|
फाइल फोटो

पर्सा : कोरोनाका कारण पर्सामा शुक्रबार फेरि एक स्थानीय वृद्धाको मृत्यु भएको छ। निमोनिया भएर केही दिनअगाडि वीरगञ्‍जको एक निजी अस्पतालमा भर्ना भएकी ८५ वर्षीया वृद्धाको शुक्रबार मध्यान्न मृत्यु भएको हो।

बिहीबार मात्र उनलाई वीरगञ्‍जको नारायणी अस्पतालको विशेष कोभिड अस्पताल गण्डकमा भर्ना गरिएको थियो। मृतक महिलामा बिहीबार राति संक्रमण पुष्टि भएको कोभिड अस्पताल गण्डकका संयोजक डा. उदय नारायण सिंहले बताए। पहिले मुटुको बिरामी भएकी वृद्धालाई पछिल्लो समयमा निमोनिया भएर अस्पतालमा भर्ना गरिएको रहेछ। सो क्रममा नै स्वाब संकलन गरी कोरोना परीक्षण गर्दा संक्रमण पुष्टि भएको उनले बताए।

केही अगाडि बिरामीलाई वीरगञ्‍जको एड्भान्स हस्पिटलमा भर्ना गरिएकोमा कोरोनाको सिम्टम जस्तो देखिएपछि स्वाब संकलन गरिएको थियो। योसहित कोरोनाका कारण पर्सामा ३ जनाको मृत्यु भइसकेको छ। मुलुकभरि भने योसहित मृत्यु हुनेको संख्या ४४ पुगेको छ। स्वास्थ्य मन्त्रालयले भने यो पुष्टि गर्न बाँकी रहेको नारायणी अस्पतालले जनाएको छ।

बुधबार राति कोरोनाका कारण वीरगञ्‍जको मुटु माईस्थानका ७० वर्षीय श्याम नारायण वर्णवालको मृत्यु भएको थियो। नेपाली सेनाले बिहीबार परिवारको सल्लाहमा नै तिलावे नदीमा दाह संस्कार गरेको थियो। शुक्रबार निधन भएकी वृद्धाको सवालमा पनि शव व्यवस्थापन नेपाली सेनाले नै गर्ने जनाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.