|

बारा (सिमरा) : आन्तरिक विवादका कारण बाराको जितपुरसिमरा,कोहल्वी र बारागढी गाउँपालिकाका नगरसभा अनिश्चित भएको छ।

असार १० गतेभित्र नगरसभाबाट स्थानीयतहले नीति तथा कार्यकम्र प्रस्तुत गरी असार २० गतेभित्र पारित गरिसक्नुपर्ने कानुनी व्यवस्था छ। बाराका १६ वटा स्थानीय तहहरूमध्ये जितपुरसिमरा उपमहानगर, कोहल्वी नगरपालिका र बारागढी गाउँपालिकामा आन्तरिक विवादका कारण नगरसभा अनिश्चित बन्दै गएको हो।

कोहल्वी नगरपालिकाका प्रशासकीय प्रमुख हरिशरण श्रेष्ठले नगरसभा सुरू भएपनि आन्तरिक विवादका कारण नीति तथा कार्यक्रम पारित हुन नसकेको बताए। ‘नगर सभा जति ढिलो हुन्छ, त्यति नै समस्या बढ्दै जान्छ, समयमै बजेट पारित नहुँदा नगरपालिकाको आर्थिक गतिविधि, नयाँ आर्थिक वर्षको राजस्व संकलन ठप्प हुन्छ भने नगरपालिकाले आकस्मिक खर्च समेत गर्न पाउँदैनन्‌,’ श्रेष्ठले भने।

सत्तारूढ नेकपाको बहुमत रहेको जितपुरसिमरा उपमहानगरपालिकामा झनै ठुलो विवाद छ। चालु आर्थिक वर्ष ०७६/०७७ को सम्पूर्ण हिसाबकिताब सार्वजनिक गर्नुपर्ने र नगरपालिकाअन्तर्गत राख्ने बजेटको मात्रा घटाएर वडामा बढाउने माग गरेपछि नगर सभा नै अनिश्चित भएको हो।

‘हामीकहाँ  कार्यपालिका बैठक बस्न नसकेको २ महिना भयो, अहिलेसम्म नगरपालिकाको नीति तथा कार्यक्रमको विषयमा छलफल भएको छैन,’ जितपुरसिमरा उपमहानगर वडा नं ७ का वडाध्यक्ष रामबाबु गुप्ताले भने, ‘मेयर साब ​दुई हप्तादेखि कार्यालयमा देखिनुभएको छैन, हामीसँग उहाँको सम्पर्क छैन।’

जितपुरसिमरा उपमहानगरपालिकाका प्रमुख र उपप्रमुखसहित वडाहरूमा पनि नेकपाकै बहुमत रहेपनि पार्टीभित्रै जनप्रतिनिधिबीच चर्को विवाद छ। वडाध्यक्ष गुप्ताले नगरप्रमुखले आफुसँगै कार्यपालिकाका सबै सदस्यलाई डुबाएका आरोप लगाएका छन्। 

जितपुरसिमरा उपमहानगरमा नगरस्तरीय बजेट खर्च ३० प्रतिशत पनि नभएको भन्दै वडामा बजेट बढी हुनुपर्नेमा मेयर र उपमेयरले आफू अनुकूलको काममा खर्च गरेको र बजेट दुरुपयोग समेत भएको वडाध्यक्षहरूले आरोप लगाएका छन्। बारागढी गाउँपालिकामा भने अध्यक्ष, उपाध्यक्ष र प्रशासकीय अधिकृतबीच निम्तिएको विवादका कारण नगर सभा हुन नसकेको बताइएको छ।

बजेट पूर्व तयारी र बाँडफाँटमा विवाद हुँदा तोकिएको समयमा नगर सभा हुन नसकेको हो। नगरस्तरीय बजेटमा आर्थिक अनियमितता, प्रमुख र उपप्रमुखले आफ्ना मान्छेलाई काम दिने विषय, अपारदर्शी हिसाबकिताब, योजनामा अनियमितता लगायतका विषय उठेपछि ३ वटै पालिकाका नगर सभा अनिश्चित बनेको बताइएको छ।

बारागढी गाउँपालिकाका प्रमुख देवदक्त बछार थारुले साउन १५ गतेभित्र गाउँसभा गर्ने बताए। ‘पुरानो योजनाहरू सल्टाउनुपर्ने समस्या भएर हो , हामीबीच कुनै विवाद छैन।’

बाराको १६ ओटै स्थानीय तहमा नगरप्रमुख र उपप्रमुखबीच नियम विपरित आफु अनुकुल बजेट खर्च, सेवा सुविधा र अधिकार प्रयोगमा बढी होडबाजी हुने गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.