शेखरलाई कमजोर बनाउन मलाई कारवाही गरे

|

गत आमनिर्वाचनमा पार्टीका उम्मेदवारहरूलाई असहयोग गरेको भन्दै नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले तीनजना नेतालाई पार्टीबाटै निष्कासित गरेको छ। कांग्रेसका पूर्व सह-महामन्त्री गोविन्दराज जोशीसहित तीन नेतालाई पार्टीबाट निष्काशन गरिएको हो। वरिष्ठ नेता रामचन्द्र पौडेललाई असहयोग गरेर गत निर्वाचनमा हराएको भन्दै जोशीलाई पाँच वर्षका लागि पार्टीबाट निष्कासित गरियो। उनीमाथि तनहुँमा रामचन्द्र पौडेलविरुद्ध बागी उठेर हराउन भूमिका खेलेको आरोप छ। तर, नेता जोशी भने यो कुरा मान्‍न तयार छैनन्। उनले यसबारेमा आफूले स्पष्टीकरण दिइसकेको बताउँदै आफूमाथिको कारबाहीलाई षडयन्त्रको संज्ञा दिएका छन्। अन्याय र बेथितिविरुद्ध बोल्दा आफूमाथि नियतवश पार्टीबाट निस्कासनको डण्डा चलाइएको बताउँछन्।  उनै जोशीसँग पार्टीबाट निष्कासित नै हुनुपर्ने गरी पार्टीविरुद्ध त्यस्तो के गर्नु भएको थियो? कारवाही भएपछि अब के गर्नुहुन्छ भनेर थाहाकर्मी सन्तोष अधिकारीले गरेको संक्षिप्त कुराकानी। 


निर्वाचनमा असहयोग गरेको भनेर तपाईंलाई पार्टीबाट निष्कासित गरेको छ। निर्वाचनको यति समयपछि किन कारबाही गरियो होला? 

यो म र म विरुद्धमात्र होइन, सिंगो कांग्रेसीमाथिको षडयन्त्र हो। पार्टीमा म माथि भएको अन्यायविरुद्ध बोल्ने चाहिँ को? पार्टीको बेथितिविरुद्ध बोल्दा निकालिएकामा मलाई कुनै दु:ख छैन। दु:ख त मलाई कांग्रेस अब कुट बाटोमा हिँड्ला भन्‍ने छ।

रामचन्द्र पौडेललाई असहयोग गरेर मात्रै तपाईंलाई पार्टीबाट निष्कासित गरिएको होकि अरु कुनै कारण छ?

उनीहरुले त उही रामचन्द्रलाई असहयोग गरेको भनेका छन्। तर, कुराहरु अरु पनि हुन सक्छन्। मैले अनुशासन समितिलाई बुझाएको स्पष्टीकरण पत्रमा पनि उल्लेख गरिदिएको छु। मलाई रामचन्द्रको बागी उम्मेदवार उठेर कारबाही भनिएको कुरा म मान्‍न तयार छैन। प्रतिनिधिसभाको निर्वाचनमा पार्टीको उमेदवारविरुद्ध बागी उठेको भनी मेराविरुद्ध उजुरी परेछ।

तनहुँका ८ हजार भन्दा धेरै नेता कार्यकर्ताले सभापति देउवाज्यूलाई सम्बोधन गरी क्षेत्र नम्बर १ बाट मलाई उम्मेदवार बनाउन आग्रह गरेका थिए। उक्त निवेदनको विषयमा हामीलाई कुनै जानकारी आएन। बरु रामचन्द्रलाई तनहुँमा टिकट दिन पार्टीले जिम्मा दिएछ। उनले त आफ्नै नाम राखेर पठाएछन्। यसरी संसदीय समितिमा निर्णय नगराइ लिएको व्यक्तिको टिकट र उम्मेदवारी आधिकारिक हुँदै हुँदैन। यहाँ एउटा कुरा स्पष्ट पार्न चाहन्छु। म जन्मिँदै कांग्रेस हुँ। मेरो रगतमा कांग्रेस छ। 

१४ औँ महाधिवेशन नजिकिँदैछ। तपाईं त शेखर कोइरालाको गुटमा हुनुहुँदो रहेछ। शेखर कोइराला पनि सभापति लड्ने दाउमा हुनुहुन्छ। उहाँलाई कमजोर बनाउन पो कारबाही गरिएको हो कि? 

महाधिवेशनको मुखमा मलाई कारबाही गरियो। पार्टीबाट निष्कासित गरियो। यसले कांग्रेस राम्रो मार्गमा हिँडिरहेको छैन भन्‍ने स्पष्ट हुन्छ। जसले कांग्रेसको लागि आफ्नो जिन्दगी सुम्पेको छ, उसैलाई कारबाही? महाधिवेशनमा शेखर सभापति उठ्ने तयारीमै छ। उसलाई नै कमजोर बनाउन रामचन्द्र र सभापति (देउवा) लागेको प्रष्ट पनि हुन्छ। यस विषयमा शेखरलाई कति टर्चर दिएका होलान् उसैलाई सोध्नु होला। 

अख्तियारले चलाएको तपाईंको मुद्दा अघि बढ्न लागेकाले त्यसको दोष कांग्रेसले लिनुपर्ने डरले तपाईंलाई कारबाही पो गरेको हो कि?

यसबारेमा म अहिले केही बोल्दिनँ है। 

अब के गर्नु हुन्छ? 

राजनीतिमा कुनै पनि घटना अन्तिम हुँदैन। यसले मलाई झन् परिपक्‍व बनाउँदै लैजान्छ भन्‍ने विश्‍वास लिएको छु। अहिले नै यसो यसो गर्छु भनेर मैले 'प्लान' गरेको छैन। साथीभाइ, समकक्षीसँग छलफल गर्न पनि पाएको छैन।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.