के मन पनि बाहिरी रूप जस्तै सुन्दर बन्‍न सकेको छ?

|

जीवनमा दु:ख, सुख, अनुकूलता र प्रतिकूलता त आइनै रहन्छन् त्यसैले जस्तै प्रतिकूलतामा पनि भगवान् शिवको महामृत्युंजय मन्‍त्र उच्चारण गर्नाले यी सबै कष्टबाट मुक्ति मिल्छ भनेर ऋग्वेदमै श्लोक उल्लेख गरिएको बताइन्छ।

ॐत्र्यम्बकंयजामहेसुगन्धिंपुष्टिवर्धनम् !

उर्वारुकमिवबन्धनामृत्येर्मुक्षीयमामृतात् !!

गहिरिएर सोच्ने हो भने मन्त्रमा त्यो शक्ति छ या छैन यकिन गर्न नसकिएला तर, प्रतिकूलतामा पनि आफूलाई कसरी शान्त र सौम्य राख्‍ने कला प्रत्येक व्यक्ति आफैंले जान्नुपर्ने हो।

परम्परा देखिनै हाम्रो स्वभाव र आदत कुनै मान्यतालाई लिएर अगाडि बढेको छ। परम्पराले हामीलाई जे सिकायो त्यहि अनुशरण गर्दै त आयौं तर आफैंलाई रूपान्तरण गर्ने कला कहाँ छुट्यो पत्तै पाएनौँ।

शिव अर्थात् कल्याणकारिता त्यसैले त वर्षाऋतुमा पर्ने साउन महिना र यसमा अन्तरनिहित हरियालीले प्रकृतिको सुन्दरतामार्फत मानव जीवनमा गरेको कल्याण।

कृषि कर्मको समय र कृषिले मानिसको भोको पेट भरेर गरेको कल्याण, ध्यान, पूजा, उपासना, आराधना, देवत्व र शिवत्व फलित होस् भनेर गरिएको साधना आफैंमा प्राकृतिक छ। यसलाई हामीले मान्यताकै आधारमा अगाडि बढाएका छौं या हाम्रो जीवन रूपान्तरणमा यि मान्यता सहायक छन् छुट्टयाउने खुबी भने आफ्नै हुनुपर्दछ।

मान्यता र अनुभूति

भगवान् शिवको पूजा आराधना र उपासना बाहिरबाट गरेर, मन्दिर धाएर मात्र व्यक्ति भित्रशान्ति र करूणा वृद्धि भएको छ कि छैन? आफ्नो चेतनालाई जागृत गराउने ध्यान नै उत्तम विधि हो।

उत्तमोब्रह्म, सद्भावोध्यानभावस्तुमध्यमः

स्तुर्तिजपोधमोभावोबहिर्पूजा धमाधमा !

स्तुति र जप आफ्नो प्राणद्वारा, स्वासको ख्याल द्वारा, आफ्नो कर्मप्रतिका होसद्वारा भएको छ कि छैन। यदि भएको छ भने जीवनमा भित्रैबाट रूपान्तरण आएको छ, अन्यथा बहिर्पूजा धमाधम मात्रै भईरहेको हुनसक्छ।

संसार बाहिरको धमाधम, भिडभाड, बाहिरी कर्म, बाहिरी प्रगती र उन्नति, बाहिरकै विवाद र संवादमा सिमित हुन्छ। यसले बाहिरी सम्पन्नता, सफलता र खुसी अवश्य दिन्छ। तर, बाहिरको खुसी र सफलताले मात्र मानिस सधैं खुसी र सुखी हुन सकेको भेटिएन।

समृद्ध भनिएको व्यक्तिको अनुहारमा पनि सन्तोषका रेखा र मुस्कान देख्न मुश्किल हुन्छ।यसकोएक मात्र कारण हो-मानिसलाई बाहिरको सम्पन्नतासँगै भित्रको शान्ति र आनन्द पनि चाहिन्छ।अपूर्णता र असन्तोष अनि गुनासो किन बढ्दै जान्छ? किनकि, बाहिर प्रशस्त धन हुनेले भित्रको अर्थात शान्ति र ध्यानको अनुभूति गर्न जानेन।

बाहिर सम्मान पाउनेले भित्रकोआत्मसम्मान पनि चाहिँदो रहेछ भन्ने महसुस गर्न थाल्यो। बाहिर दियो जलाउनेले आफ्नो आन्तरिक प्रकाश कसरी चम्किन्छ र सतत आनन्द र उज्यालो दिन्छ भन्ने कला भुल्यो।

बाहिर शंख, घण्टा बजाएर ध्वनि फैलाउनेले आफैंभित्र गुन्जिएको अस्तित्वको सङ्गीत सुन्न भ्याएन। बाहिरका साधारण कर्म र प्रोत्साहनमा भुल्दाभुल्दै भित्रको असाधारणतालाई प्रकट हुनै दिएन।

सफल र समृद्धिको सूत्र संसारकोमान्यतामा मात्रै देख्यो, आफ्नो अनुभूतिले के बताउँछ स्वयंको बोध पहिचान गर्नै भ्याउँदैन। बाहिरकोज्ञान र जानकारी प्रशस्त छ, त्यसले भित्रकोआत्मज्ञान र स्व-बोधलाई पटक्कै सघाउदैन। मानौं संसार घर बाहिर हो र स्व-बोध घर भित्र छ। के घर बाहिरै डुलेर साध्य लाग्छ? आफ्नो घर फर्कनु पर्दैन? अनुभूतिमा प्रवेश गर्नु घरभित्र फर्किनु हो।

कर्म र रूपान्तरण

हामी कुनै पनि कर्म अर्थात्विधि गर्दछौं भने त्यसले रूपान्तरण ल्याउँदछ। पानीलाई सय डिग्री तापक्रम दिएपछि मात्र उमलिन्छ। उम्लेपछि वाफ बन्छ, रूपान्तरण हुन सतप्रतिशत मिहिनेत र साधना जरूरत पर्दछ।

नोकरी गर्छौं, सही तरिकाले मिहिनेत गर्छौं, धन आर्जन हुन्छ अनि जीवनस्तरमा रूपान्तरण आउँछ। कसैलाई दु:खमा सहयोग गर्छौं, आफ्नो परोपकारी भावना खुलेर आउँछ अनि भित्रबाट आनन्द आउँछ।

ध्यानको अभ्यासलाई निरन्तरता दिन्छौं भित्रको चेतनाप्रति जागृत हुन्छ अनि बाहिरका गुनासो र कुण्ठाहरू आफैं हराएर जान्छन्। योग गर्छौं प्राकृतिक स्वभावसँग जोडिन पुग्छौं अप्राकृतिक तत्वहरू छुट्दै जान्छन्। योग मार्फत हरेक कर्ममा होशपूर्वकजोडिंदै गएपछि बिजोग अवस्थामा पुग्नुपर्दैन।

साउनको पहिरन भन्दै हरिया, पहेंला चुरा पोते, सौभाग्यका सामग्री प्रयोग गर्छौं बाहिरबाट सुन्दर देखिन्छौं, के मन पनि बाहिरी रूप जस्तै सुन्दर बन्न सकेको छ ? मन्दिर जान्छौं, फूल अक्षता, धूप, बत्तीले आराधना गर्दछौं, प्रसाद चढाउछौँ। त्यसबाट आउने रूपान्तरण के हो, बोध भएको छ?

अस्तित्वले हामीलाई दिएका प्रसाद र उपहारहरूको हेक्का छ ? विना मागे, अमूल्य उपहार र प्रसाद त उसले नै वर्षाईरहेछ। हामीले अस्तित्वलाई अहोभाव व्यक्त गरेका छौं ? अस्तित्वसँग एकाकार हुने ध्यानको विधिलाई अभ्यासमा ल्याएका छौं ? भगवान शिवको आराधना गर्दछौं तर भगवान शिवले दिएका १०८ ध्यान विधि मध्ये कुन विधि अपनाएर जीवनलाई आन्तरिक रूपमा रूपान्तरण गरेका छौं?

संसारका कमजोरीप्रति साक्षी बन्दै आफ्नो तर्फबाट पहल गर्ने र अरूको समीक्षा गर्नुभन्दा आफ्नै आत्मसमिक्षा गरी आफ्नो जीवनलाई आन्तरिक रूपान्तरण गर्नु बुद्धिमानी हुनेछ। तर अभाव र प्रभावमा जिउने रस बसुन्जेल आफ्नो स्वभावको पहिचान गर्न व्यक्ति तत्पर नै हुँदैन।

बढेको अराजकता होस् या व्यक्तिमा बढेको तनाव सबै आत्मसमिक्षाका अभावका कारण हुन्।फैसला दिन सक्नेले न्याय दिन्छ नै भन्ने छैन किनकी न्याय त आत्मसमिक्षाबाट आउनुपर्छ। न्याय किताबमा हुँदैन व्यक्तिको हृदयमा हुनुपर्दछ, बोधमा हुनुपर्छ।

अध्ययनले व्यक्तिको पदोन्नति हुन सक्छ र सर्वोच्च पदमा पुग्न सक्छ तर उसको चेतना उच्च हुन्छ भन्ने छैन। उच्च चेतनामा बाँच्न त उसमा रूपान्तरण आएको हुनुपर्दछ।

शून्यताको बोध

धेरै समयको अन्तरालमा मुल्लानसरुद्दीनको साथी रहमान उनलाई भेट्न आए र आफ्नो छोराको लागि- उनको छोरीको विवाह अगाडि बढाउन अनुरोध गरे। मुल्लान सरुद्दीनले भने- रहमान तिम्रो अधबेस्रो छोरालाई मेरी छोरी कसरी दिन सक्छु तिमी सोच त ! रहमानले भने- होइन मुल्ला तिम्री छोरी पनि त राम्ररी बोल्न जान्दिनन्, एउटा खुट्टो खोच्याउंछिन्, अनुहार पनि त्यति सुन्दर होइन क्यारे।

हामी साथीसाथी भएको कारण यो सम्बन्धलाई अगाडि बढाऊँ भनेर अनुरोध गरेको मात्र हो। मुल्लाले भने- त्यसो भए म घर सल्लाह गरेर तिमीलाई भन्छु २ दिन पछि आऊ। दुइदिन बितेपछि रहमान आफ्नो छोरा सहित मुल्लाको घर आए।

रहमानले अभिवादन गरे, छोरालाई पनि गर्न लगाए र सोधे- तिम्री छोरी खोइ त ? मुल्लाझर्कंदै बोले- उसको हिजो बिहे भैसक्यो। ल, एकदिनको बिचमै ? कोसँग, कसरी ? मुल्ला बोले- मेरी छोरीको बिहे डाक्टरसँग भयो। रहमानले भने- पत्याउनै नसक्ने र हुनै नसक्ने कुरा नगर न ! तिम्री त्यस्ति छोरी अनि डाक्टरसँग बिहे ?

मुल्लाले भने – मेरो लागि त्यो केटा डाक्टर नै हो किनभने मेरो वर्षौंदेखि दुखिरहेको टाउको त्यसले ठिक गरिदिएको छ। एकछिन सबैमा सन्नाटा छायो...शून्यता छायो। बोध कथाले बताउँछ हरेक घटनापछि एउटा शुन्यता आउँछ जहाँ विचारको र तर्कको काम छैन। केवल बोध बाँकि रहन्छ। हरेक कर्म र सम्बन्धको बिचमा, सफलता र असफलताको बिचमा एउटा समय चाहिन्छ जहाँ केवल बोध बाँकि रहोस्।

श्‍वासप्रश्‍वास गर्दा आउँदै जाँदै गरेको स्वासको बिचमा एउटा अन्तराल हुन्छ जसलाई शुन्यता भनेर जान्न सकिन्छ। सेमिनार, कार्यक्रम या कुनै छलफलको बिचमा पनि एउटा शून्य समय राखिएको हुन्छ। त्यो, समय जसमा कुनै विचार व्यक्त हुँदैनन्, कुनै संवाद र विवाद हुँदैन, केवल शुन्यता र बोध बाँकी रहन्छ।

कम्तिमा दैनिक एक घण्टा सबै कुराबाट खाली हुनसक्नु पनि एउटा कला हो। ध्यानको अभ्यासले यो शून्यताको समय प्राप्त हुन्छ त्यतिबेला केवल आफ्नो बोध बाँकी रहन्छ।

विचार शान्त, मन शान्त, शरीर विश्रामपूर्ण, केवल शुन्यता र ग्रहणशीलताको अवस्थामा केहि समय रहन सक्यौं भने जीवन नजानिँदो तरिकाले नयाँ आयाममा बाँच्न सकिन्छ।

सधैं हतार, दौडधूप, कर्मकाण्डमाबित्ने दिनको २४ घण्टा मध्ये कति समय हामीले आफूलाई दिएका हुन्छौं ? भगवान शिवको आराधना र स्मरणमा भनेर साउनको महिनालाई महत्वपूर्ण महिनाको रूपमा लिन्छौं।प्रत्येक सोमबार मन्दिर जाने र व्रत बस्ने गर्छौं।

महिलाहरूलेसाउनको पहिरन हरियो, पहेंलो भन्दै आफैं नयाँ नयाँ पहिरन सृजना गरेका छौं। सधैं अनेक कर्मकाण्ड र बहानामा व्यस्त छौं। बाहिरबाट यो ठिक छ तर यसले हाम्रो भित्रको शान्ति, आनन्द र बोधमा कसरी सहयोग गर्छ? बाहिरी क्रियाकलाप, सुख, रमाइलो, दु:ख सबै मनका उत्तेजना हुन्। यी स्थायी हुँदैनन्, एकपछि अर्को उत्तेजना आइनै रहन्छन्।

केही समय छुट्टयाएर खाली हुने कोशिस गरौँ त कस्तो अनुभूति होला? केवल खालीपन र शून्यतामा अस्तित्वबोध बाँकि रहन्छ, यो नै असली आराधना र साधना हो। सबै कुरा भएर पनि एकछिनलाई खाली हुने कोशिस गरौँ, मनन गरौँ, चिन्तन गरौं!

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.