प्रवासीका लागि अमेरिकी अस्पताल आर्यघाट जस्तै

|

अमेरिकाको टेक्सासस्थित ब्रायन सिटीमा छु। जुन ११ गते कामबाट सकुशल फर्किएर सुतेको बिहान उठ्दा टाउको पछाडिको भाग दु:खेको महसुस भयो। शरीरका सबै जोर्नी, खुट्टाका पिँडुला र मसलहरू हल्का दु:खेको महसुस गरें।

हल्का थकान पनि अनुभव भयो। कोरोनाको शंकाले लंका जलायो। यति बेला टेक्सासमा कोरोनाको बिगबिगीका कारण आजको दिन आराम गर्न काममा आउन नसक्ने भनेर म्यानेजरलाई म्यासेज गरें। तर, कुनै रेस्पोन्स गरेन। दिउँसोको एक बजेतिर सुपरभाइजरलाई फोन गरें। ऊ त मैले काम गर्ने पसलमै रहेछ र म्यानेजर पनि त्यही भएको जानकारी दियो।

म तुरुन्त भेट्न गएँ र सिटामोललगायत रुघा खोकीको औषधिसहित केही सागपात,फलफूल र ओरेन्ज जुस लिएर फर्किएँ। त्यतिबेला मेरो ज्वरो १००.९ थियो। त्यो दिन औषधि खाएर सुतेको एकै पटक राति १० बजे बिउँझिए। ओहो! त्यसपछि बल्ल मेरो संघर्ष सुरु भयो। विस्तराले मलाई यति तानेको थियो कि कुरै नगरौं। चेत सबै छ, आँखा देखेकै छु तर म साहससम्म गर्न सकिनँ विस्तराबाट उठ्न। सात घण्टाको अवधिमा यति कमजोर बनायो। एक्लै बसिरहेको हुँदा मुस्किलले खाना पकाएँ। चार चम्चाभन्दा खान सकिएन।

तरकारीमा नुन तेल खुर्सानी हालेको कि नहालेको केही थाहा पाइएन। यसरी जिब्रोको स्वाद भाग्यो। फेरि औषधि खाएर सुतियो। तातो पानी तताउनसमेत जाँगर नचल्ने, सुतिरहेको बेला खापेको खुट्टासमेत फेर्न जाँगर नचल्ने। ट्वाइलेट जानसमेत अल्छी लाग्ने। यस्तो अवस्था आएपछि कोरोना नै हो भन्‍ने निश्‍चित गरेँ र टेस्ट गराउन जाने सोचेँ। तर, आफ्नो त गाडी चलाउनसमेत साहस छैन।

एकजना चिनेको अफ्रिकालाई अनुरोध गरेँ। उसैले यहाँको सेन्ट जोसेफ हस्पिटल पुर्‍यायो। पालो आयो त २५८ डलर फिस् लाग्ने बतायो तर अहिले नै तिर्नु नपर्ने। उनीहरुले बिल पठाए पछि तिर्नुपर्ने जानकारी पाइयो र नाकको प्वालभित्र एउटा सुत्ली जस्तो हालेर राख्यो। तीन दिनमा रिपोर्ट आउँछ भनेको भगवानको कृपाले १० दिनमा आइपुग्यो त्यो पनि कोरोना पोजिटिभ भएको।

यतिन्जेल मलाइ निकै गाह्रो भइसकेको थियो। श्वास प्रश्‍वास लगायत खोकी निकै बढेको थियो। रातिमा नसुतेर रोएर बस्थेँ किनकी जब निद्रा आउँछ अनि त घाँटीमा केही चिजले पकड्थ्यो अनि बिउँझिँदा त्यस्तो हुन्‍न थियो। हल्का दिउँसोमा सुत्थेँ। कसै गरि मरि हालियो भने पनि घर फुटाउन नपरोस् भनेर रातिमा पछाडिको ढोका खुल्लै छोड्थेँ।

यति धेरै गहिराइमा डुबायो त्यो यादले वर्तमान सबै बेकार लाग्‍ने अनि स्‍नेह भन्‍ने एक बुँद पनि मनमा नआउने, एकातिर शरीर पूरै अप्ठेरो भएको र अर्कोतिर उपचारको कुनै छेउ टुप्पो नभएको भने आफ्नो आगतनिर्गतका बोधहरूले व्याकुल। कति बेला त मर्दिमको जस्तो लाग्थ्यो तर पनि ज्वरोलाई एकदम निगरानी गरियो। खान मन नलाग्ने सबैभन्दा मुख्य बैगुन यस रोगको।

बिरामी भएको तीन दिनपछि श्रीमतीसँग झगडा हुन थाल्यो। छिटो अस्पताल जानू र औषधि लिनु भन्थिन् उनी। अरे! बाबा यो थोरै नेपाल हो र। हरेक गल्ली गल्लीमा अनमी, सिएम एचए लगायत सामान्य परामर्श गरेकाले औषधि पसलको च्याँखे थाप्ने भनेर म गाली गर्थें।

यो अमेरिकामा स्वास्थ्य बिमा भएकालाई समेत सजिलै उपचार हुँदैन भने नहुनेलाई झन् कति पहाड छ। दिनदिनै झगडा हुन थालेपछि म्यासेन्जर नै डिलिट गर्दिएँ। फेसबुक त पहिल्यै डिलिट गरिसकेको थिएँ। यतिसम्म लाग्थ्यो कि कसैले म्यासेन्जर वा फोन कलसमेत नगरोस्। यति झिँजो लाग्‍ने कि अहिले अचम्म लाग्छ।

धेरै दिनसम्म कसैसँग बातचित भएन। अचम्मको कुरा निकै निर्दयी र निर्मोही बनाउँदो रहेछ कोरोनाले। एउटा सानो नातिबाहेक कसैको याद र माया लागेन। ८० वर्ष हाराहारीमा लागेका बुवा ममीको समेत माया लागेन। मात्र क्यालिफोर्नियामा रहेको छोरो नीराजनसँग मात्र हरेक दिन छोटो कुरा हुन्थ्यो। एक दिन प्रकाश पाण्डे सरसँग मात्र कुरा भएको थियो। त्यति बेला रिपोर्ट आएको थिएन।

अप्ठेरो छ भने आफूकहाँ आउन सल्लाह दिनुभएको थियो। धेरै मित्रहरूका म्यासेन्जर कल र म्यासेज होलान् अहिलेसम्म हेरेको छैन, माफ गर्नुहोला। त्यति बेलैअस्टिनमा बस्ने एकजना मेरो भाइ पर्नेलाई पनि कोरोना भएछ। उहाँलाई १०४ डिग्रीभन्दा माथि ज्वारो आएछ र एम्बुलेन्स बोलाउँदा घरमै बस, आराम गर्नु भनेर छोडेर गएको जानकारी आयो। हेर्नुस्, यो देशमा आप्रवासलाई यसरी बेवास्ता गरिएको छ। बोस्टनको एउटा अस्पतालमा काम गर्ने एकजना नेपाली डाक्टर साफले पनि यो कुरा स्वीकार्नु भएको छ।

एक्लै बसेको छु र बाँच्‍न त जसरी पनि खाना पकाउनै पर्छ। धेरै दिन रोएरै पकाएँ। एक दिन पकाएको तरकारीलाई त केही अरु दिनसम्म खान मिल्छ तर भात त हरेक दिन पकाउनै पर्ने। बिस्तराबाट उठ्नै नसक्ने भएपछि चना भुटेर बिस्तरामै राखेर अलिअलि टोक्दै गरें र पछि साथीहरुलाई सम्पर्क गरें र बिहानको खाना निरज श्रेष्ठ र अमर आचार्य अनि साँझको खाना नवीन थापाले पुर्‍याउनुभयो। उहाँहरूलाई आभार व्यक्त गर्दै धन्यवाद दिन्छु। केही सहयोग चेतन श्रेष्ठ भाइले पनि गरे र धन्यवाद भाइलाई पनि।

दैनिक आवश्यक पर्ने केही सामान लगायत साग सब्जीको व्व‍यस्था एक जना अफ्रिकनले गर्दियो। यतिन्जेल कोरोना छ भन्ने पोजिटिभ रिपोर्ट पनि आइसकेको थियो। तर आएर के गर्नु न त्यो देखाएर कतै उपचार गर्न पाउनु न भत्ता पाउनु। त्यसपछि नर्भस भएर होला मलाइ झन गाह्रो भइरह्यो। तर के गर्नु? हाम्रो लागि यहाँका अस्पताल होइनन् आर्यघाट हुन् भन्ने थाहा थियो र भगवान र कुल देउता पुकारेर रोइ बसियो। यो बेलामा कसैसँग कुरा गर्न पनि मन नलाग्ने, कसैले गरिहाले पनि रिस उठ्ने समस्या आयो।

मात्र विस्तरामै पल्टिनु र नानाभाँती कुराहरु मनमा गुनेर बस्नु विकल्प रह्यो। सारा जिन्दगी भरी गरेका सम्पुर्ण राम्रा र नराम्रा कुराहरु सिनेमाका सिन जस्तै रोल बनेर आइरहे। उति बेला गरेका गलत कार्यहरुले निकै पश्चाताप बनायो। यति धेरै गहिराइमा डुबायो त्यो यादले वर्तमान सबै बेकार लाग्‍ने अनि स्‍नेह भन्‍ने एक बुँद पनि मनमा नआउने, एकातिर शरीर पूरै अप्ठेरो भएको र अर्कोतिर उपचारको कुनै छेउ टुप्पो नभएको भने आफ्नो आगतनिर्गतका बोधहरूले व्याकुल। कति बेला त मरिदिऊँ जस्तो लाग्थ्यो तर पनि ज्वरोलाई एकदम निगरानी गरियो। खान मन नलाग्ने सबैभन्दा मुख्य बैगुन यस रोगको।

शद्दे शरीर हुँदा बानी पनि नभएको र खाए पनि खोकी लाग्ने कारणले फलफूलहरू खासै खाँदैनथे। तर यति बेला हल्का खाने प्रयास गरें र खोकी झन बढेकाले छोडिदिएँ। अब के खाएर बाँच्ने भन्ने कुराले पिरोली रहन्थ्यो। त्यही अफ्रिकनको सल्लाहले भिटामिन आदि खाएँ। केही राहत मिलिरहेको थियो। तर निकै कमजोर भइसकेको थिएँ त्यति बेलासम्म मेरो २५ पाउन्ड वजन घटिसकेको थियो। यसरी सात दिनमै कमजोर बनाएर मृत्युको मुखमा पुर्‍याउने प्रयास गर्‍यो कोरोनाले। भनौं ढाडमा टेकेर टाउकामा हान्ने रणनीति रहेछ यसको पनि।

यसरी न खाना खान न फलफूल खान मन नलाग्‍ने भएपछि जीवित कसरी रहने भन्‍ने थियो। छोरा नीराजनले चिकेन नुडल्स खाने सल्लाह दिए। त्यो क्यान फुड रहेछ, अनि त्यसलाई केही दिन खाएपछि कता कता नाकले गन्ध र मुखबाट हल्का गुलियो रस आएको अनुभव भयो। लगातार त्यो खाँदै जाँदा भोक लागेको पनि अनुभव हुन थाल्यो। त्यस पछि राम्रो हुँदै गयो र हरेक दिन खुराकी बढ्दै गयो।

अब अहिले भोजनमा खासै समस्या छैन। एकदम छिटो छिटो भोक लाग्छ तर,पहिले जस्तो एकै पटक धेरै खान सकिँदैन। जे होस अब यो महामारीबाट बाँचियो भन्ने लागेको छ। तर,अझै पनि लामो समय सम्म कुरा गर्दा,कुनै काम छिटोछिटो गर्दा,छिटो हिड्दा,अर्थात भनौं कुनै पनि काम रफ्तारमा गर्दा दमको बिरामी झैँ श्वास बढेर स्याँस्याँ हुन्छ। आशा छ ,यो समस्याबाट पनि बिस्तारै राहत मिल्छ होला। कोरोना संक्रमित भएपछि मैले आफूले भोगेका केही कुराहरु जो गर्न हुने र नहुने कुरा यहाँ राख्दछु।

​१. कोरोना लागेपछि ब्यक्ति अनुसार लक्षणहरु फरक हुन्छन। तर सामान्य ज्वरो सबैलाई आउँछ। सकभर ज्वरोलाई १०० भन्दा माथि जान नदिन सिटामोल हरेक ६ र ६ घन्टामा लिने र कुनै पनि समय मापन गरिरहने। यदि एक सय नाघी हाले पनि नआत्तिने र अर्को ६ घन्टा पछि तल झर्न सक्छ।

निकै कमजोर भइसकेको थिएँ त्यति बेलासम्म मेरो २५ पाउन्ड वजन घटिसकेको थियो। यसरी सात दिनमै कमजोर बनाएर मृत्युको मुखमा पुर्‍याउने प्रयास गर्यो कोरोनाले। भनौं ढाडमा टेकेर टाउकामा हान्ने रणनीति रहेछ यसको पनि।

२. भिटामिन ऋ प्रदत्त जुस र फलफूल,कागती लगायतका कुरा धेरै खानुको साथै ध्यान अन्तै मोड्ने। यदि सम्भव छ भने हनुमान चालिसा लगायत कुनै धार्मिक किताब पढ्नुको साथै आफ्ना कुल देवतालाई स्मरण गर्ने जस्ले गर्दा हामीलाई शक्ति र ताकत प्राप्त भएको भान परोस्। मैले हनुमान चालिसा पढ्ने गरें। यदि घरमा टिभी इन्टरनेट छैन भने तास खेल्ने, फोनमा भएका फोटो र भिडियोहरू हेर्ने।

३. जसरी पनि म बाँच्नु पर्छ र अझै धेरै गर्नुछ र नयाँ संसार देख्नु छ भनेर सके जति खाना खाने र समयमै खाना खाने। हुन त खाना खान पटक्कै मन हुँदैन, तथापि पनि जति सकिन्छ खाने।

४. आफू सुतिरहेको नजिकै भुटेको चनालगायत, हल्स नामका कफ ड्रप्स चकलेटहरू राख्ने ताकी बेला बेलामा सजिलै खान सकियोस्।

५. हरेक समयमा, छ भने अदुवा ,टिमुर , तुलसीको पत्ता,नीमको पात लगायत ज्वानो राखेर तताएको तातो पानी ६ गिलास जति पिउने। उठ्ने बित्तिकै पानी पिउँदा मह मिलाउने। बेसार त हरेक बखत अनिवार्य नै भइहाल्यो।

६. लामो बाहुला भएको कपडा र लामो ट्राउजर लगाउने र हरेक दिन बदल्ने।

७. पिसाव फेर्दासमेत बसेर फेर्ने जस्ले गर्दा छिटाहरु हाम्रो खुट्टामा नपरून्। परेको छ भन्ने लाग्यो भने ट्राउजर चेन्ज गर्ने।

८. हरेक समय ट्वाइलेट प्रयोग गरिसके पछि हात अनिबार्य साबुन पानीले धुने।

९. हाम्रो मुखमा टिमुर,अदुवा अथवा तुलसी र नभए दाल चिनी र नीमको पात सधै हुनु पर्छ जस्ले गर्दा खोकी नियन्त्रण लगायत मुख सुक्खा हुनबाट बचाउँछ।

१०. खोकीको दबाइ पनि सांझ बिहान खाना खाइसके पछि खाने।

११. छाती र घाँटीमा भिक्स लगाउने र हट ब्यागमा तातो पानी हालेर सांझ बिहान सेक्ने। यदि हट ब्याग छैन भने इँटा प्रयोग गर्न सकिन्छ।

हाम्रो लागि यहाँका अस्पताल होइनन् आर्यघाट हुन् भन्ने थाहा थियो र भगवान र कुल देउता पुकारेर रोइ बसियो। यो बेलामा कसैसँग कुरा गर्न पनि मन नलाग्ने, कसैले गरिहाले पनि रिस उठ्ने समस्या आयो।

१२. हरेक बिहान र सांझ बाफ लिने। पानीमा ज्वानो, निम र तुलसीको पात राखेर उमाल्ने र बाफ लिने बेलामा भिक्स अथवा सन्चो राखेर कम्तिमा पनि बीस मिनेट बाफ लिने। त्यति बेला आएको खकार,सिँगान लगायतका विकार चिजलाई त्यै भाँडोमा थुक्न सकिन्छ।

बाफ लिइसकेपछि आएको पसिनालाई रुमालले पुछ्ने। यदि नुहाउन मन छैन भने चिसो रुमालले पुछ्ने। नुहाउनु छ भने करिब सवा घण्टापछि मात्र नुहाउने। प्रयोग भएको चिसो तौलिया र आफ्नो कपडाहरू एकान्त स्थानमा सुकाउने र कम्तिमा ६ घन्टा पछि प्रयोग गर्ने। ड्राई गरे पनि एक आधा घन्टा पछि प्रयोग गर्ने।

१३. खानामा झोलिलो तरकारी धेरै खाने। जस्तै दाल,चनाको झोल,च्याउको सुप,लसुन ज्वानो मरिच लगायत अदुवा राखेर बनाएको सुप,काँचो लसुनसहित धनियाँ वा पुदिनाको चटनी जसमा भए टमाटर र नभए कागती अथवा अमिलो चिज राखेर बनाएको होस जस्ले जिब्रोको स्वाद फर्काउन मद्दत गर्छ।

१४. माथि बताइएका सबै चिज गर्मी हुन र यसको कारणले निद्रा नपर्न सक्छ यदि त्यसो भयो भने एउटा कचौरामा मेथी भिजाउने र बिहान उठ्ने बित्तिकै एक चम्चा त्यो मेथीलाई मज्जाले चपाएर जसरी हुन्छ निल्ने। सकिन्छ भने दाल बनाएर खाने।

१५. ट्वाइलेट प्रयोग गरे पछि बीस सेकेन्ड सम्म साबुन पानीले हात धुन त जरुरी छ नै यसको अलावा विस्तारामा रहँदा नाक कान कोट्याइन्छ,कपाल कन्याइछ र हरेक क्षण क्षण हात धुन सम्भव नहुने भएकोले स्यानिटराइजलाई आफ्नो नजिकमा राख्नु पर्छ र स्यानिटाइज गरिराख्नु पर्छ।

१६.हरेक दिन बिहान घाममा बस्ने र साँझ बाहिर फेरको स्वच्छ हावा लिने।

१७. खोकी लागिरहन्छ र खकार लगायत केही चिज आउँछ र घरीघरी थुक्न जानू पर्ने हुन्छ। यदि त्यसो गर्न सकिँदैन भने एउटा भाँडोमा पानी राख्ने र त्यसमा झोल साबुन र अलिकति ब्लिच राख्ने र त्यसमै थुक्ने। त्यो भाडो लाई दुई चार घण्टाको अन्तरालमा सफा गर्ने।

कोरोना रोग लाग्दैमा मरिहालिन्छ भन्ने सोचाइलाई बिर्सेर म वीर नेपाली हो मलाइ केहि पनि हुदैन भन्ने भावना राख्नु पर्छ। जस्ले हिक्मत गर्छ उसले आधा लडाइ जितिसक्छ भन्ने हाम्रो मान्यता छ। हामी नेपालीहरु थोरै भए पनि केही भक्तिभावमा आस्था राख्छौँ त्यसैले आफ्ना कुल देवता लगायत अन्य आफ्ना आस्थाका भगवानहरूको आराधना र नाम जप्दा पनि केही आँट र साहस प्राप्त भएको अनुभव हुन्छ।

अन्त्यमा, हुन त अहिले सम्म मेरो फेसबुक को वालमा देखेको छैन तथापि नदेखे पनि मेरो स्वास्थ्य लाभको कामना गर्नु हुने सबैप्रति हार्दिक धन्यवादसहित आभार। सबैको मुहारमा कान्ति होस् र मनमा शान्ति होस्।

कोरोनालाई जितेका लेखक अमेरिकाको टेक्सासमा बस्दै आएका छन्। उनी नेपाली साहित्य सिर्जनामा पनि क्रियाशील छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.