|

काठमाडौं : पार्टीमा विवाद चर्किँदै गइरहेका बेला सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूनिकट नेताहरूलाई खुमलटार बोलाएर एकताको पक्षमा उभिन आग्रह गरेका छन्। 

प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष दाहाल र नेता नेपालको शक्ति संघर्षको कारण बढेको विवाद समाधान गर्नुपर्नेमा पनि उनले जोड दिएका छन्।

'पार्टीको विवाद समाधानको दिशामा छ। पार्टीलाई विभाजन हुनुबाट रोक्नुपर्छ', उक्त बैठकमा सहभागी एक नेताले दाहालको भनाइ उद्धृत गर्दै भने, 'पार्टी एकता कायम राख्नुपर्ने आवश्यकता छ। पार्टीका सबै नेताहरु पनि एकताबद्ध हुन आग्रह गर्दछु।'

आफूनिकट नेताहरूसँग अध्यक्ष दाहालले व्यक्ति केन्द्रित नभएर पार्टी विधान अनुसार पद्धतिमा सञ्चालन गर्नुपर्नेमा जोड दिइएको ती नेताले बताए। 

प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबारको सचिवालय बैठकमा मंसिरमा एकता महाधिवेशन प्रस्ताव गरेपछि विवाद फरक मोडमा पुगेको छ। खुमलटारमा भएको भेलामा भोलिका लागि बोलाइएको स्थायी कमिटी बैठकका लागि रणनीतिबारे छलफल भएको स्रोतको दाबी छ।

प्रधानमन्त्री ओलीले मंसिरमा महाधिवेशन गर्ने प्रस्ताव गरेपछि दाहालको पनि सहमति भएको खबर बाहिरिएको थियो। तर, अध्यक्ष दाहालले वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खलाललाई आइतबार खुमलटार बोलाएर कुनै सहमति नभएको प्रष्टाएका थिए। अध्यक्ष दाहालसँगको छलफलपछि नेता नेपाल समूह पनि आश्‍वस्त बनेको बताइएको छ।

आइतबार आफ्नो समूहसँगको छलफलपछि अध्यक्ष दाहालले प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका थिए। साढे दुई घण्टा लामो दुई नेताको वार्ताले कुनै सहमति जुटाउन सकेको थिएन। बैठकमा दुवै नेताले पुरानै अडान कायम राख्दा समस्या झन् जटिल बनेको हो। 

पार्टीको विवादका कारण असार १० गतेबाट चलेको स्थायी कमिटी बैठक ७ पटक स्थगित भइसकेको छ। नेताहरुबीच कुरा नमिलेपछि स्थायी कमिटी साउन ६ गतेका लागि बैठक बोलाइएको छ। यसबीचमा बसेको सचिवालय बैठकमा कुरो मिलेको बताइए पनि फेरि माहोल भाँडिएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.