अतिआवश्यक काम नरोकिने

|

पर्सा : पछिल्लो दुई दिनमा कोरोनाका कारण स्थानीयको मृत्यु हुन थालेपछि पर्साको वीरगन्जमा निषेधाज्ञा लगाइने भएको छ। जिल्लाका राजनीतिक दलका प्रमुख, वीरगन्जमा महानगरपालिका नगर प्रमुख, जिल्लाका सबै सुरक्षा अंगका प्रमुखहरुको शुक्रबार बसेको सर्वदलीय बैठकले शनिबार बिहान ५ बजेबाट निषेधाज्ञा लगाउने निर्णय गरेको हो।

जिल्लाभरि नै सुरक्षा सतर्कता अपनाई वीरगन्ज महानगरपालिकालाई केन्द्रमा राखेर निषेधाज्ञा लगाउने निर्णय गरिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले बताए। बिहीबार जिल्ला संकट व्यवस्थापन केन्द्रको र शुक्रबार सर्वदलीय बैठक बसी वर्तमान परिस्थितिको समीक्षा गर्दै संक्रामक रोग ऐन २०२० तथा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ बमोजिम अर्को आदेश नभएसम्म अनिश्चित कालका लागि वीरगन्ज महानगरपालिका क्षेत्रमा निषेधाज्ञा लगाउने निर्णय भयो उनले भने।

निषेधाज्ञाको समयमा परीक्षणको दायरा बढाउने, क्वारेन्टाइनलाई थप परिष्कृत गर्ने, कोभिड अस्पतालको क्षमता बढाउने, पीसीआर किट लगायत आवश्यक सामग्री, एम्बुलेन्स नत्र चालककोको व्यवस्था वीरगन्ज महानगरपालिकाले गर्ने, लगायतका सात वटा निर्णय भएका छन्। निषेधाज्ञा तत्काललाई अनिश्चितकालकै लागि लगाउने निर्णय भएको बैठकमा सहभागी नेकपा पर्साका अध्यक्ष प्रभु हजाराले पनि बताए।

निषेधाज्ञा लगाइएको समयमा अति आवश्यकीय काम शान्ति सुरक्षा, स्वास्थ्य, दुध, विद्युत, खानेपानी, फोहोर मैला व्यवस्थापन, ड्राइपोर्ट, भंसार, इन्धन, बैंक र औषधी एम्बुलेन्स जस्ता सेवाबाहेक सबै उद्योग, पसल व्यवसाय संचालन बन्द गरिनुपर्ने निर्णयमा उल्लेख गरिएको छ।

पर्सामा कोरोनाका कारण दुई दिनको अन्तरालमा वीरगन्ज महानगरपालिकाको माईस्थान र रानीघाटका दुई जनाको मृत्यु भएपछि कोरोना समुदायमा फैलिसकेको आशंका गरिएको छ। दुवै मृतक घरबाहिर उति नजाने र घरमा नै रहने ७० वर्षका र ८५ बर्षका रहेकोले पनि संक्रमण समुदायसम्म पुगिसकेको आंकलन गरिएको हो।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.