पेट्रोलियम पदार्थ अभाव, पुल निर्माण पनि अवरुद्ध

|

म्याग्दी : पहिरोले हिमालपारिको जिल्ला मुस्ताङमा १८ दिनदेखि यातायात सम्पर्क  विच्छेद भएको छ। कालीगण्डकी करिडोरको बेनी-जोमसोम सडक खण्डका ठाउँ ठाउँमा पहिरो गएपछि गलेश्वरदेखि मुस्ताङको लेतेसम्मको सडक ठाउँठाउँमा अवरुद्ध भएको हो। 

सडक खुलाउन स्थानीय प्रविधि र जनशक्तिले सम्भव नहुँदा संघीय सरकारसँग पहल भइरहेको प्रतिनिधि सभा सदस्य प्रेमप्रसाद तुलाचनले बताए। करिडोर (बेनी–जोमसोम–कोरोला सडक खण्ड) का आयोजना प्रमुख अशोक तिवारीका अनुसार म्याग्दीको गलेश्वरदेखि मुस्ताङको लेतेसम्म एक दर्जनभन्दा बढी ठूला पहिरो गएका छन्। 

उनका अनुसार अवरुद्ध सडक मर्मतलाई आजैदेखि  तीव्रसाथ मर्मतअघि बढाउँदा पनि करिब एक महिना लाग्ने देखिएको छ।

पेट्रोलियम पदार्थ अभाव, पुल निर्माण पनि अवरुद्ध

सडकमा पहिरो र नदी कटानका कारण यातायातका साधन चल्न नसकेपछि मुस्ताङमा संचालित विकास निर्माणका कामहरु पनि प्रभावित भएका छन्। गण्डकी प्रदेशको लाइफलाइन मानिएको यस कोरिडरको बेनी-जोमसोम सडक खण्डमा आधा दर्जन बढी पुलहरु निर्माणाधीन छन्। पेट्रोलियम पदार्थको ढुवानी हुन नसकेपछि करिडोर आयोजना त प्रभावित भएको छ नै, यहाँ सञ्चालित अन्य पुल निर्माणलगायत काम प्रभावित भएको स्थानीयले बताएका छन्।

जनजीवन प्रभावित 

लामो समयसम्म यातायात ठप्प भएपछि मुस्ताङको जनजीवन प्रभावित बनेको छ। विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमण जोखिम न्यूनीकरणका लागि गरिएको लकडाउनका कारण चार महिनादेखि ठप्प मुस्ताङको पर्यटन व्यवसाय लकडाउन खुलेसँगै केही राहत हुने आशा  गरिएको थियो। तर, पहिरो र नदी कटानका कारण यातायात नै ठप्प भएपछि यहाँको जनजीवन पनि प्रभावित बनेको छ। 

मुस्ताङका पोखरा र पोखराका मुस्ताङ नै रोकिनुपर्ने बाध्यता

पहिरोका कारण सडकमा आवतजावत रोकिएपछि लामो समयसम्मको बन्दाबन्दीका कारण पोखरामा रोकिएका मुस्ताङका सर्वसाधारण पोखरामा र  मुस्ताङबाट पोखरा आउनुपर्ने सर्वसाधारण पनि मुस्ताङमै रोकिन बाध्य भएका छन्।

कहिले लकडाउन खुला र आफ्नै थातथलोमा फर्कौंला भनेर दिन गनेर बसेकालाई बेनी-जोमसोम सडकखण्डमा आएको पहिरो अभिशाप बनेको छ। पोखरा जोमसोम हवाई उडानसमेत सञ्चालनमा आइनसकेको अवस्थामा पोखरामा अलपत्र परेका सर्वसाधारणलाई लक्षित प्रदेशसभा सदस्य इन्द्रधारा विष्टको पहलमा चार्टर्ड उडानको तयारी गरिएको छ।

विद्युत आपूर्ति पनि बन्द

पहिरोका कारण ठाउँ ठाउँमा बिजुलीका खम्बा ढली विद्युत् अवरुद्ध भएपछि मुस्ताङका वासिन्दा १८ दिनदेखि अन्धकारमा बस्न बाध्य भएका छन्। विद्युत् सेवा अवरुद्ध भएपछि सामान्यदेखि सरकारी क्षेत्रका कामकाजहरु समेत प्रभावित भएका स्थानीय विष्णु शेरचनले जानकारी दिइन्। 

ठाउँठाउँमा गएको पहिरो पन्छाएर विद्युत् पोल गाडी बिजुली सञ्चालन गर्न धेरै समय लाग्ने भएकोले १३.६ मेगावाट क्षमताको थापा खोला जलविद्युत् आयोजनामार्फत विद्युत् आपूर्ति गर्ने तयारी गरिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी बेदप्रसाद अर्यालले जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.