|

म्याग्दी : म्याग्दीको अन्न भण्डारको रुपमा परिचित रत्नेचौरको तल्लो र माथिल्लो दुवै फाँटमा रोपाइँ सकिएको छ। केही खेतमा लगाइएका धानमा हरियो फर्किसकेको छ भने केही भर्खर रोपिएका छन्।

बेनी नगरपालिका–१ मा पर्ने रत्नेचौर प्राकृतिक सुन्दरता, जैविक विविधता र कृषि उर्वरताको दृष्टिकोणले जिल्लामा मात्रै होइन गण्डकी प्रदेशमा नै चर्चित पनि छ। रत्नेचौरलाई यहाँका स्थानीयले कृषि पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने अवधारणा अघि सारेका छन्। स्थानीयको चाहनालाई प्रदेश सरकार र बेनी नगरपालिकाले पनि सघाउने भएको छ।

रोपाइँपछि हुने हरियो फाँट, कात्तिक–मंसिरमा पहेंलपुर भएर धान झुलेका स्वर्णिम फाँट, उत्तरतर्फ मुसुक्क मुस्कुराए जस्ता देखिने धौलागिरि, नीलगिरिलगाएतको हिमालका पंक्ति अनि चैत बैशाखमा तोरी झुल्दा देखिने अवर्णनीय सौन्दर्यलाई अवलोकन गर्न, रमाउन र तस्वीर खिचाउन यहाँ आन्तरिक तथा बाह्य पर्यटकहरु आउने गरेका छन्।

उत्तरतर्फ बेनी, गलेश्वरसँगै देखिने हिमश्रृङ्खला, पूर्वतर्फ कालीगण्डकी नदी र त्यसको पारि देखिने पर्वतका विभिन्न सुन्दर गाउँहरु, दक्षिणतर्फ पञ्चकोट, बाग्लुङ र फेदीको रंग बेङ्कटेश मन्दिर, ढोडेनी खोला र पश्चिमतर्फ ऐतिहासिक ज्यामरुककोट र अर्जम यहाँबाट स्पष्टरुपमा देख्न सकिन्छ।

यतिबेला रत्नेचौरमा गौरिया, जेठोबूढो, गुडुरा, ताकमारेजस्ता स्थानीय जातका धानका साथै माछापुच्छ्रे ३, लुम्ले २ जस्ता हाइव्रिड जातका धान रोपिएको छ। जिल्लाको कुल खेतीयोग्य जमिन ३० हजार ८ ५६ हेक्टरमध्ये १९ हजार ४ ९८ हेक्टरमा मात्रै खेती गर्ने गरिएको छ भने ३ हजार ८९८ हेक्टरमा धान खेती हुँदै आएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.