|

फेसबुकको न्युज फिड स्कोल गर्दै थिए, एउटा समाचारले ध्यान खिच्यो। शीर्षक लेखिएको थियो- ‘कारबाहीको मिति सकिँदा पनि विमललाई टिममा नबोलाएकोमा दुई पूर्वएन्फा अध्यक्षको आपत्ति’। 

भर्खरै चल्न थालेको अनलाइन पोर्टलको समाचारमा सत्यता थियो/थिएन ती दुई पूर्वअध्यक्षको फेसबुक चेक गरें। दुवै जना मेरो फेसबुक फ्रेन्ड भएको कारण केही सहज भयो।

त्यहाँ विमलका लागि आवाज उठेका थिए। गणेश थापाको वालमा विमल घर्ती मगरको तस्बिरसहित उनले फेसबुकमा पोस्ट्याएको कुरा यस्तो थियो– ‘नेपाली राष्ट्रिय टिममा विमल घर्ती मगरलाई नबोलाएको बारेमा एन्फाको आधिकारिक धारणा आउनु जरुरी छ। अनुशासनको कारबाही गरेको समय समाप्त भइसकेपछि पनि नबोलाउनु नेपाली फुटबलको यो दुर्भाग्य हो। 

छनोटमा बोलाएर नपर्नु एउटा कुरा हो, तर ३५ जनामा पनि नपर्नु मेरो विचारमा यो वर्तमान एन्फा नै पूर्वाग्रही हो जस्तो लाग्छ। यसरी एउटा युवा खेलाडीलाई अपमान गर्नु सम्पूर्ण खेल प्रेमीको अपमान हो जस्तो लाग्छ।’ 

अलि तल अर्का पूर्वअध्यक्ष नरेन्द्र श्रेष्ठले अंग्रेजीमा कमेन्ट गरेका थिए। उनको आशय थियो– ‘विमलले कारबाही भोगिसके, अब उनलाई बोलाउनुपर्छ।’ मनन गर्ने कुरा दुवै अध्यक्षको जोड केवल विमलमा थियो।

यस्तो लाग्थ्यो कि नेपाली फुटबल विमलले मात्र धानेका हुन्। अरूको भूमिका केही नै हैन। विमलसँगै कारबाहीमा परेका सन्तोष तामाङ र दिनेश राजवंशीबारे न त थापालाई नै चासो रह्यो न त श्रेष्ठलाई। 

नेपाली फुटबल म्याच फिक्सिङको दलदलमा फसेको बेला विमलले खेलेको भूमिकालाई नेपाली फुटबल र फ्यान्सले उच्च मूल्यांकन गरेका छन्। र गर्नुपर्छ पनि। नेपाली फुटबल टिमका लागि विमल जति महत्वपूर्ण हुन् अट्याकिङ मिडफिल्डर सन्तोष र डिफेन्डर दिनेश पनि। उनीहरुको भूमिकालाई नबिर्सियोेस्। उनीहरु पनि उत्तिकै अब्बल छन्। 
नेपाली फूटबलको सर्वोच्च निकायलाई नेतृत्व गरिसकेका हस्ती। त्यतिले उहाँहरुको अर्को भूमिकालाई ओझेल नपारोस्। 

सन ८० को दशकको नेपाली राष्ट्रिय फुटबलमा खेलाडीको रुपमा महत्वपुर्ण भूमिका खेलेका थिए थापा र श्रेष्ठले। तर आज एउटा खेलाडीको मात्र गुणगान र अरुको भूमिका बिर्सन उनीहरुलाई नैतिकताले दिँदैन। 

प्रश्न पूर्वध्यक्षद्वयमा मात्र हैन, वर्तमान कार्य समितिमा पनि उठ्छ। विश्वकप छनोटमा कुवेतविरुद्ध खेल्न भुटान जानु अघिल्लो दिन नाइट क्लबमा गएपछि विमल घर्ती मगर, अन्जन विष्ट, दिनेश राजवंशी र सन्तोष तामाङलाई कारबाही गरेको थियो। 

विमल र दिनेशलाई ९० दिन तथा अन्जन र सन्तोषलाई ४५ दिन निलम्बन गर्नुका साथै ५० हजार रुपैयाँ जरिवाना तोकेको थियो। अहिले निलम्बन फुकुवा पनि भयो। सन्तोष र अन्जनले सहिद स्मारक लिगसमेत खेले। दिनेश र विमलले मोफसलका गोल्डकपमा सहभागिता जनाए। तर राष्ट्रिय टोलीको क्याम्पमा अन्जनलाई मात्र क्याम्पमा किन बोलाइयो ? अरु ३ जनालाई किन भेदभाव गरियो ? यसभित्रका आन्तरिक कुरा एन्फाका पदाधिकारी, व्यवस्थापन र प्रशिक्षकलाई नै थाहा होला। 

तर सामान्य रुपमा एक जना फुटबलप्रेमीको नजरले हेर्ने हो भने चारै जनालाई राष्ट्रिय क्याम्पमा बोलाइनुप¥थ्यो। उनीहरुको प्रदर्शनका आधारमा अन्तिम २३ मा पर्ने नपर्ने निक्र्यौल हुनु आफनो ठाउँमा छ। 

यो पढदै गर्दा थापा र श्रेष्ठलाई मात्र होइन परिवर्तनको नारा बोकेर गुटमा परिणत बनेको वर्तमान एन्फाको कार्यसमितिलाई पनि चित्त नबुझ्ला। उहाँहरुले फेसबुक वालमा मविरुद्ध आलोचनाका शब्दहरु खर्चनुहोला। त्यसले मलाई अझ मजबुत बनाउँछ भन्ने लागेको छ। 

हिजो मैले गाउँमा टोलकप र भालेकप फुटबल खेल्दै गर्दा पाएको एउटा समान कुरा हो असमानता। कप्तान र प्रशिक्षकको नजिक हुनेले अवसर पाउने नहुनेले नपाउने। आज एन्फाभित्र पनि उस्तै हो कि भन्ने लागेको छ। यो व्यक्तिगत विचार मात्र हो। 

यो लेख्दै गर्दा नरेन्द्र श्रेष्ठमाथि लगाइएको आरोपलाई पनि उल्लेख गर्दा सान्दर्भिक महसुस भएको छ। थापाले सेयर गरेको समाचारमा पूर्वमहिला राष्ट्रिय टोलीकी सदस्य दीपा अधिकारीले श्रेष्ठलाई विभेदकारी भएको आरोप नै लगाइन्। 

हुन त विश्व फुटबलमा महिला र पुरुषबीच विभेद सबैमाझ छर्लङ्ग छ। तर पाएको अवसर रोका गरेको चाहिँ सायदै होला। सन्दर्भ थियो, सन २४ जुन २०१७ मा ५ हजार ७ सय १२ मिटर उचाइको तान्जिनियाको माउन्ट किलिमन्जरोमा समानताका लागि खेलिएको फुटबल। नेपालबाट गोलरक्षक एन्जिला सुब्बा र दीपा अधिकारीलाई आमन्त्रण गरिएको थियो। एन्फाले आयोजकलाई एउटा पत्र लेखिदिनुपर्ने थियो, तर नरेन्द्र श्रेष्ठले ‘केटी मान्छे पनि अफ्रिका जान्छन्’ भनेर उपहास गरेको दीपाले आरोप नै लगाएकी छन्।  

फुटबल विकासमा लागेका हस्तीहरुमा अनेकौं गल्ती पाउँदा नेपाली फुटबल किन विकास हुन सकेन भन्ने प्रश्नको सतही जवाफ पाए भन्ने लागेको छ। अन्तमा नेपाली फुटबलका विराज मर्हजनको भूमिकाको बारेमा फुटबल प्रेमीमाझ चर्चा गरिरहन जरुरी छैन। 

नेपाली फुटबल खस्कँदै गरेको बेला महत्वपूर्ण ३ वटा उपाधि मात्र दिलाएनन्, २३ बर्से खडेरी नै अन्त्य गर्दा कप्तानी गरेका थिए विराजले। आज उनका लागि समेत टिममा स्थान रहेन्।

​विराजले बारम्बार भन्दै आएका छन् अस्ट्रेलियाविरुद्ध खेलबाट सन्यास लिने। टिममा समावेश गरेर कम्तीमा ५ मिनेट मात्र भए पनि खेलाएर उनको सम्मानपूर्वक बिदाइ होस्। घरेलु दर्शकमाझ विदाइ लिने उनको इच्छा एन्फाले पूरा गरिदिन्छ भन्ने लागेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.