|

म्याग्दी : गत असार २५ गतेको बाढी पहिरोबाट निकै क्षति व्यहोरेको म्याग्दीलाई पुरानै लयमा फर्काउन जिल्लास्थित राजनीतिक दल, सुरक्षा निकाय र कर्मचारीहरु लागिपरेका छन्। प्रमुख जिल्ला अधिकारी (सिडिओ) ज्ञाननाथ ढकालसमेत दिनभरी श्रमदानमा जुटेपछि म्याग्दीका स्थानीय बासिन्दाहरु दंग परेका छन्।

गलेश्वरमा रहेको बेनी-जोमसोम जोड्ने ​बेलिब्रिज मर्मत गरी अवरुद्ध सडक खुलाउन गत शनिबार श्रमदान गर्नेहरुको भीड जम्मा भएको थियो। जिल्लाका जनप्रतिनिधि, राजनीतिक दलका नेता-कार्यकर्ता, कर्मचारी र सुरक्षाकर्मीहरु भत्किएको बेलिव्रिज पुललाई मर्मत गर्न श्रमदानमा खटिएका थिए।

बाढीले रघुगंगा गाउँपालिकातर्फको बीम भत्काउँदा यातायात सेवा अवरुद्ध भएको थियो। सवारीसाधन आवागमन पुन: सहज बनाउन प्रदेश सांसद विनोद केसी, नेकपा र नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता, राष्ट्रिय युवा संघ, तरुण दल, अनेरास्ववियु र नेविसंघका कार्यकर्ताहरु श्रमदानमा खटिएका थिए। श्रमदानमा प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालसहित नेपाली सेना, सशत्र प्रहरी र नेपाल प्रहरीहरु मर्मतका लागि दिनहुँ खटिइरहेका छन्‌।​

‘विपद्को बेला म्याग्दीमा अनौठो सहकार्य देखिएको छ, यो देशकै लागि उदाहरणीय बन्नसक्छ, यस्तो बेला जसले जहाँबाट जे जति गर्न सक्छ गर्ने हो,' प्रजिअ ढकालले भने, '‘कार्यालयको कुर्सीमा बसेर सेवा प्रवाह मात्रै मेरो जिम्मेवारी होइन,अवरुद्ध बाटो पन्छाउन आवश्यक परेको ठाउँमा जन श्रमदानमा नै जान्छु।'

शारिरिक रूपमा अस्वस्थ भएपनि पुलको बीम भत्किएको ठाउँमा जाली भर्नका लागि श्रमदानमा खटिइरहेका नेकपाका सन्तोष रावलले विपत्तिका बेला सरकारको मात्र मुख ताकेर बस्न नहुने बताए।

बाढीले बेलिब्रिज बगाएपछि गत १७ दिनदेखि रघुगंगा, अन्नपूर्ण गाउँपालिकासँगै हिमाली पारीको जिल्ला मुस्ताङसम्म सडक आवागमन रोकिएको छ। यातायातका साधन सञ्‍चालन नहुँदा यी जिल्लाका स्थानीयहरु खाद्यान्न, औषधी र स्वास्थ्य सेवाबाट वञ्चित भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.