|

चितवन : कोरोना महामारीका घटनाक्रम र अनुभूति समेटेर​ पत्रकार विनोदबाबु रिजालले लेखेको ‘एकान्तवास’ पुस्तक बजारमा आएको छ। पुस्तक महामारी नियन्त्रण गर्न लगाइएको लकडाउनको सेरोफेरोमा केन्द्रित छ।

वरिष्ठ साहित्यकार गोविन्दराज विनोदीसँगै लेखककी आमा पदमकुमारी रिजाल, सासूआमा गौरीदेवी बस्ताकोटी र पत्नी कल्पना बस्ताकोटीले शनिबार पुस्तक लोकार्पण गरेका हुन्‌।

साहित्यकार विनोदीले लकडाउनलाई विनोदबाबुले सदुपयोग गरेको बताए। 'असहज परिस्थितिलाई सदुपयोग गर्नुभएको छ, यो कृति पठनीय छ', उनले भने, 'राम्रो कृति आएको छ, ‘न्युज’, ‘भ्युज’ को सम्मिश्रण छ।' एकान्तवासमा साधना गरी निकालेको कृति उपयोगी हुने उनले बताए। पछिल्लो समय पत्रकार पनि साहित्यको क्षेत्रमा अघि बढेकोमा आफूलाई खुसी लागेको उनले बताए। 

कृतिको समीक्षा गर्दै साहित्यकार बालकृष्ण थपलियाले चैत ८ देखि असार १ गतेसम्मका मुख्य घटनाक्रम, तथ्यांक र अनुभूतिलाई रोचक ढंगले समावेश गरिएको बताए। 'यो डायरी पढिरहँदा हामी उनीसँग रुन सक्छौँ, हाँस्न सक्छौँ,' उनले भने, 'कतै इतिहास सम्झिन सक्छौँ, कतै जीवनका आरोह अवरोह सम्झिन सक्छौँ।' सधैँ समाचार लेखिरहने पत्रकारले हरेक दिनका मुख्य घटनाकै प्रभाव समेटेको चर्चा थपलियाले गरे। उनले थपे, 'कोरोना नियन्त्रण र रोकथामका लागि  भएका पहल पनि समेटिएका छन्”, उनले थप भने, 'समाचार मात्रै होइन, अनुभव पनि पोखेका छन्, यो कृति भावी पुस्ताका लागि दस्ताबेज पनि हो।'

साहित्यकार एलबी क्षेत्रीले एकान्तवासको असह्य पीडा भोगेपनि मीठो कृति ल्याएकोमा खुसी व्यक्त गरे। साहित्यकार केदार खनालले समाजका लागि एकान्तवास कृति दस्तावेजका रुपमा रहने बताए। समीक्षक उदय अधिकारीले लकडाउनलाई भावी पुस्ताले सहजै बुझ्ने भाषामा उतारेको चित्रण गरे। नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष राधेश्याम खतिवडाले कृति सबैखाले पाठकका लागि पठनीय बन्नेमा विश्वास व्यक्त गरे। 'यो डायरी मात्रै होइन, यसमा देश तथा विदेशका मुख्य घटनाहरु सबै समेटिएका छन्', उनले भने, 'जुनसुकै भूगोलमा बसेर पनि पढ्न मिल्ने कृति निस्केको छ।'

लेखक रिजालले अविष्मरणीय लकडाउनको सम्झनाको संगालो भएको बताए। 'गहिरो कल्पनामा डुबेर लेखिएको किताब होइन, कोरोना त्रास र लकडाउनको कालो दिनलाई सम्झने प्रयास गरेको हुँ।' लकडाउन अवधिमा अर्थतन्त्र र सामाजिक जीवनमा पारेका प्रभावलाई एकीकृत गरी पुस्तकको आकार दिएको उनले बताए। कृतिमा लकडाउन अवधिमा भएका राजनीतिक उतारचढाव, प्रधानमन्त्रीका अभिव्यक्तिहरु, नयाँ नक्सा जारी, संक्रमितको बढ्दो प्रभावलगायतका घटना समेटिएका छन्।

कृति युरेका पब्लिकेसनले प्रकाशन गरेको हो। युरेका पब्लिकेसन तथा सम्पूर्ण किताबका लेखराम सापकोटाले पत्रकार रिजालले लकडाउन अवधिलाई पत्रकार र नागरिकको आँखाबाट नियालेर दैनिकीमा लिपिबद्ध गरेको बताए। सापकोटाले लकडाउन अवधिका तथ्यांक मात्रै नभई त्यसले पारेका प्रभाव र आउन सक्ने चुनौतीसमेत समेटी कृति आएकाले पढ्न उपयोगी हुने बताए।

रिजालले डायरीलाई ७८ मूल शीर्षकमा लेखेका छन्। २७६ पृष्ठ रहेको पुस्तकको मूल्य ३७५ रुपैयाँ राखिएको छ। कृतिमा ३ लामा कविता पनि छन्। पत्रकार रिजाल कायाकैरन दैनिकका सम्पादक हुन्। उनी १६ वर्षदेखि चितवनको पत्रकारितामा क्रियाशील छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.