|

बागलुङ : बडिगाड गाउँपालिकाको खालदेखि नजिकैको गाउँ पुग्ने सडक पहिरिँदा गत वर्ष एउटा घर पुरेको थियो। यो वर्ष साविकमा भन्दा बढी पानी परेपछि दर्जन घर जोखिममा परेको छ। जतासुकै पहिरो खसेका छन्। जतिबेला पनि घरमा क्षति पुग्न सक्छ। 

घर मात्र होइन, यसरी जताततै खसेका पहिरोले सडक नै खोला जस्तो बनाएको छ। सडक छेउका घरमा माथिबाट खसेका ढुंगा र माटोको गग्य्रानले जोखिम बढाएको छ। भीमगिठ्ठे नजिकै खसेको पहिरोले मध्यपहाडी लोकमार्गमा सवारीसाधन चलाउनै नसक्ने अवस्था बनेको छ।सबै पहिराहरू शाखा सडक निर्माणको क्रममा खसेका हुन्। बिना योजना र बिना नापजाँच खनिएका ती सडकले राजमार्ग मात्र नभई धेरै गाउँबस्तीमा समेत जोखिम निम्त्याएको छ। 

जलजला र रणसिंकिटेनीसम्म पुग्ने सडकमा अघिल्लो वर्ष २ करोड रुपैयाँ लगानी गरिएकोमा गत आर्थिक वर्षको असार मसान्तअघि पनि १ करोड रुपैयाँ खर्च भएको छ। बर्खा लागेपछि यहाँ सवारीसाधन गुडेका छैनन्। बरु दैनिक पहिरो खसेर सडक अवरुद्ध भएका कारण गाउँगाउँ पुग्नेले पैदल यात्रा गर्नुपर्ने बाध्यता छ। गाउँपालिकाको एक मात्र गौरबको आयोजना भएकोले गत वर्ष २ करोड, त्यस अघिका वर्षमा पनि यस सडकमा वार्षिक एक करोड रुपैयाँका दरले खर्च गरिएको थियो। दशकअघि नै ट्रयाक खुलेकाले मर्मत र चौडा पार्न मात्र उक्त बजेट खर्च भएको हो। यहाँका अन्य ग्रामीण सडक पनि अहिले ठप्प छन्।

‘लकडाउनको समय भएपनि सडकले बस्ती छुनुपर्छ भनेर काम लगाइयो, अहिले अधिकांश स्थानमा पहिरो खसेर हैरान बनाएको छ,’ गाउँपालिका अध्यक्ष मेहरसिंह पाइजाले भने, ‘धेरै बजेट सडक मर्मतमा खर्चेर सकिएको छ, हामीलाई भूगोलले साथ नदिँदा धेरै खर्च ब्यहोर्नुपर्छ।’ झण्डै २५ किमी ट्रयाक खुलिसकेको यो सडकमा वर्षेनी गरेको लगानी बग्ने गरेको छ।

सुख्खा समयमा सामान्य जस्तो लाग्ने यो सडक वर्षातमा क्षत-विक्षत हुने गरेको छ। सडकबाट बगेर आउने बाढीले मध्यपहाडी लोकमार्ग पनि पटक-पटक अवरुद्ध पार्‍ने गर्छ। यसो हुँदा सडक निर्माण र मर्मतमा खर्च बढिरहेको छ। माथिल्ला घुम्तीबाट खस्ने पहिरोले तल्ला घुम्तीहरू भत्काएको छ।

सडकमा नाली नकाटेको र रिटेनिङ पर्खाल नभएकोले वर्षेनी यो जोखिम मोल्नुपरेको पाइजा बताउँछन्‌। ‘कसरी सुरक्षित बनाउने भनेर केही स्थनमा संरचना बनाएका पनि छौं, तर भूगोलको कठिनाइले बर्खामा सधैं सास्ती भैरहेको छ,’ उनले भने, ‘घुम्ती सुधार गर्ने र पानीको निकास दिगो बनाउने योजना पुरा नहुँदा सास्ती बढेको हो।’ केही खण्डमा पक्की नाली बनाएर पानी तर्काउन थालेको उनले बताए। सिंगो सडक तयार पार्न गाउँपालिकाको बजेट पर्याप्त नरहेको र प्रदेश तथा संघीय बजेटको खोजी भएपनि पाउन नसकेको उनले गुनासो गरे।

असार लागेपछि अध्यक्षले आफ्नै घर पुग्न पनि जीप चढ्न पाएका छैनन्। पैदलै जानुपर्दा उनकै घर पुग्न तीन घण्टा लाग्छ। तत्कालीन जिविसले पनि वर्षेनी यो सडकमा लगानी गर्ने गरेको थियो। अहिले पनि गाउँपालिकाको सबैभन्दा धेरै बजेट यही सडकमा लगानी भैरहेको छ। तर ग्रेड नमिलेको, साँघुरा घुम्ती र भीरैभीरको बाटो भएकोले जोखिम मोल्नु परेको स्थानीयबासी बताउँछन्‌।

​सडकमा हिँड्नेलाई मात्र होइन, ग्वालीचौरका अधिकांश बस्तीमा पनि यो सडकका कारण जोखिम बढीरहेको छ। ‘धेरै पानी परेका बेला माथिबाट पहिरो खस्छ कि भनेर डराउनुपर्छ,’ स्थानीय होटल व्यवसायी ज्ञानेन्द्र गलाल भन्छन्‌, ‘पहिरो खस्यो भने बस्ती सखाप पार्छ।’ केही वर्ष अघि पनि यहाँ पहिरो खसेर दर्जनौ घर पुरिएका थिए। धेरै मानिसको ज्यान गएको थियो। ‘सडकको ट्रयाक खुलेदेखि अहिलेसम्म कति करोड खर्च भयो भन्ने लेखाजोखा छैन, तर लगानीको उपलब्धी पनि देखिएको छैन,’ जलजलाका भूपाल श्रीषले भने, ‘गाउँपालिकाको काममा जाँदा सधैं सास्ती छ, पैदल गएपनि घण्टौंसम्म हिँड्नुपर्छ, सडकले पैदल बाटोपनि बिग्रेका छन्।’

गाउँपालिकाको मुख्य सडक भएकोले जलजला र ग्वालीचौरको केही खण्ड, रणसिंकिटेनी र सिसाखानीसम्म पुग्न यही सडक भएर यात्रा गर्नुपर्छ। अति आवस्यक काम नभएसम्म बजार झर्न पनि स्थानीय डराउने गरेको श्रीषले बताए। स्थानीयले वर्षातमा नुन, तेल र खाद्यान्न चाहिएमा पिठ्युँमै बोक्न बाध्य छन्। यो सडकमा यात्रा गर्दा गर्भवती महिला, बुढा-बुढी र बिरामीले सबैभन्दा धेरै सास्ती खेप्‍ने गरेको रणसिंकिटेनीकी माया बलालले बताइन्‌। ‘हामी त बजार झरेर बसेका छौं, गाउँमा बसेकाले बर्खामा निकै दुःख पाउँछन्, म ती दु:ख मुखले बताउनै सक्दिनँ,' बलालले भनिन्, ‘कम्तिमा एउटा सडक राम्रो भैदिए स्वास्थ्य उपचार र खाद्यान्न ढुवानीमा सहज हुन्थ्यो।’

सडक हुँदै बग्ने भेलबाढी पसेर वर्षेनी खेतीपाती पनि विनाश गर्ने गरेको स्थानीयबासी बताउँछन्‌। हरेक वर्ष डोजर लगाउने प्रवृत्ति अन्त्य गरेर पक्की संरचना बनाउने भनेपनि साना घुम्ती भएकोले चौडा पार्न खोज्दा पहिरोको समस्या बल्झेको उपाध्यक्ष अमरबहादुर श्रीषले बताए। ‘सडकमा बढी संरचना बनाउने लक्ष्य राखेकाले तुलनात्मक कम क्षति छ,’ उनले भने, ‘तर जोखिम भने घटेको छैन।’ अधिकांश सडकमा डोजर लगाएर खन्ने क्रम कम गर्नुपर्ने उनले बताए। सडक योजनामा बजेट परिचालन गर्दा रिटेनिङ पर्खाल, नाली र कजवे सँगै डिजाइन गरेर मात्र खन्नुपर्ने उनले बताए। 

गाउँपालिकाले वडा नं. ८ को भेडिखोर र किटेनी सहित पुरानोगाउँसम्म सडक लैजान अझै लगानी गरिरहेको छ। सडकको ट्रयाक पुरा नहुँदै क्षति बढिरहेकोले संरक्षणका योजना पनि सँगै ल्याउन स्थानीयले सुझाव पनि दिएको श्रीषले बताए। केही दिनदेखिको वर्षातले सिगानादेखि बरेङ हुँदै गुल्मी जोड्ने सडक, मालढुंगादेखि भैरवस्थान जाने सडक, कुश्मीसेरादेखि बरेङ जाने र अन्य धेरै ग्रामीण सडकमा पनि दर्जनौ पहिरो जाँदा जनजीवन सास्ती बनाएको छ।

ती सडकमा गरिएको लगानी सदुपयोग नभएपछि हैरानी खेप्नुपरेको स्थानीय बुझाइ छ। ‘असारको झरी सुरु भएपछि सडक खन्न थालिन्छ, पानी परेपछि बगिहाल्छ,’ जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुंगानाले भने, ‘स्थानीय तहको बजेटमा बन्ने सडक हिउँदमा बनाउन सकेमा रकम पनि बच्ने, पहिरो पनि थामिने हुन्छ।’ केन्द्र सरकारको झैं बजेट कुरेर बस्ने भए स्थानीय सरकारको औचित्य नभएको उनले टिप्पणी गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.