उनी भन्छन् : पहिले नै कुरा भएको हो, अहिले हल्ला भयो

|

काठमाडौं : राप्रपा संयुक्तका नेता सुनिल बहादुर थापा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसमा प्रवेश गर्ने चर्चाले दुवै पार्टीमा खैलाबैला मच्चिएको छ। नेपाली कांग्रेसकी नेतृ तथा सभापति शेरबहादुर देउवा पत्नी डा.आरजु राणाकै पहलमा थापालाई कांग्रेसमा ल्याउन लागिएको हल्ला पनि कांग्रेसमा चलेको छ। 

‘पहिले बाहिर मात्रै हल्ला थियो। अहिले पार्टीमा पनि हल्ला छ,’ कांग्रेस केन्द्रीय कार्यसमितिका देउवानिकट एक पदाधिकारीले भने, ‘सभापतिज्युले पार्टीमा यसबारे कुनै छलफल गर्नु भएको छैन। आरजु दिदीले उहाँलाई पार्टीमा ल्याउन बल गर्नु भएको हो भन्‍ने सुन्‍न आएको छ।’  

पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरासमेत रहेका थापालाई नेकपा (पुर्व एमाले) को गढ मानिँदै आएको धनकुटामा आफ्नो पकड बनाउने उद्देश्यले थापालाई कांग्रेसमा ल्याउन देउवा मन्जुर भएकोसम्म थाहा भएको छ ती केन्द्रीय सदस्यले भने। 

कांग्रेस सभापति देउवा प्रधानमन्त्री हुँदा वाणिज्य तथा आपूर्ति मन्त्री थापालाई पार्टीमा ल्याएर १४ औँ महाधिवेशनमा सहमहामन्त्री बनाउने दाउमा देउवा रहेको स्रोतको भनाई छ।

‘अहिले सहमहामन्त्री बनाउन मिल्ने कुरै भएन,’ उनले भने, ‘१४ औँ महाधिवेशनमा संसोधन विधान कार्यान्वयन गरेर थापालाई सहमहामन्त्री बनाउन लागेको भन्ने सुनिएको छ।’ यसअघि गत माघमा पनि उनै थापा कांग्रेसमा आउने हल्ला चलेको थियो। त्यसबेला थापाले महामन्त्री पद मागेका थिए। पार्टीमा विरोध भएपछि देउवा ब्याक भएका थिए।

कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महत भने देउवाले यसबारे पार्टीमा छलफल नगरेको बताउँछन्। ‘खै! यसबारे सभापतिज्युले केही भन्‍नुभएको छैन,’ देउवानिकट नेता महत भन्छन्, ‘उहाँहरूबीच मात्रै कुरा भएको भए चाहिँ थाहा भएन।’  

यता राप्रपाका नेता थापा पनि यो घटना धेरै पहिलेको भएको बताउँछन्। ‘यी सबै पुराना कुरा हुन्, यी कुरा हाम्रो पार्टीको एकीकरण हुनुभन्दा अघिका हुन्,’ थापाले थाहाखबरसँग भने। 

धनकुटामा चुनाव जित्न कांग्रेसतिर लाग्‍न खोज्‍नु भएको हल्ला छ नि भन्‍ने प्रश्‍नमा उनले भने,‘चुनाव जित्‍नु हार्नु आफ्नो ठाउँमा छ। आगामी दिनमा धनकुटामा चुनाव जित्‍न कांग्रेसमा नै जानुपर्छ भन्‍ने छैन।’ 

उनले यस्तो हल्ला समय समयमा आइरहने बताए। ‘कुन चाहिँले गर्याे यो 'टाइम टाइम'मा आउँछ,’ उनी भन्छन्, ‘म आफैंले भनेको छैन। मैले भनेँ भने त कांग्रेसमा गइहाल्छु नि।’ पछिल्लो समय राप्रपा संयुक्तका नेताहरुले गरेको विभिन्‍न निर्णयमा पनि थापाले असहमति जनाउँदै आएका छन्। उनी असहमत भएको कुरा बाहिरिएसँगै कांग्रेसमा जाने चर्चा चलेको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.