|

म्याग्दी : जिल्लाबाट सोमबार थप १४ जना कोरोनालाई जितेर घर फर्किएका छन्। उनीहरुलाई आज आइसोलेसन कक्षबाट बिदाइ गरिएको छ। सोमबार कोरोना जितेर घर फर्किनेहरूमा सबै पुरुष छन्।

कतार, कुवेत र भारतबाट फर्केर उनीहरु बेनीको क्‍वारेन्टाइनमा बसेका थिए। पछि बेनीको शैक्षिक तालिम केन्द्रमा रहेको आइसोलेसन अस्पतालबाट उनीहरुलाई आज डिस्चार्ज गरिएको हो। कोरोनामुक्त भएपछि सबै प्रसन्न हुँदै घर लागेका छन्। 

डिस्चार्ज हुनेहरुमा सबैभन्दा धेरै कुवेतबाट आएका नौ जना, भारतबाट आएका तीन जना र कतारबाट आएका दुई जना रहेका स्वास्थ्य कार्यालयका निमित्त प्रमुख एकनारायण लम्सालले जानकारी दिए। 

जिल्लामा हालसम्म ४० जनामा कोरोना पोजेटिभ पुष्टि भएकोमा ३४ जना निको भएर घर फर्किएका छन्। बेनीको आइसोलेसनमा अहिले ६ जना मात्र छन्। डिस्चार्ज हुनेहरुमा मंगला गाउँपालिका १ कुहुँका ३५ वर्षीय पुरुष, मंगला २ हिदीका २३ वर्षीय पुरुष, रघुगंगा गाउँपालिका ३ राखुपिप्लेका ३० वर्षीय र ४७ वर्षीय पुरुष तथा रघुगंगा ६ पाखापानीका २८ वर्षीय पुरुष छन्।

यसैगरी मालिका गाउँपालिका १ निस्कोटका ३३ वर्षीय पुरुष, मलिका २ रुम र मालिका ३ रुम (डाँडागाउँ) का २५ र ४८ वर्षीय पुरुष, मालिका ५ देवीस्थानका २९ वर्षीय पुरुष तथा मालिका ७ बिमका २६ वर्षीय पुरुष रहेका स्वास्थ्य कार्यालयका निमित्त प्रमुख लम्सालले जानकारी दिए।

त्यस्तै बेनी नगरपालिका १ रत्नेचौरका १८ वर्षीय पुरुष, बेनी ४ सिंगाका २८ र ३० वर्षीय पुरुष एवं अन्नपूर्ण गाउँपालिका ६ घारका ३० वर्षीय पुरुष डिस्चार्ज भएका छन्। उनीहरुलाई म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल र बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवाल, रेडक्रसकर्मी तथा कोभिड १९ का कमाण्ड पोस्ट सदस्य सुरज केसी र स्वास्थ्यकर्मीले खादा ओढाएर बिदाइ गरेका हुन्।

म्याग्दीबाट अहिलेसम्म ६ सय ५६ वटा नमुना सङ्कलन गरी पठाइएकोमा ६ सय १५ वटा नमुनाको रिपोर्ट आउँदा पाँच सय ६३ वटा नमुनाको रिपोर्ट नेगेटिभ आएको छ। संक्रमितको दोस्रो, तेस्रोसहित ५१ वटा नमुनाको रिपोर्ट पोजिटिभ र एउटा नमुना ‘इरर’ आएकोमा ४१ वटा नमुनाको रिपोर्ट आउन बाँकी छ।

आज कोरोनामुक्त भएका १४ जनालाई बिदाइ गर्दै प्रजिअ ढकालले आइसोलेसन अस्पतालबाट घर फर्किए पनि कम्तीमा एक हप्तासम्म आवश्यक सुरक्षा सावधानी अपनाएर होम क्‍वारेन्टाइनमा बस्न सुझाव दिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.