|
भक्तपुर गछेंस्थित नवदुर्गा देवीको द्यःछें (देवगृह)भित्र बाँधिएको खःम्ये अर्थात् निक्खर कालो राँगो ।

भक्तपुर : यसवर्षको बडादशैंका लागि भक्तपुरको नवदुर्गा मन्दिरमा खःम्ये (निख्खर कालो राँगो) भित्र्याएको छ। घण्टाकर्ण चतुर्दशीदेखि जनैपूर्णिमाभित्र नवदुर्गा मन्दिरको द्यःछें (देवगृह)मा खम्ये भित्र्याउनुपर्ने परम्पराअनुसार बिहीबार साँझ खम्ये भित्र्याइएको हो।

यसवर्ष भक्तपुर नगरपालिका–२, बालाखु निवासी विजेन्द्र पुँलाछेंले उक्त खःमेय् चढाएका हुन्। उनले काठमाडौंको गोकर्णबाट करिब ९० हजार रुपैयाँमा उक्त खःमेय् खरिद गरेर ल्याएको जानकारी दिए। विजेन्द्रले चार वर्षअघि नै खःमेय् चढाउने इच्छा व्यक्त गरेका थिए। तर नवदुर्गा देवीलाई खःमेय् चढाउन ईच्छा व्यक्त गर्ने श्रद्धालुहरु धेरै भएका कारण पालोअनुसार विजेन्द्रले पाँचौं वर्षमा मात्र खःम्ये चढाउने अवसर पाएका हुन्।

विजेन्द्रले चढाएको खःम्येलाई नवदुर्गा देवगणका नकीँ (मुली महिला) न्हुँछेमाया बनमालाले विधि विधान अनुसार नवदुर्गा द्यःछें प्रांगणमा पुजाआजा गर्दै देवगृहमा भित्र्याएका थिए। नकीं न्हुछेमायाले नै अब दसैंको नवमीसम्म उक्त खःम्येको  रेखदेख तथा हेरचाह गर्नेछिन्।

भक्तपुरमा बडादशैंको महानवमीको राती ब्रम्हायणी मन्दिरमा नवदुर्गा देवगणको सिद्धी प्राप्तीको लागि बलि दिन धार्मिक, सा“स्कृतिक र ऐतिहासिक रुपले अत्यन्त महत्वपूर्ण मानिने खःमेय्लाई महिषासुर राक्षसको प्रतिकको रुपमा लिईन्छ।

खःम्ये निख्खर कालो, पुच्छर घुँडाभन्दा तलसम्म आएको, सिङ र कानमा कुनै खोट नभएको, शरिरभरी कुनै घाउचोट नलागेको, शरिरमा सातवटा चक्र भएको ठूलो मोटोघाटो हुनुपर्ने देवगण वृजेश बनमालाले जानकारी दिए।

देवगृहमा भित्र्याउनु अघि तलेजु मन्दिरका पदाधिकारीहरुले खयेको अवलोकन गरी खःमेय् योग्य छ छैन निक्र्यौल गरिन्छ। त्यसपछि सोही स्थानबाट खःमेयई झिगाँं र लामखुट्टेले टोक्न नकोस भनी तोरीको तेल लगाएर देवगृहमा ल्याउने परम्परा छ। देवगृहमा भित्र्याएपछि खःमेय्लाई जसले नवदुर्गा देवगृहको किलामा बाँड्छ सोही व्यक्तिले नै नवमीको दिनमा किलाबाट खोल्ने र आफै ब्रम्हायणी पिठमा गई बलि दिइने परम्परासमेत रहको छ।

खःमेय्लाई महानवमीसम्म भक्तपुर गछेंस्थित नवदुर्गा देवीको द्यःछें (देवगृह)भित्र राखेर पाल्ने परम्परा रहेको छ। विधिवतरुपमा नवदुर्गा द्यःछें भित्र्याएको खःमेय्लाई महानवमीको साँझ ब्रम्हायणी लैजान मात्र बाहिर निकालिइन्छ। सोही दिन खम्येलाई जाँड, रक्सी खुवाउने र शरिरभरी तेल लगाएर अबिर छरेर दौडाएर ब्रम्हायणी पीठ पु¥याउने प्रचलन रहेको छ।

महिषासुरको प्रतीक मानिएको खःमेय्लाई दौडाएर ब्रम्हायणी पुर्‍याउने परम्परालाई स्थानीय भाषामा खःमेय् व्वाकेगु जात्रा (रा“गो दौडाउने जात्रा)को रुपमा लिईन्छ जुन विजयादशमीको अवसरमा भक्तपुरमा मनाईने एक महत्वपूर्ण जात्रा हो।

महानवमीको मध्यरातमा त्रिपुरासुन्दरी प्रकट भई नवदुर्गा भवानीका रुपमा पूर्ण हुनेहु“दा त्यस रुपमा महिषासुर बध गर्ने प्रचलित धार्मिक लोक मान्यता अनुरुप खःमेय् बलिपुजा गरी जात्रा मनाउ“दै आएको इतिहास तथा संस्कृतिविद् प्रा. डा. पुरुषोत्तमलोचन श्रेष्ठले जानकारी दिए।

कालरात्रिका क्रममा वध गरिएका निकुथु र खःमेय्को मासुका टुक्रा प्रसादका रुपमा घरलगी सुकुटी बनाई धुलो पारेर ध्यूमा मुछी धुप बनाइन्छ र लक्ष्मीपुजाको दिनमा बाल्ने चलन रहेको छ। सो धुप बाल्दा घरमा भूतप्रेत भाग्ने, शत्रु नाशहुने र लक्ष्मीले बास गर्ने जनविश्वास रहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.