देशभर पाँच करोड विरुवा उल्पादन गर्ने राष्ट्रिय लक्ष्य

|

सिमरा : डिभिजन वन कार्यालय बाराले फलफूल तथा वन प्रजातिका १० लाख विरुवा उत्पादन गरी वितरण सुरु गरेको छ। राष्ट्रिय वृक्षरोपण वर्ष २०७७ का अवसरमा नेपाल सरकारको कार्यक्रम अनुसार विरुवा उत्पादन गरी वितरण सुरु गरिएको वन कार्यालयका प्रमुख मञ्जुर अहमदले जानकारी दिए।

उत्पादित विरुवा किसानका पाखो बारी, खोल्सो, खाली क्षेत्र, बाढी तथा नदी कटान जोखिम क्षेत्रमा रोप्ने प्रयोजनमा वितरण भइरहेको उनको भनाइ छ। वन तथा भू–संरक्षण विभाग र प्रदेश २ सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको सहयोगमा १० लाख विरुवा उत्पादन गरिएको डिभिजन वन कार्यालय बाराले जनाएको छ। 

जसमध्ये ८ लाख विरुवा यसैवर्ष वितरण गरिने र २ लाख विरुवा दुई वर्ष पुगेपछि अर्थात् आगामी वर्ष मात्रै वितरण गर्ने कार्यक्रमअनुसार नै वितरण हुने जनाइएको छ। उत्पादन गरिएका बिरुवाहरुमा समला, महुवनी (मलेसियन सखुवा), टिक, सिरिस, सिसौ, बकाइनो, अमला, सजिवन, बेल, कटहर, आँप तथा लिच्ची छन्। जिल्लाका विभिन्न ७ स्थानमा नर्सरी तयार गरी बिरुवा उत्पादन भइरहेको छ। 

डिभिजन वन कार्यालय परिसरमा मात्रै २ लाख बिरुवा तयार पारिएको छ। त्यसै गरी हलखोरिया साझेदारी वन समिति कार्यालय परिसर डुमरवानामा १ लाख, तामागढीमा १ लाख, कलैया उपमहानगरमा १ लाख विरुवा उत्पादन भएका छन्। 

यसैगरी फेटा गाउँपालिकामा १ लाख ५० हजार, सिम्रौनगढ नगरपालिकामा १ लाख र महागढीमाई नगरपालिकामा ५० हजार बिरुवा उत्पादन गरिएको वन प्रमुख अहमदले जानकारी दिए। वन तथा भूसंरक्षण विभागका सहसचिव बद्री हुमागाईले यस वर्ष देशभर ५ करोड बिरुवा उत्पादन गर्ने सरकारी लक्ष्य रहेका जनाए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.