पार्टीमा त्याग गर्ने नेता त पाउनै मुस्किल भइसक्यो

|

नेपाल कम्युनिष्ट पार्टी संस्थापक नेता हुन् पुष्पलाल श्रेष्ठ। उनको जन्म वि.सं. १९८१ असार १५ गते पूर्व २ नं. रामेछाप भयो। वि.सं. १९९८ सालमा पुष्पलाल श्रेष्ठले प्रेम बहादुर कंसाकार, शम्भुराम श्रेष्ठ, सूर्यबहादुर भारद्वाज र राजारामसँग मिलेर नेपाली प्रजातान्त्रिक संघ गठन गरेका थिए। संघले राणाशासनको विरोध गर्ने, विद्यालय खोल्ने र भारतमा पनि राणा विरोधी क्रियाकलाप बढाउने काम गर्‍यो। पुष्पलालले वि.सं. १९९७ साल पछि केही समय बन्दी जीवनसमेत बिताए।

वि.सं. २००४ सालमा टंकप्रसाद आचार्य र रामहरि शर्मा नेतृत्वको नेपाली राष्ट्रिय कांग्रेसले नागरिक अधिकारका लागि गरेको आन्दोलनमा पुष्पलाल श्रेष्ठ, शम्भुराम श्रेष्ठ, स्नेह लता श्रेष्ठ, सहाना प्रधान आदि सहभागी भए। जनताद्वारा गरिएको यही पहिलो जनआन्दोलनका कारण पद्‍म शमशेरले सुधारका कदम चाल्ने घोषणा गरेका थिए। पछि मार्क्‍सवाद, लेनिनवादलाई सर्वोत्तम विचारधारा ठानेर २००६ सालमा कलकत्ता पुगेका पुष्पलालले नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरे। २००७ सालको परिवर्तनपछि नेकपालाई नेपाली कांग्रेसको सरकारले चार वर्ष प्रतिबन्धसमेत लगायो। त्यो प्रतिबन्ध २०१२ सालमा खुल्यो। २०१५ सालमा नेकपाले आमनिर्वाचनमा भाग लिएर ४ स्थानमा जित पनि निकाल्यो।

२०१७ साल पुस १ गतेको कालो काण्डपछि भूमिगत र निर्वासित जीवन बिताउन बाध्य पुष्पलालले चारैतिर छरिएका कम्युनिष्टलाई भेला गराई तेस्रो महाधिवेशन गराए। नेपाली कांग्रेस र कम्युनिष्ट मिलेर संघर्ष गरेमा मात्रै नेपालबाट निर्दलीय पञ्चायती व्यवस्था समाप्त गर्न सक्ने उनको लक्ष्य थियो। यसमा नेपाली कांग्रेस सहमत भएन। २०३५ साल साउन ७ गते भारतको नयाँ दिल्लीस्थित अल इण्डिया मेडिकल इन्स्टिच्युटमा उपचार गराउँदा गराउँदै निधन भएको थियो।

उनीसँग सहकार्य गरेका एकजना नेता हुन् मोदनाथ प्रश्रित। हाल राजनीतिबाट विश्राम लिएर बसिरहेका वरिष्ठ साहित्यकारसमेत रहेका प्रश्रितसँग पुष्पलालसँगका अनेक स्मरण छन्।पुष्पलालको स्मृति दिवसको अवसरमा पुराना कम्युनिष्ट नेता तथा साहित्यकार मोदनाथ प्रश्रितसँग थाहाकर्मी रमेश पराजुलीले गरेको कुराकानी :

अहिलेको सन्दर्भमा हामीले पुष्पलाल श्रेष्ठलाई कसरी सम्झन सक्छौँ?

पुष्पलाल नेपाली राजनीतिक आन्दोलनको क्रममा सम्झनै पर्ने नाम हो। राजनीतिक आन्दोलनमा बिपी कोइराला, पुष्पलाल, मदन भण्डारी र मनमोहन अधिकारीले धेरै योगदान दिनुभएको छ। त्यसैले अहिले कम्युनिष्ट सरकार भएको बेलामा झन् कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाललाई सबैले सम्झनुपर्छ। अहिलेका सबै कम्युनिष्टहरू उहाँले देखाउनुभएको बाटोमा नै हिँडिरहेका छन्।

लामो समय सँगै काम पनि गर्नुभयो। पुष्पलालमा कस्ता विशेषता थिए?

पुष्पलाल नेपालमा मार्क्सवादी आन्दोलन र कम्युनिष्ट पार्टीका संस्थापक हुनुहुन्छ। उहाँ सबै कम्युनिष्टहरुको अगुवा नेताका रुपमा रहनुभयो। मेरो पनि उहाँ अगुवा नेता नै हुनुहुन्थ्यो। उहाँले कहिल्यै पनि सरकारसँग पैसा र अन्य आर्थिक लेनदेनका लागि हात थाप्‍न जानुभएन।

जहिले पनि पार्टीको विचारधारा र पार्टी आन्दोलनमै केन्द्रित हुनुभयो। राजनीतिक आन्दोलनकै क्रममा उहाँले घरबार समेत छाडेर भारतको बनारसमा बस्‍नु भयो। त्यहाँबाट जन-सांस्कृतिक मञ्चमार्फत कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउनुभयो। कम्युनिष्ट पार्टीलाई अगाडि बढाउन आफ्नो पूरा जीवन बिताउनुभयो। मैले भन्‍नुपर्दा उहाँलाई त्यागले भरिपूर्ण नेताको रुपमा चिन्छु।  

अनि, उहाँको कमजोरी नि!

मान्छे भएपछि केही न केही कमजोरी त भइहाल्छ। तर, उहाँले कम्युनिष्ट आन्दोलनको विपरीत कुनै काम गर्नुभयो जस्तो लाग्दैन। नेपालमा राजा महेन्द्रले पञ्‍चायत लादेर कम्युनिष्ट आन्दोलन अगाडि बढाउन दिएनन्। पञ्‍चायतले प्रतिबन्ध लगाएपछि उहाँ बनारस जानुभएको हो। त्यहाँबाटै नेपालको कम्युनिष्ट आन्दोलन अघि बढाउनुभयो। आफू मात्रै नभएर उहाँले अरू साथीहरूलाई पनि बनारस लानुभयो।

मलाई पनि लानुभएको थियो। हामीले सबै बनारसबाट जन-सांस्कृतिक कार्यक्रम अगाडि बढाएका थियौँ। उहाँले बोलाएर बनारस गएपछि मैले पनि जन-सांस्कृतिक आन्दोलनको मोर्चा सम्हालेको थिएँ। भारतको बनारसमा बस्दा हामीलाई खान लाउनसमेत समस्या परेको थियो। तर, उहाँले आफ्नो आन्दोलनको विचारधाराभन्दा बाहिर गएर केही नराम्रो र गलत निर्णय गर्नुभएन।

आफ्नो सम्पूर्ण जीवन कम्युनिष्ट आन्दोलनमा लगाउनुभएको उहाँको प्रमुख उद्देश्य जनवाद स्थापना नै थियो। नेपाली कांग्रेस र कम्युनिष्ट एक भएर राजतन्त्र हटाउने लक्ष्य राख्नुभएको थियो। बनारसमा पनि भारतकी तत्कालीन भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीको अवरोधपछि बीपी कोइराला, गणेशमान सिंह लगायतका नेताहरू नेपाल फर्केका थिए। तर, उहाँले आफ्ना योजनामा विचलित नभई बनारसबाटै आन्दोलन जारी राख्नुभयो। 

पुष्पलालले लिएको नीति र मदन भण्डारीको जबजमा फरक के छ?

पुष्पलालले लिएको नीति भनेको वामपन्थी, मार्क्सवादी लेनिनवादी दृष्टिको हो। तर, मदन भण्डारीले सामूहिक रूपमा ल्याउनुभएको जनताको बहुदलीय जनवादले पहिले पनि अरू पार्टीसँग प्रतिस्पर्धा गरेरै जाने कुरा गरेको थियो। पुष्पलालको मार्क्सवादी दृष्टिकोणबाट प्रभावित भए पनि मदन भण्डारीको बहुदलीय जनवाद एक कदम अगाडि बढेर ल्याएको देखिन्छ। जनताको बहुदलीय जनवादले प्रतिस्पर्धालाई स्वीकार गर्छ। र, त्यसकै माध्यमबाट लक्षमा पुग्‍ने सकिन्छ भन्‍ने विश्‍वास राख्छ।   

नेपालको सामाजिक सांस्कृतिक विषयमा पुष्पलालको जुन ज्ञान थियो। उहाँमा जस्तो अरू कसमा पाउनु हुन्छ?

पुष्पलाल गहिरो अध्ययन गर्ने त्यागी नेता हुनुहुन्थ्यो। उहाँ आफ्नो काममा लगनशील भएर लाग्नुहुन्थ्यो। उहाँजस्तै गुण अर्को तुल्सीलाल अमात्यमा थियो। उहाँ पूर्वीय धर्म दर्शनको समेत गहिरो ज्ञान राख्‍ने नेता हुनुहुन्थ्यो। तर, उहाँले पुष्पलालले जस्तो संगठन सम्हाल्न सक्नुभएन। मदन भण्डारी त्यसबेला अध्ययनका लागि बनारस जानुभएको थियो। पुष्पलालको त्यागबाट प्रभावित भएर मदन भण्डारीले जनताको बहुदलीय जनवादलाई नयाँ सिद्धान्तका रुपमा रुपमा ल्याउनुभयो।

पुष्पलाल हुँदाहुँदै नेकपा एकबाट अनेक भयो? कारण के थिए

सबै मानिसको सोच एकै हुँदैन। सबैमा आ-आफ्नो सोच र विचार हुन्छ। त्यसैले नेकपा एकबाट अनेक भएको हो। पुष्पलालले सबैलाई एकै ठाउँमा सम्हाल्न खोज्‍नुभयो। तर, अरू नेताहरू गुट बनाउनतिर लागे। पार्टीभित्र गुट बनाएपछि सबैको क्षमता एकै हुँदैन। कोही सफल हुन्छन् त कोही असफल हुन्छन्।

त्यही भएर एकबाट अनेक भए। कम्युनिष्टभित्र पहिल्यैदेखि गुट सक्रिय भएको पाइन्छ। त्यो अहिलेसम्म पनि देख्‍न सकिन्छ। मलाई लाग्छ पुष्पलालमा नेकपा एकबाट अनेक हुने त्यस्तो कमजोरी भयो लाग्दैन। उहाँ दिनरात पार्टीको लागि हिँड्न मान्छे हो। मैले भर्खरै पनि भने उहाँ कहिल्यै गुटमा लाग्‍नु भएन जुटाउनमै केन्द्रित रहनुभयो। आफ्नो जीवनकालमा उहाँ आफ्नो परिवारसँग धेरै बसेको भए करिब ३ वर्ष बस्‍नु भयो होला। पार्टीका लागि त्यागी छविका, लेखन र चिन्तनमा जीवन बिताउनुभयो।

अहिले पुष्पलालका कुन कुन कुरा नेकपाले ग्रहण गर्न सक्छ?

अहिले पनि बहुदलीय जनवाद भन्‍ने कुरा छ। भारतमा पनि त्यही छ। चीन र उत्तर कोरियामा मात्रै एक दलीय व्यवस्था छ। समाजवादलाई एक साथै लैजाने व्यवस्था भएकाले नेपाली कांग्रेस र कम्युनिष्टहरू एक भएर अघि बढ्नुपर्ने उहाँको धारणा थियो। अरू पनि बाहिर चर्को आवाज गरेर निस्कने र केही गर्न नसकेपछि आफ्नो पछि हट्ने प्रचलन अहिलेसम्म कायमै छ। मुख्य कुरा त कम्युनिष्ट गुट-उपगुटमै अल्झियो। त्यसको परिणाम पुष्पलालको चाहनाअनुसार नेपाली कांग्रेससँग सहकार्य गरेर अघि बढ्न सकेन। अहिले जनताको बहुदलीय जनवादका माध्यमबाट समावेशी प्रजातन्त्रमा जान सकिन्छ।

अहिले नेपालमा कम्युनिष्ट सरकार छ। यो समयका नेताहरुले पुष्पलालको सिद्धान्त कतिको अनुसरण गरेको पाउनुहुन्छ?

अहिलेका सबै कम्युनिष्ट नेता पुष्पलालका चेला हुन्। त्यसमा कोही राम्रो हुँदै गएका छन् त कोही गएनन्। जसले पार्टी भित्र जग हाल्यो ती माथि गए। उहाँलाई अनुसरण गर्ने पनि छन्।केहीले उहाँको सिद्धान्तलाई अनुशरण गरेका छन्। तर, सबैले गरेको देखिँदैन। उहाँले जस्तो पार्टीमै त्याग गर्ने नेता त पाउनै मुस्किल भइसक्यो।

कम्युनिष्ट पार्टीका लागि उहाँले भोक, तिर्खा, आफ्नो घर परिवारसमेत नभनी लाग्‍‍नुभयो। त्यसैको परिणाम अहिले कम्युनिष्ट पार्टी बलियो सरकारमा निर्माण भएको छ। यस्तो बेलामा एक आपसमा मिलेर कम्युनिष्ट आन्दोलनलाई बलियो बनाएर आफ्नो पार्टीको लक्ष्यसम्म पुग्न नेताहरूले सहकार्य गर्नुपर्छ।

गुट उपगुटमा अल्झिएर बस्नु हुँदैन। पद पैसाका लागि गुटबन्दी गर्ने रोगबाट मुक्त हुनु पर्छ। बहुमत अल्पमत नियमित कुरा हुन्। काखा पाखा र गालीगलौजमा र संकीर्णताको राजनीति त्याग्नै पर्छ। भाग पाउने नपाउने बिषय भन्दा देश बनाउने कुरा माथि हुन्छ भन्‍ने सबैले बुझ्नु पर्छ। पुष्पलालबाट यति सिके पुग्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.