थापा भन्छन् : छलफल सकारात्मक छ

|

काठमाडौं : राप्रपाका संस्थापक अध्यक्ष सूर्यबहादुर थापाका छोरा तथा राप्रपाका नेता सुनिलबहादुर थापा कांग्रेसमा प्रवेश गर्ने पक्का भएको छ। कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी तथा कांग्रेस नेतृ आरजु राणाको विशेष सक्रियतामा राप्रपा परित्याग गरी कांग्रेस प्रवेश गर्न लागेका हुन्। त्यस्तै, धनकुटा कांग्रेसका पूर्व-सभापति  मनोहर नारायण श्रेष्ठले पनि थापालाई कांग्रेसमा ल्याउन मुख्य भूमिका खेलेका छन्। 

देउवाले सुनिल थापाको टोलीसँग छलफलको जिम्मा पार्टी उपसभापति विमलेन्द्र निधिलाई दिएका छन्। ‘थापाजीहरूसँग छलफल भइरहेको छ,’ निधिले थाहाखबरसँग भने, ‘यो पद दिने, लिने भन्ने विषयमा भनेर त म अहिले केही भन्दिनँ उहाँहरूको ठूलै पदका लागि छ हामी छलफलमै छौँ।’ गत साउन १० गते राप्रपाका तीनवटै अध्यक्षलाई सम्बोधन गर्दै थापासहित राप्रपाका ३१ नेताले राजीनामा पत्र बुझाएका थिए। कांग्रेस प्रवेशका लागि आन्तरिक गृहकार्य सकेर थापा धनकुटाबाट हिजो आइतबार मात्रै काठमाडौं फर्किएका छन्।

धनकुटा बसाइको क्रममा थापाले आफूसँगै राप्रपा छोडेका धनकुटाका वडा, गाउँ, नगर समितिलाई कसरी व्यवस्था गर्ने भन्ने विषयमा धनकुटा कांग्रेस छलफलसमेत गरे। धनकुटा राप्रपा कांग्रेसमा समाहित भइसकेको छ यसको औपचारिक घोषणा मंगलबार थापाको टोली सानेपा पुगेर कांग्रेस प्रवेश गरेपछि मात्रै हुनेछ। 

थापानिकट स्रोतका अनुसार कांग्रेसले भोलि (मंगलबार) पार्टी प्रवेश कार्यक्रम राखेको छ। कांग्रेस सभापति देउवाले सानेपामा थापाको समूहलाई पार्टी प्रवेश गराउने छन्। त्यस्तै, भोलि मंगलबार नै प्रदेश १ को राप्रपाको विभिन्न समितिका नेता तथा कार्यकर्ता पनि कांग्रेस प्रवेश गर्नेछन्। उनीहरूलाई प्रदेश १ कांग्रेसले कांग्रेसमा स्वागत गर्नेछ। ‘सुनिल थापाले महामन्त्री नै माग्नु भएको हो तर, कांग्रेस सभापति देउवाले पार्टीमा सहमति जुटाउन सकिनँ सहमहामन्त्री हुन्छ भन्नु भएको छ,’ थापाको सचिवालय स्रोतले भन्यो, ‘थापाज्यूलाई सहमहामन्त्री र अरू पाँच जनालाई केन्द्रीय सदस्य दिने विषयमा छलफल भएको छ। सहमति भएको माइन्यूट गर्न मात्रै बाँकी हो अरू कुरा टुंगिएको छ।’ 

छलफल सकरात्मक नै छ : थापा

यता, सुनिल थापा पनि कांग्रेस प्रवेशको विषयमा छलफल सकरात्मक रहेको बताउँछन्। उनले थाहा खबरसँग भने, ‘कांग्रेस प्रवेशको विषयमा भएको छलफलहरू सकरात्मक छन्।’ 
थापालाई महामन्त्री र केन्द्रीय सदस्यहरूमा काठमाडौंका किरण गिरी, सिन्धुपाल्चोकका विष्णु विक्रम थापा, भोजपुरका बाबुराम बस्नेत र बाराका बृजलाल यादव लैजाने तयारी गरिएको छ।

थापाले कांग्रेसका नेताहरूसँगको छलफलमा राप्रपामा केन्द्रीय जिम्मेवारी पाएका नेतालाई कांग्रेसमा पनि सोहीअनुसार जिम्मेवारी दिनुपर्ने माग राखेका छन्। थापाको समूहले मंगलबार बिहान कांग्रेस उपसभापति निधि लगायतका नेताहरूसँग अन्तिम छलफल गरेर केन्द्रीय सदस्य ककसलाई बनाउने टुंगो लगाउने छ। थापाको समूहलाई कांग्रेसले राजनीतिक निर्णयका आधारमा समाहित गरी जिम्मेवारी दिनेछ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.