज्ञानमा विश्वास गर्ने मानिस हो म। विश्वमा देखिएको भाइरसभन्दा यहाँको भाइरसलाई हेरेर भन्नुपर्दा केही कमजोर भाइरस हो। अझ रोचक पक्ष के छ भने भाइरसको स्वरूप पत्ता लगाउनको लागि कोरोना संक्रमितबाट मृत्यु भएका मानिसहरुको जिनलाई अध्ययन गर्नुपर्छ। मृत्यु भएका मानिसको जिनको अध्ययन गर्न पाउनुपर्थ्यो तब मात्र यो कस्तो भाइरस हो भनेर  भन्न मिल्छ। परीक्षण गर्न सम्भव छ। तर,नेपालमा छैन किनभने यहाँ त्यस्ता सामग्रीहरु छैनन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.