गाेरखा : तीन दिनयता लगातार परेकाे वर्षाका कारण गएको पहिरोमा पुरिएर गोरखामा एक महिलाको मृत्यु भएको छ भने तीन घर बगाएको छ। जिल्लाको गण्डकी गाउँपालिका-४ फुजेलस्थित कौदी गाउँकी ३६ वर्षीया लक्छीमाया गुरुङको घरमाथिबाट आएको पहिरोले पुर्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखामा डिएसपी बासुदेव खतिवडाले जानकारी दिए।
‘आज दिउँसो करिब करिब साढे १२ बजे गोठमा रहेका बाख्रालाई घाँस हाल्न जाँदा सो महिलासहित ९ वटा बाख्रा र गोठ पहिरोले पुरेको र महिलाको मृत्यु भएको खबर प्राप्त भएको छ। त्यहाँ अहिले गाडी जान सक्ने अवस्था छैन। तरपनि ताङ्लीचोक चौकीबाट प्रहरी टोली घटनास्थल तर्फ जाँदै हुनुहुन्छ’ डिएसपी खतिवडाले भने।
यस्तै, आरुघाट गाउँपालिका वडा नम्बर ४ मा पनि पहिरोले घर बगाएको खबर भर्खरै प्राप्त भएको डिएसपी खतिवडाले बताए । ‘त्यहाँ इप्रका आरुघाट प्रहरी टोली जाँदै हुनुहुन्छ । घटनाको थप बिवरण भने आइसकेको छैन।’
निरन्तर बर्सात र कच्ची सडकका कारण अहिलेसम्म प्रहरी घटनास्थलमा पुग्न सकेको छैन। तर, अविरल वर्षातको कारण गोरखा अजरिकोट गाउँपालिका बालुवामा पहिरोले रामबहादुर मगरको घर बगाएको छ तर कुनै मानविय क्षति भने भएको छैन।
त्यसैगरी, बारपाक सुलिकोट ४ नालपाङमा पनि पहिरोले २ घर बगाएको छ । कामी गुरुङ र उनको छोराको घर बगाएपछि उनीहरु अहिले सामुदायिक भवनको घरमा बसेका वडा अध्यक्ष भीमबहादुर गुरुङले बताएका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।