महेश बस्नेत भन्छन् : 'ओलीको संलग्नता छैन, एमालेलाई माया गर्नेले दर्ता प्रक्रिया अघि बढाए'

|

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैली र व्यवहारलाई लिएर सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीभित्र रस्साकस्सी चलिरहेका बेला असार १५ गते एकाएक निर्वाचन आयोगमा नेकपा एमाले पार्टी दर्ताका लागि निवेदन पर्‍यो। 

सच्चिनुको साटो उल्टै पार्टी नै फुटाउने खेलमा लागेको र सो निवेदन पनि ओलीकी निर्देशनमा दिइएको भन्दै व्यापक आलोचना भइरहेको छ। पार्टीभित्रको विवाद चरम उत्कर्षमा पुगेको बेलामा निर्वाचन आयोगमा नेकपा एमाले दर्ता प्रक्रिया अघि बढ्नाले नेकपाभित्र खैलाबैला मच्चिएको थियो। स्थायी कमिटीको बैठकमै उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री ओलीको निर्देशनमा एमाले दर्ता प्रक्रिया अघि बढाएको प्रमाण पेश गर्न सक्ने दाबी गरेका थिए। 

स्थायी कमिटी बैठकमा नेकपा एमाले दर्ता प्रक्रियामा नेकपा नेताहरूको सहभागिता छ/छैन भन्ने विषयमा गम्भीर छलफलको माग गरिरहेका छन्। तर, विवाद चर्कंदै जाँदा ओलीले अनिच्छा देखाएपछि स्थायी कमिटी बैठक समेत बस्न सकिरहेको छैन।

बैठक र छलफल जति टार्न खोजेपनि माओवादी केन्द्रसँग गाभिएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेको साविकको एमाले पार्टी पुन: दर्ता गर्न खोजिएपछि त्यसमाथिको विवाद थप बढेको छ। पुष्पलालको ४२औं स्मृति दिवसका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा पनि पूर्वप्रधानमन्त्री एवम्‌ नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले सार्वजनिक रूपमै सो पार्टी दर्तामा ओलीको संलग्नता रहेको दाबी गरे। 

‘पार्टी गम्भीर संकटको अवस्थामा छ, पार्टीको बैठक चल्दा चल्दै निर्वाचन आयोगमा अर्का अध्यक्षको सक्रियतामा नेकपा एमालेको नाममा पार्टी दर्ता प्रक्रिया अघि बढाइएको छ,' दाहालले भनेका छन्‌, ‘पार्टीभित्रको विवाद चर्काएर नयाँ पार्टी दर्ता प्रक्रिया अघि बढाएर, देशभरी केही कार्यकर्तालाई नारा जुलुसमा लगाउने कोसिस भइरहेको छ।'​

पार्टीभित्रको विवादमा कार्यकारी अध्यक्ष प्रचण्डसँगै उभिएका वरिष्ठ नेता माधवकुमार नेपालले पनि अध्यक्ष ओलीका गतिविधिलाई लक्षित गर्दै कसैले चोइट्याउन खोजे एक्लिएर जाने, तर पार्टी नफुट्ने बताएका छन्‌। ‘पार्टी फुट्नेवाला छैन। कसैले चोइट्याउन खोज्यो भने एक्लिएर जाला, तर पार्टी फुटेर जानेवाला छैन। फुट्नेवाला छैन,’ उनले भने, ’कसैले पार्टी फुट्छ भनेर लेखिहाल्यो भने पनि डरले थरथर काँप्नुपर्ने आवश्यकता छैन।’

ओलीको कार्यशैलीले त्यस्तै देखायो : देव गुरुङ

नयाँ पार्टी दर्ता प्रक्रियामा प्रधानमन्त्री ओलीको संलग्नता रहेको उनको कार्यशैलीबाटै देखिएको नेकपा प्रमुख सचेतक देव गुरुङ बताउँछन्। ‘पार्टीभित्र विवाद चर्किरहेको बेला निर्वाचन आयोगमा एमाले पार्टी दर्ता प्रक्रिया अघि बढेको छ। तर, पार्टीभित्र कुरा उठेपछि उहाँ छलफलमा आउनुहुन्न’ उनले थाहाखबरसँग भने, ‘उहाँको कार्यशैलीबाट नै एमाले नामको पार्टी दर्ता प्रकृयामा उहाँको संलग्नता रहेको आशंका बढेर गएको छ।’

पार्टीभित्रको आन्तरिक विषय छलफलमार्फत समाधान गर्नुको साटो थप विवादमा धकेल्ने काम भइरहेको उनले आरोप लगाए। ‘पार्टी अहिले संकटको अवस्थामा पुगिसकेको छ, तर प्रधानमन्त्री ओलीले सहमतिको प्रयास समेत गर्नुभएको छैन।'

'ओलीको संलग्नता छैन, शीर्ष नेता हचुवामा बोल्छन्' : महेश बस्नेत

नेकपा एमाले दर्ता प्रक्रियामा प्रधानमन्त्री ओलीको कुनै संलग्नता नरहेको नेकपा केन्द्रीय सदस्य महेश बस्नेत बताउँछन्। ‘पार्टीभित्रको विवादको क्रममा निर्वाचन आयोगमा दर्ता प्रक्रिया अघि बढेकोले त्यस्तो आरोप लागेको हुनसक्छ। तर, प्रधानमन्त्री ओलीको कुनै संलग्नता छैन,’ उनले भने। 

‘शीर्ष नेताहरूले कुरै नबुझिकन हचुवाको भरमा जे पायो त्यही बोल्दै हिँड्दा पार्टी एकता संकटमा पुगेको छ, हामी पार्टी एकता बलियो बनाउने पक्षमा लागेको छौँ,’ उनले थपे, ‘नेकपा नेताहरूमा अवसरवादी चरित्र हावी भएको छ, नेकपा माओवादी दर्ता हुँदा अध्यक्ष प्रचण्डले गर्न लगाएको भन्ने, यता एमाले दर्ता गर्दा ओलीले गर्न लगाएको भन्ने! यस्तो आरोप-प्रत्यारोप गरेर बस्दा पार्टी कमजोर हुन पुग्छ। अरुलाई फाइदा पुग्छ, त्यही भएर हामी सहमति र सहकार्यमा एकता बलियो बनाउन लाग्नुपर्छ।’

नेकपा एमाले दर्ता गर्नेहरूलाई हेर्दा एमालेलाई माया गर्नेहरूले पार्टीलाई बचाइराख्न पर्छ भन्ने भएर दर्ता प्रक्रिया अघि बढाएको देखिएको, तर हालको अवस्थामा नेकपा एमाले दर्ता अघि बढ्नुमा ओलीको संलग्नता नरहेको बस्नेतले दावी गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.