|

डोल्पा : डोल्पामा जातीय विभेदका घटना दिनप्रतिदिन बढ्न थालेका छन्। गाउँ, समाज र सार्वजानिक स्थानहरुमा दलित भएकै कारण गैरदलितहरूले अभद्र व्‍यवहारसँगै कुटपिट गरेका घटना सार्वजानिक हुन थालेका हुन्।

त्रिपुरासुन्दरी नगरपालिकामा मात्रै केही महिनायता जातीय विभेदलाई प्रश्रय दिने किसिमका ६ वटा घटना घटेको दलित अधिकारकर्मी लीला टमाटाले बताए।

कुकुरले धानको बेर्ना टेकेकोदेखि पशुले बाली खाएको निहुँमा समेत दलितहरू निर्घात कुटिनुपरेको उनको भनाइ छ। गत २२ गतेमात्रै वडा नं १ रल्लीमा पशुले बाली खाएको निहुँमा गैह्र दलितहरुले दलित माथि सामुहिक कुटपिट गरेका थिए।

त्यसैगरि गत बर्ष फागुनमा त्रिपुरासुन्दरी नगरपालिका वडा नं ५ ल्हाँमा बिवाह भतेरमा गएका बेला गैह्र दलितहरुले दलितलाई कुटपिट गरेको टमाटाले बताए।

जातीय विभेदका घटना दिनप्रतिदिन बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई बोधार्थ दिँदै त्रिपुरासुन्दरी नगरपालिकाको ध्यानाकर्षणसमेत गराइएको छ।

दलित अधिकारकर्मीहरुले सामूहिक रुपमा नगर उप–प्रमुख चन्द्राकुमारी बुढालाई धानाकर्षण पत्र बुझाउँदै गाउँ समाजमा दलित भएकै कारण घटिरहेका घटनाहरूप्रति गम्भीर बन्न आग्रह गरिएको छ।

दलित अधिकारका विषयमा स्थानीय सरकार नै गम्भीर नभएको डोल्पा दलित संघर्ष समिति डोल्पाका अध्यक्ष बमबहादुर सार्कीले बताए।

त्यसैगरी, दलित अधिकारकर्मी जयन्द्र विश्वकर्माले स्थानीय सरकारका कारण जातिय विभेदका घटनाहरुले कानुनी उपचार नपाउने र गाउँमै मिलाउने गरिएको बताए।

'म स्यमं पनि दलित हुँ, जातीय, लैंगिक विभेद लगायतका सामाजिक मुद्‍दाहरूलाई न्यायिक समितिमा पुर्‍याए पनि जातीय प्रभाव पारेर दलित सुमुदायका पिडितले न्याय नपाउने अवस्था छ' उनले भने। दुई साताअघि त्रिपुराकोटमा दलितमाथि सामूहिक कुटपिटको भएको घटना पनि प्रहरी चौकी त्रिपुराकोटमा मिलाइएको भन्दै आलोचना भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.