पटक पटक कित्ताकाट, १५ जनासम्मको नाममा जग्‍गा

|

सिमरा : पूर्वपश्चिम राजमार्गसँग जोडिएको निजगढ नगर क्षेत्रका करोडौं मूल्य पर्ने सार्वजनिक जग्गा किर्ते कागज बनाई भोगचलन गरेको पाइएको छ। 

साविक निजगढ गाविस–८ (हाल निजगढ नगरपालिका–९) कित्ता नम्बर १३० को २ बिघा ७ कठ्ठा १७ धुर सार्वजनिक जग्गा गैरकानुनी ढंगले किर्ते पुर्जा बनाएर व्यक्तिले भोगचलन गरेको भेटिएको हो। 

फिल्डबुकमा ‘पर्ती गौचरन’ भनी उल्लेख उक्त जग्गामा निजगढका स्थानीयले गाईवस्तु चराउने, दाहसंस्कार, दश कर्म गर्ने तथा किरियापुत्री घर निमार्ण गरी प्रयोग गर्दै आएका निजगढ नगरपालिकाले जनाएको छ। 

फिल्डबुकमा  प्रस्टसँग ‘गौचरन’ उल्लेख भएको जग्गा पहिलो चरणमा हेटौंडा निवासी शेरबहादुर श्रेष्ठ, भवानीदेवी लम्साल र इन्द्रबहादुर बनेपालीको नामबाट पटक पटक कित्ताकाट गरी बेचबिखन भएको देखिएको छ। हालसम्म १५ जनाको नाममा उक्त जग्गा दर्ता भइसकेको मालपोत कार्यालय सिमराले जनाएको छ। 

स्थानीयको उजुरीपछि आयोगको ध्यानाकर्षण

सार्वजनिक जग्गा किर्ते पुर्जा बनाएर व्यक्तिले भोगचलन गरेको भन्दै निजगढका केही स्थानीयले सरकारी, सार्वजनिक तथा गुठी जग्गा संरक्षणसम्बन्धी जाँचबुझ आयोगमा उजुरी दिएका छन्। 
काठमाडौंकेन्द्रित रहेको जाँचबुझ आयोगमा स्थानीयको उजुरी पुगेपछि मात्रै असार अन्तिम साता निजगढ नगरपालिकालाई पत्र पठाएर गैरकानुनी तवरले दर्ता गरी सरकारी जमिन हिनामिना गरेको भन्ने उजुरीका आधारमा सो जग्गाको यथार्थ विवरण सात दिनभित्र पठाउन पत्र पठाएको हो। 

सार्वजनिक जग्गा संरक्षण गर्न वडाले काट्यो पत्र  

फिल्डबुकमा ‘पर्ती गौचरण’ महल खाली भनी उल्लेख भएको सो जग्गाको निजी श्रेस्ता बदर गरी सार्वजनिक कायम गर्न वडा नम्बर ९ वडा कार्यालयले नगरपालिका, स्थानीय प्रशासन र मालपोत कार्यालय सिमरालाई पत्र पठाएको छ। 

निजगढ नगरपालिका–९ ले सार्वजनिक जग्गा किर्ते दर्ता गरी नियमविपरीत व्यक्तिको नाममा नाममा दर्ता गरिएकोले सो जग्गाको निजी श्रेस्ता कायम भएको भए सो श्रेस्ता बदर गरी सार्वजनिक पर्ती गौचरण नै कायम गर्न नियमअनुसार प्रक्रिया बढाउन सम्बन्धित निकायलाई पत्र पठाएको हो। 

चलनचल्तीको मूल्यमा अर्बको सम्पत्ति हो : नगरप्रमुख 

निजगढ नगरपालिकाका नगरप्रमुख सुरेश खनालले सो सार्वजनिक जग्गा चलनचल्तीको मूल्यमा अर्बभन्दा माथिको सम्पति भएको बताएका छन्। पूर्वपश्चिम राजमार्गसँग जोडिएको झण्डै साढे २ बिघा जग्गा किर्ते प्रक्रियाबाट धेरैको नाममा गइसकेको र जतिसक्दो चाँडो सार्वजनिक कायम गर्न पहल गरिने उनले बताए। 

२०४३ साल मंसिर १९ गते मालपोत कार्यालय बाराले गैरकानुनी ढंगले कित्ता नं १३० को सो सार्वजनिक जग्गालाई बदर गरी कित्ता नं १७३,१७४,१७५ कायम गरेको निजगढ नगरपालिकाले जाँचबुझ आयोगलाई पठाएको पत्रमा उल्लेख छ। 

तत्कालीन अवस्थामा सो सार्वजनिक जग्गा किर्ते गरेर व्यक्तिको नाममा दर्ता हुनासाथ स्थानीयले विरोध गरेर २०४८ सालमा भूमिसुधार मन्त्रालयमा उजुरीसमेत दिएका थिए। सोही उजुरीका आधारमा मन्त्रालयले अध्ययन गरेर व्यक्तिको नाममा परिसकेको उक्त जग्गाको किर्ते पुर्जा बदर गर्न मालपोत कार्यालयलाई पत्र पठाएको थियो। 

साथै तत्कालीन निजगढ गाविसले पनि सो जग्गाको व्यक्ति पुर्जा बदर गर्न मालपोत कार्यालयलाई पत्र पठाएको थियो। तर उक्त पत्र मालपोत कार्यालयले बेवास्ता गरेको नगरपालिकालाई आयोगलाई पठाएको पत्रमा उल्लेख छ।

‘२०३७ साल माघ १ गते सर्वे नापी हुँदाको बखत नै कित्ता नं १३० को २ बिघा ७ कट्टा १७ धुर जग्गा पर्ती गौचरन भनी फिल्डबुकमा स्पष्ट उल्लेख छ, पछि कित्ताकाट गर्दा त्यसलाई काटेर सार्वजनिक जग्गालाई व्यक्ति विशेषको नाममा दर्ता गर्ने प्रयास भएको छ’, पत्रमा उल्लेख छ। 

किर्ते पुर्जा बनाउनेहरुले आफूअनुकूल भोगचलनको विषयलाई लिएर जिल्ला अदालतमा दायर भएको सो जग्गाको मुद्दा सर्वोच्चमा विचाराधीन छ। पछिल्लो समय प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौ तराई जोड्ने द्रुतमार्ग, विशेष आर्थिक क्षेत्र प्राधिकरण (सेज), पथलैया–वीरगन्ज व्यापारिक मार्गलगायत महत्वपूर्ण आयोजनाका कारण बाराको दक्षिणी क्षेत्रको जग्गाको मूल्य ह्वात्तै बढेको छ। सो क्षेत्रका अन्य सार्वजनिक, सरकारी तथा वन क्षेत्रका  सयौं बिघा जग्गामा भूमाफियाले राज गरिरहेका छन्। 

जग्गा संरक्षण गर्न मालपोतलाई नगरपालिकाको पत्र 

निजगढ नगरपालिकाले एक साताअघि मालपोत कार्यालय सिमरालाई पत्र पठाएर सो सार्वजनिक जग्गाको श्रेस्ता संरक्षण गर्न पत्र पठाएको छ। 

नगरपालिकाले फिल्डबुकमा पर्ती गौचरण महल खाली भनी उल्लेख भनी उल्लेख भएको जग्गा मालपोत कार्यालय  बाराको आधिकारिक लिखितबिनै हेटौंडा निवासी शेरबहादुर श्रेष्ठ, भवानीदेवी लम्साल र इन्द्रबहादुर बनेपालीको नाममा किर्ते दर्ता गरी भोगचलन गर्न खोजिएकोले सो जग्गाको निजी श्रेस्ता कायम भएको भए सो श्रेस्ता बदर गरी सार्वजनिक पर्ती गौचरण नै कायम गर्न नियमअनुसार आवश्यक प्रक्रिया बढाइदिनुहुन आग्रह गरिएको छ भनी उल्लेख छ। 

 


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.