काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस अहिले चुनावी चटारोमा छ। १४ औँ महाधिवेशन आगामी फागुन ७ गतेलाई तोकिएको छ। नेताहरु आफ्नो गुट कसरी बलियो बनाउने भनेर लागिरहेका छन्। देखिनेगरी कांग्रेसमा तीन गुट छन्।
सभापति शेरबहादुर समूह, वरिष्ठ नेता रामचन्द्र पौडेल समूह, पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला समूह नै कांग्रेसमा देखिएका मुख्य गुट हुन्। १४ औँ महाधिवेशनमा पनि अहिलेका सभापति शेरबहादुर देउवाले चुनाव लड्ने मनस्थिति बनाएका छन्।
कुनै समय देउवाबाट नेविसंघ अध्यक्षको उत्तराधिकारी लिएका कांग्रेस नेता विमलेन्द्र निधिले पनि देउवाबाट आफैँले पार्टी नेतृत्व लिने चाहना राखिरहेका छन्। तर उनी देउवासँगै प्रतिष्पर्धा गर्न भने चाहँदैनन्। निधि सभापति पदका लागि उम्मेदवार हुन र लड्न देउवाकै समर्थन चाहिन्छ। गुटभित्र कसैले पनि देउवालाई चुनौती दिने आँट गरेको छैन।
अर्को गुटमा पनि वरिष्ठ नेता रामचन्द्र पौडेल फेरि सभापति लड्न चाहन्छन्। तर, उनलाई यसपालि सभापतिको उम्मेदवार मान्न गुटमा कोही पनि तयार छैनन्। पौडेलको गुटमा अहिले सभापतिको आकाङ्क्षी चारजना छन्। पौडेलसँगै प्रकाशमान सिंह र कोइराला दाजुभाईले पनि सभापतिको कुर्सीतिर हेरिरहेका छन्।
अहिलेसम्म पौडेल, शशांक र सिंहले मुख खोलेर आफू सभापतिमा उठ्ने सार्वजनिक घोषणा गरेका छैनन्। तर, शेखरले सार्वजनिक रूपमै तयारी गरेर सभापतिका दाबेदारका रूपमा आफूलाई प्रस्तुत गरिसकेका छन्।
कांग्रेस राजनीतिमा कोइराला परिवारको ठूलो योगदान र स्थान छ। कार्यकर्ताले पनि उनीहरूले कस्तो कदम चाल्छन् भनेर चासोका साथ हेरिरहेका हुन्छन्। देउवा इतर गुटबाट यसपालि सभापतिमा दुई दाजुभाइमध्ये एकजना उम्मेदवार बन्ने पक्का जस्तै छ। वीपी कोइरालाको ३८औँ स्मृती दिवसका अवसरमा वीपी कोइराला युवा नेतृत्व विकासमञ्चले आयोजना गरेको कार्यक्रममा उनै वीपीका पुत्र शशांकले देउवाइतर समूहबाट एउटा मात्रै व्यक्ति सभापतिको उम्मेदवार हुने बताए।
पौडेल समूहबाट सभापतिको उम्मेदवारको हुने भन्ने विषयमा छलफल भइरहेको उनले बताए। ‘देउवा इतर समूहबाट एक जनामात्रै सभापतिको उम्मेदवार हुन जरुरी छ,’ उनले भने, ‘पौडेल समूहबाट एक जनामात्रै सभापतिको उम्मेदवार तय गर्ने विषयमा छलफल भइरहेको छ।'
यता शेखर कोइराला पनि सभापतिको उम्मेदवार बन्ने तयारीमा छन्। यसबीचमा उनी प्राय: जिल्ला पुगेर जिल्लाको नेतृत्वसँग भेट गरिसकेका छन। देश दौडाहाकै क्रममा गत फागुन २५ गते लाहान पुगेका नेपाली शेखर कोइरालाले सञ्चारकर्मीहरूसँग कुरा गर्दै भनेका थिए, ‘कोइराला परिवार एक ढिक्का छ, आउँदो महाधिवेशनमा कोइराला परिवारबाट कोही एक जना सभापतिको उम्मेदवार बन्ने छ।’
उनले कोइराला परिवारमा जो चर्चित छ उही सभापतिको उम्मेदवार बन्ने पनि बताएका थिए। त्यतिखेर उनले भनेका थिए, ‘कसले उम्मेदवारी दिने भन्ने हामी सल्लाह गरी निर्णय गर्छौं, तीनमध्ये जो बढी पपुलर हुन्छ, उही उम्मेदवार बन्छ।’ अहिले देश दौडाहा गरिरहेको सन्दर्भमा यी तीनमध्ये सबैभन्दा चर्चित उनै शेखर मानिन्छन्। १३ औँ महाधिवेशनमा कोइराला परिवारकै डा. शशांकलाई महामन्त्री बनाउन आफू उम्मेदवारीबाट पछि हटेका शेखर नै यसपाली सभापति बन्ने दाउमा छन्।
शेखरका स्वकीय सचिव दिनेशचन्द्र थपलियाका अनुसार १४औँ महाधिवेशनमा उनी सभापतिको उमेदवार बन्ने मनस्थितिका साथ अघि बढेको बताउँछन्। ‘दाई (शेखर) भन्दा अग्रज नेताहरु पनि कांग्रेसमा हुनुहुन्छ,’ थपलियाले भने, ‘तर, सबै हिसाबले परिपक्व भएकै कारणले उहाँ १४ औँ महाधिवेशनमा सभापतिको उम्मेदवार बन्नुहुन्छ।’ उनले हरेक जिल्ला भ्रमणलाई महाधिवेशनको तयारी नै भएको बताए।
नेपाली कांग्रेसको सभापतिको रुपमा हेरिएका अर्का व्यक्ति हुन शशांक कोइराला। शशांक कोइरालाले १४औँ महाधिवेशनमा शेखरलाई सभापति बनाउन सहयोग गर्लान् कि नगर्लान भन्ने विषय पनि उत्तिकै चासोका साथ हेरिएको छ। उनी निकटका नेताहरूका अनुसार शशांकले यसपाली शेखर कोइरालालाई सभापति बन्न सहयोग गर्ने बताउँछन्। ‘शशांक दाई नै सभापतिको उम्मेदवारको लागि उपयुक्त पात्र हो,’ शशांक निकट एक नेताले भने, ‘तर, यसपाली अघिल्लो महाधिवेशनको गुन तिर्नलाई शेखरलाई सहयोग गर्न सक्नुहुन्छ। उहाँहरु दाजुभाइको छलफलको तयारी चाहिँ छ।’
कोइराला परिवारको अर्की सदस्य हुन सुजाता। उनी कोरोनाका कारण भएको लकडाउनभन्दा पहिले शेखरसँगै जिल्ला दौडाहामा पनि सामेल भएकी थिइन। उनी पनि कांग्रेसको १४औँ महाधिवेशनमा केन्द्रीय सदस्य निर्वाचित भएर केही उच्च पदमा मनोनीत खाने दाउमा छिन्। ‘सुजाता दिदी अहिले कोइराला परिवारबाटै कांग्रेसको सभापति होस भन्ने योजनाका साथ अघि बढिरहनु भएको छ,’ उनीनिकट एक नेताले भने, ‘शशांक दाई र शेखर दाईमध्ये एक सभापति हुनुपर्छ भन्ने उहाँले चाहनु भएको छ।’
तपाईंको ईमेल गोप्य राखिनेछ ।