|
नारायणगढ–मुग्लिन सडक खण्डमा गएकाे पहिराे । तस्बिर : आयोजनाको फेसबुकबाट

काठमाडौं : नारायणगढ–मुग्लिन सडक खण्डमा हरेक वर्ष एक दर्जनभन्दा धेरै ठाउँमा पहिरो खस्ने गरेको छ। नारायणगढ–मुग्लिन सडक नेपालकै नमुना सडक पनि हो। तर, यही सडक खण्डमा किन धेरै पहिरो खसेर अवरुद्ध हुने गर्छ त? यसबारे हामीले केही खोजी गरेका छौँ।

उक्त सडक खण्डमा हिउँदमा सुख्खा पहिरो र बर्खामा पानीले जमिन गलेर पनि ठूला ठूला पहिरो जाने गरेको छ। यस सडक खण्डमा अत्यधिक पहिरो गएपछि नारायणगढ–मुग्लिन सडक परियोजनाले (स्लोप स्ट्रिमिङ) को काम पनि गरेको छ। तर, पनि पहिरो रोकिएको छैन। सडक आयोजनाले पहिरो रोकथामको लागि सडकबाट १३५  मिटर माथिको भिरमा जाली विच्छ्याएको छ। 

कहाँ कहाँ जान्छ धेरै पहिरो?

तुइन खोला 

तुइन खोला पहिरो नारायणगढ–मुग्लिन सडक निर्माण गर्दा गरिएको अध्ययनमा पनि सम्भावित पहिरो जाने ठाउँमा नपरेको ठाउँ हो। यहाँ गत वर्षको माघ २१ गते राती ९ बजे तुइन खोला नजिकै सुख्खा पहिरो गयो। त्यसयता सोही ठाउँबाट साना ठूला पहिरो खस्ने गरेको छ र यातायात अवरुद्ध हुने गरेको छ। 

४ किलो, १७ किलो, २६ किलो, २७ किलो

नारायणगढ–मुग्लिन सडक खण्डको अर्काे धेरै पहिरो ठाउँ हो ४ किलो, १७ किलो र २६ किलो। यस ठाउँको सडक नै भासिएपछि सडक आयोजनाले भासिएको सडक पुनःस्थापनाको काम गर्यो । तर,अहिले सोही ठाउँमा पहिरो जानेक्रम भने रोकिएको छैन। २७ किलोको भूगोल कमजोर रहेकोले धेरै पहिरो जाने गरेको छ। चार किलोमा हिजो (साउन ६) मात्रै पहिरो झरेकोले सडक अवरुद्ध भएको थियो। करिब ५ घण्टा पछि मात्रै त्यहाँको पहरो पन्छाइएको थियो। 

घुमाउने र टोपे खोलाको पहिरो 

२०७५ साल साउन २० गते घुमाउनेमा ठूलो पहिरो खसेको थियो। त्यसभन्दा पहिले त्यहाँ सानो सानो पहिरो खसे पनि त्यसयता त्यहाँको पहिरोले सडक अवरुद्ध पार्दै आएको छ।  त्यस्तै टोपे खोला पहिरोले पनि नारायणगढ–मुग्लिन सडक खण्डमा बेला बेला दु:ख दिँदै आएको छ। त्यस्तै गाईघाटको पहिरोले पनि यस सडक खण्डमा दुख दिँदै आइरहेको छ। टोपे खोला क्षेत्रको भूवनावट कमजोर भएको आयोजनाले बताउँदै आएको छ।

कालीखोला पहिरो 

नारायणगढ–मुग्लिन सडक खण्डमा यात्रुले धेरै हैरानी बेहोरेको पहिरो हो कालीखोलाको पहिरो। यसले अहिले पनि मानिसहरुलाई दुख दिँदै आइरहेको छ। 

नारायणगढ-मुग्लिन सडक खण्डमा किन जान्छ पहिरो? 

भूगोल कमजोर खालको भएकोले पनि नारायणगढ–मुग्लिन सडक खण्डमा पहिरो झरिरहन्छ। त्यस्तै सडकको क्षमताभन्दा ठूला सवारी गुडेकोले पनि जमिन थर्किएर पहिरो जाने गरेको छ। सडक निर्माण गर्दा प्रयोग हुने डोजर तथा अन्य सामग्रीहरुको कम्पनले पनि कमजोर भूगोल रहेको नारायणगढ–मुग्लिन सडक खण्डको जमिन भासिने गरेको छ। भूगोल नै कमजोर भएकोले २७ किलोमा धेरै पहिरो खसिरहन्छ। २७ किलो, भालु ढुंगा, चाारकिलो, टोपेखोला, जलबिरे खण्डमा पहिरो गइरहन्छ। 

नारायणगढ–मुग्लिन सडक खण्डका इञ्जिनियर विनोद तिवारीका अनुसार पहाडी भूगोलका ठूला चट्टानहरू घामको ताप र पानीको ओस परेसँगै फुट्ने हुँदा पहिरो धेरै गएको बताउँछन्। ‘पहाडी भूभाग हो ठूला ठूला चट्टानहरू छन्,’ उनले भने, ‘बर्खामा पानीले भिज्छ घाम लागेपछि तातेर आफैँ फुट्न थाल्छ यहाँ पनि त्यस्तै भएको हो।’

उनले नारायणगढ–मुग्लिन सडक खण्डमा कतै कतै सडक भासिनुको कारण भने क्षमताभन्दा बढीको सवारी साधन गुड्नु, सडक निर्माण गर्दा प्रयोग भएको मेसिनहरूको कम्पनले थर्किनुलाई मानेका छन्। ‘ठाउँ ठाउँमा सडक भासिनुको कारण भने क्षमताभन्दा धेरै ठूला गाडी गुडेकोले पनि यहाँ सडक भासिएको छ,’ उनले भने, ‘त्यसो त यहाँ सडक खन्दादेखि प्रयोग हुँदै आएको मेसिनहरूको थर्काइले पनि भासिएको हो।’  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.