सैद्धान्तिक बहस भुलेर शक्ति संघर्षमा केन्द्रित

|

काठमाडौं :  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटी बैठक २५ दिनको बीचमा सात पटक स्थगित भएको छ। शक्ति संघर्ष चर्किएपछि नेताहरु बीच सहमतिको बहानामा बैठक पटक पटक स्थगित भएको हो।

असार १० गतेदेखि सुरु भएको स्थायी कमिटी बैठक एक महिना पुग्‍न लाग्दा पनि टुंगोमा पुगेको छैन। यसबीचमा दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच दर्जनभन्दा धेरै पटक संवाद भइसकेको छ। तर अझै पनि निकास निस्किने कुनै छाँट छैन। 

असार १० गतेबाट सुरु भएको स्थायी कमिटी बैठक साउन ४ गतेसम्म आउँदा ७ पटक  स्थगित भइसक्यो तर विवादले निकास पाउने अझै छाँट देखिएको छैन। दुई अध्यक्ष र वरिष्ठ नेता नेपाल बीच पद लेनदेनको अडानमा रहँदा विवादले अझै पनि पूरै निकास पाएको छैन। शनिबारको सचिवालय बैठकमा दुई अध्यक्षबीच सहमति भएको बताइए पनि वरिष्ठ नेता झलनाथ खनाल र नेपाल सशंकित भएपछि प्रचण्डले सहमति भएको कुरा स्पष्ट गरेका छैनन्। 

एकता प्रक्रिया नसकिँदै पार्टीभित्रको विवाद चर्किएर जाँदा फुटको संघारमा पुगेको छ। तर अहिलेलाई यो सम्भावना टरेको बताइएको छ। पार्टीको विवाद समाधानका लागि शीर्ष नेतामाथि दबाब बढ्दै जाँदा समाधानको प्रयास गरिरहेका छन्। 

प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच पटक पटक समस्या समाधानका लागि वार्ता भइसकेको छ। तर सहमति बन्‍न नसक्दा स्थायी कमिटीको बैठक अनिर्णयको बन्दी बनेको छ।

धुम्बाराहीमा केन्द्रित हुनुपर्ने पार्टी गतिविधि खुमलटार, बालुवाटार, कोटेश्‍वर र भैंसेपाटीमा सीमित भएका छन्। सैद्धान्तिक बहसलाई लत्याएर शिर्ष नेताहरु शक्ति संघर्षमा होमिँदा जनस्तरबाट चर्को आलोचना भइरहेको छ।

अध्यक्ष दाहाल र वरिष्ठ नेता नेपालसहितका शीर्ष नेताहरु प्रधानमन्त्री ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने अडानमा छन्। यद्यपि, प्रधानमन्त्री ओलीले दुवै पद नछोड्न अडानमा बसिरहेका छन्। दाहालले पार्टी एकताका बेला भएको आलोपालोको सहमति पालना गर्नै पर्ने बताएका छन् भने नेता नेपालले ओलीका कारण पार्टी जनता माझ बदनाम भएको भन्दै प्रधानमन्त्रीबाट राजीनामाको दबाब बढाइरहेका छन्। 

स्थायी कमिटी बोलाउने र स्थगित गर्ने प्रक्रिया त्यही अनुरुप स्थायी कमिटीको बैठक स्थगन भएको प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्य थापाले बताएका छन्। ‘स्थायी कमिटी बोलाउने र स्थगित गर्ने  पार्टीको प्रक्रिया छ। त्यही अनुरुप स्थगन गरिएको हो,’ उनले भने, ‘आगामी बैठक साउनको ६ गते बस्ने निर्णय भएको छ।’

स्थायी कमिटीको बैठकबाट सहमति जुट्न नसक्ने भन्दै स्थगित गरेर शनिबार सचिवालय बैठक बसेको थियो। तर, सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले मंसिरमा महाधिवेशन गर्ने प्रस्ताव अघि सारेपछि नेकपाभित्रको विवाद फरक मोडमा पुगेको छ। ओली बिरूद्ध लागेका शिर्ष नेताहरुले यसलाई स्विकार गर्ने हिम्मत अझै गरेको नदेखिए पनि विधि र प्रक्रियाका हिसाबले महाधिवेशनको प्रस्तावलाई कसैले गलत भन्न सकेको छैन। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.