अन्‍न तथा फलफूलमा व्यापक क्षति, तत्काल राहत उपलब्ध गराउन माग

|

सुर्खेत : सुर्खेतको पूर्वी क्षेत्रमा लगाइएका बालीनाली सलहले नष्ट गरेको छ। 

आइतबार पसेको सलहका झुण्ड जिल्लाको दक्षिणपूर्वी क्षेत्रबाट जिल्लाबाट प्रवेश गरेको बताइएको छ। विषेश गरी सुर्खेतको पूर्वीक्षेत्र गुर्भाकोट नगरपालिका, लेकबेसी नगरपालिका र भेरिगंगा नगरपालिकामा सलहले बढी क्षति गरेको छ। मकै लगायत अन्नबाली र फलफूलमा सलहले बढी नष्ट गरेको छ। 

किसानहरुले ठूलो क्षति भएको भनेपछि आफू स्थलगत निरीक्षण गरी फर्किएको कर्णाली प्रदेशका कृषि विकास निर्देशनालयका निर्देशक चित्र बहादुर रोकायले बताए। 
किसानलाई तत्काल राहत व्यवस्था गर्नुपर्ने पनि उनले बताए। 

सलहले भर्खरै घोगा लगाउन लागेको मकै, आँप र अन्य फलफूल तथा जंगलका पात पतिगंरसमेत खाएको छ। आइतबार साँझ आएर बसेको सलहले शनिबार साँझसम्म पनि बसेको ठाउँ नछोडेको रोकायले जनाए। 

‘आइतबार साँझदेखि सलह बसेको छ, शनिबार साँझसम्म पनि सलह उठेको छैन, उनले भने, ‘किसानको अन्नबाली, फलफूल र जंगलसमेत खाएको छ।’ निर्देशक रोकायका अनुसार पूर्वी सुर्खेतको ८० वर्ग किलोमिटर क्षेत्रफलमा सलहले क्षति गरेको छ। सलहले मकै खाएर डाँठ मात्रै बाँकी राखेको रोकायाले बताए। 

बाँके बर्दियाको सीमा क्षेत्र बबई र हर्रे क्षेत्रबाट प्रवेश गरको सलह सुर्खेतका धेरै क्षेत्रमा प्रवेश गरिसकेको छ। सुर्खेतको भेरीगंगा, लेक बेसी, गुर्भाकोट नगरपालिका हुँदै वीरेन्द्रनगरसम्म सलह प्रवेश गरेको छ। यस्तै सुर्खेतको चिंगाड गाउँपालिकामा पनि दुई वटा झुण्ड प्रवेश गरको छ। 

सलह आकाशमा देखिएपछि किसानले ठाउँठाउँमा आगो बालेर धुवाँ बनाएर टिन थाल तथा बाजागाजा बजाएका थिए। कर्णाली प्रदेश राजधानीसमेत रहेको वीरेन्द्रनगर बजारमा समेत सलहको ठूलो झुण्ड देखिएको थियो।

सलहले क्षति पुगेका किसानलाई राहत उपलब्ध गराउने तयारीसमेत भइरहेको कर्णाली सरकारका प्रवक्ता एवं भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री विमला केसीले जानकारी दिइन्। उनले भनिन्, ‘सलहले क्षति पुगेका किसानलाई राहत दिने विषयमा छलफल भैरहेकोे छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.