|

दाङ : लकडाउनका कारण विद्यालय सञ्चालन नहुँदा लाखाैं विद्यार्थी विद्यालय जानबाट वञ्चित भएका छन्। विद्यार्थीसँगै निजी विद्यालयसँग जोडिएका शिक्षक झन् मारमा परेका छन्। 
झण्डै ४ महिनासम्म शैक्षिक संस्था बन्द हुँदा निजी विद्यालयका शिक्षकको दिनचर्यामै प्रत्यक्ष असर परेको छ।

कतिपय निजी विद्यालयले शिक्षकलाई तलब दिए पनि अधिकांशले कक्षा सञ्चालन हुन नसकेको भनी पारिश्रमिक दिन सकेका छैनन्। यस्तै समस्या सुनाउँछन् तुलसीपुर सप्तरंगी स्कुलका शिक्षक प्रदीप कुमार वली। राज्यले निजी विद्यालयमा कार्यरत शिक्षकलाई सौतेनी व्यवहार गरेको उनको गुनासो छ। 

त्यस्तै अर्का शिक्षक शरद शर्मा मजगैयाँको पनि समस्या उस्तै छ । विद्यालय सञ्चालन नहुँदा धेरै समस्या भएको उनी पनि दुखेसो गर्छन्। उनले भने, ‘विद्यालय नै नखुलेपछि तलब दिने भएनन् । दैनिकी चलाउन पनि समस्या हुन थालेको छ।’ राज्यले विभिन्न क्षेत्रमा सहयोग गरे पनि निजी विद्यालयका शिक्षकलाई नहेरेको उनले गुनासो गरे ।

त्यसैगरी सम्राट बोर्डिङ स्कुल तुलसीपुरमा कार्यरत शिक्षक खिमप्रसाद भट्टराई पनि विद्यालय बन्द हुँदा बेरोजागरी भएको बताउँछन्। ‘विद्यालय बन्द  छ, अरु काम केही गरौँ भने केही व्यवसाय छैन,’ भट्टराई भन्छन्, ‘हामीलाई कतैबाट सहयोग भएन । हामी पनि भविष्यका कर्णधार बनाउने शिक्षक हौँ ।’

अर्का शिक्षक कमल भण्डारी पनि शिक्षण पेसाबाहेक अन्य नभएको बताउँछन्। ३/४ महिनादेखि तलब नपाउँदा कोठा भाडा तिर्न र दैनिकी चलाउन समस्या भएको उनको पनि गुनासो छ। 

तर लकडाउनका कारण नयाँ प्रविधि सिक्ने अवसर भने मिलेको उनले सकारात्मक प्रतिक्रिया दिए। ‘पहिला विद्यालयमा किताबबाटै कक्षामा पढाइँदैन्थ्यो,’ उनले भने, ‘तर अहिले लकडाउनका कारण विद्यालयले अनलाइन कक्षाबाट पढाउने व्यवस्था मिलाएपछि प्रविधि सिक्ने अवसर मिल्यो।’ तर यसरी बिनातलब पढाउनुपर्दा भने आफूहरु मारमा परेको उनी बताउँछन्। 

दाङमा कुल २ सय २३ वटा निजी विद्यालय छन्। तिनमा ३ हजार ५ सयभन्दा बढी शिक्षक शिक्षिका तथा कर्मचारी कार्यरत छन्। जिल्लामा निजी विद्यालयमा १ लाख २२ हजार बढी विद्यार्थीहरुले अध्ययन गर्दै आएका प्याब्सन दाङका वरिष्ठ उपाध्यक्ष मधुसुदन केसीले बताए। 

लकडाउनको यो अवधिसम्म आइपुग्दा जिल्लाका सबै शैक्षिक संस्था बन्द छन्। ‘यस्तो अवस्थामा पारिश्रमिक पाउने अवस्था नै भएन।’ सप्तरङ्गी स्कुल तुलसीपुरका प्रिन्सिपल छवि कुमार वलीले बताए।

पारिश्रमिक दिने पैसा स्कुलसँग नहुँदा शिक्षकहरुले दैनिकी चलाउन समस्या भएको वलीको भनाइ छ। शिक्षकहरु मात्र नभई लकडाउन कारण लाखौँ विद्यार्थीहरुको भविष्यमा समेत असर परेको छ। विद्यार्थीहरुमा अध्ययन गर्ने बानी हट्न थालेको कक्षा १० मा अध्ययनरत छात्रा कृति गिरीले बताइन्। ‘३ महिनासम्म अनलाइन कक्षामा बसेँ, तर त्यो प्रभावकारी भएन,’ उनी भन्छिन्।

एन प्याब्सन दाङका जिल्ला अध्यक्ष विमल गौतम भने सरकारले विद्यालय सञ्चालनका लागि विकल्प खोज्नुपर्ने बेला भएको बताए। सामाजिक दूरी कायम गरेर वा बिहान र दिउँसोको समयमा जोरबिजोर प्रणाली लागु गरेर भए पनि शैक्षिक संस्था सञ्चालन गर्नुपर्ने उनको सुझाव थियो।

सरकारले दिएको कोर्स पूरा गर्न नसकिने भएकाले नयाँ पात्रो जारी गरी बिदा कटौती गर्नुपर्ने उनको धारणा थियो। सरकार र निजी विद्यालयबीच सहमति हुन नसक्दा वैकल्पिक शिक्षण सिकाइमार्फत शैक्षिक गतिविधि चलाइरहेका निजी विद्यालयले साउन १ गतेबाट अनलाइन कक्षासमेत बन्द गरेका छन्। 

तर सामुदायिक विद्यालयतर्फ भने टेलिभिजन, रेडियो, घुम्ती कक्षाकै माध्यमबाट पढाइ भइरहेको छ। जिल्लामा ४ सय २१ वटा सामुदायिक विद्यालय सञ्चालन भएकोमा ३८ वटा मर्जर गरिएको छ। दाङका विकट तथा ग्रामीण क्षेत्रमा रेडियो ८० प्रतिशत, टेलिभिजन १६ प्रतिशत र इन्टरनेट ४ प्रतिशत पहुँच रहेको सर्वेक्षणले देखाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.