पहिलोपटक नेपाली कामदारको 'अस्तु' ल्याइयो

|

काठमाडौं : विभिन्न समयमा  वैदेशिक रोजगारको सिलसिलामा गएका नेपाली कामदारको उद्धार गर्न सरकारले वैदेशिक रोजगार बोर्डमार्फत ७५ करोड छुट्याएको छ। उक्त रकम वैदेशिक रोजगारमा गएका कामदारको कल्याणकारी कोषबाट छुट्टयाएको हो।

विदेशमा एक वर्ष अवधिमा रोजगारी गुमाएको र एकवर्ष भन्दा बढी करार अवधिमा रोजगार गुमाएकालाई ल्याउने तयारी गरेको छ। श्रम स्वीकृति लिई गएका कामदारलाई मात्र उद्धार गर्ने भएको हो।

नेपाल फर्कने चाहने नेपालीले विदेशस्थित कूटनीतिक नियोगको कार्यालयमा सम्पर्क गरी उपलब्ध प्रमाणसहित कागजात पेस गरी नेपाल फर्कन चाहेमा उद्धार गरिने वैदेशिक रोजगार बोर्डका सूचना अधिकारी दीनबन्धु सुवेदीले बताए।

बोर्डको कामदार कल्याण कोषमा ५ अर्ब २ करोड रहेकाे र त्यहीँ पैसाले कामदारको उद्धार तथा बिरामी परेमा उपचार गरिने उनले जनाए। नियमित अन्तर्राष्ट्रिय उडान भएपछि सरकारले सार्वजनिक गरेको मापदण्डभित्र परेका सबै कामदारलाई स्वदेश फर्काइने सूचना अधिकारी सुवेदीले थाहाखबरलाई बताए।

उनका अनुसार नियोगमा रोजगार गुमाएको प्रमाणपत्र सहित पेश गर्नुपर्छ। कम्पनीले करार अवधि अगावै कामबाट निकालेको स-प्रमाण दूतावासले उपलब्ध गराएको फारममा समावेश गर्नुपर्छ।

साउदी अरब, मलेसिया, युएई र कतारमा बढी कामदार अलपत्र रहेको पनि उनले जानकारी दिए। विदेशमा रहेका नियोगले नेपाल फर्कने चाहने कामदारको लागत संकलन गरिरहेको उनले बताए।

एक वर्षभन्दा कम रोजगार करार अवधिमा रोजगार गुमाएकालाई शत प्रतिशत खर्च र एक वर्ष वा सोभन्दा बढी रोजगार अवधि भएकाले गुमाएकालाई ७५ प्रतिशत खर्च व्यहोरी नेपाल उद्धार गरिने जानकारी दिए।

'बोर्डको पहिलो प्राथमिकतामा रोजगार गुमाई अलपत्र परी बसेकाहरु हुन्छन,' सुवेदीले भने, 'नेपाली कामदार रहेका मुलुकमा नेपाली राजदूतावास छन। दूतावासको संयोजनमा उद्धार गर्ने काम भइरहेको छ।' ल्याउनुपर्ने कोही पनि नछुट्ने तर सरकारले तयार पारेको मापदण्डअनुसार कामदारले प्रमाण पेस गर्नुपर्ने उनको दाबी छ।

बिरामी, अशक्त तथा ल्याउनैपर्ने कामदार जसरी पनि ल्याइने त्यस्ता कामदारका लागि दूतावासले प्राथमिकतामा वर्गीकरण गर्ने उनले बताए।

चार्टर्ड उडानमा आएकाले टिकटको पैसा पाउने

लकडाउनमा विदेशमा अलपत्र परी बसेका चार्टड उडानबाट अलपत्र परी ल्याइएको नागरिकको टिकटको पैसा फिर्ता दिने उनले बताए। उनले भने,' कामदारले वैदेशिक रोजगार विभागमार्फत सम्बन्धित मुलुकमा रहेको नेपाली नियोगमा सम्पर्क गरेर कसरी आएको त्यो सबै प्रमाणसहित पेस गरेमा वैदेशिक रोजगार बोर्डले चार्टर्ड उडानमा आएकाको टिकट खर्च दिनेछ।'

गत आवमा उद्धार गर्न ७० लाख पठायो

विदेशमा रहेका नेपाली कामदारको उद्धार तथा राहतका लागि यस वर्ष बोर्डले ७० लाख रुपैयाँ पठाएको छ। परराष्ट्र मन्त्रालयमार्फत विदेशस्थित कूटनीतिक नियोगलाई उक्त रकम पठाइएको हो।

मलेसिया १० लाख, साउदी अरब २५ लाख, बहराइन १५ लाख र युएईमा २० लाख पठाइएको हो। बढी अलपत्र कामदार रहेको र उद्धार गरिहाल्नुपर्ने अवस्थामा रहेकाहरुलाई उक्त रकम पठाइएको सुवेदीले बताए।

'पहिलोपटक नेपाली कामदारको 'अस्तु' ल्याइयो'

पहिलोपटक विदेशमा मृत्यु भएका कामदारको 'अस्तु' स्वदेश ल्याइएको  पनि सुवेदीले जानकारी दिए। सप्तरीबाट गएका नेपाली कामदारको मलेसियामा मृत्यु भएको थियो।

उनले भने,' मृतकको शवको अन्त्येष्टि उतै गरिएको थियो। दूतावासले कम्पनीसँग संयोजन गरेर उक्त अस्तु झिकाइएको हो।'  सरकारले लकडाउन अवधिमा  सम्बन्धित मुलुकमा १ सय ६५ शवको अन्त्येष्टि गर्न अनुमति दिएको थियो। लकडाउनमा २ सय १७ शव ल्याएको र ९३ शव बाँकी रहेको उनले जानकारी उनले जानकारी दिए।

अलपत्र नेपालीलाई उद्धार​ गर्न सर्वोच्चको आदेश

विदेशमा अलपत्र नेपाली कामदारलाई सरकारी कोषकै रकमबाट उद्धार गर्न सर्वोच्च अदालतले आदेश दिइसकेको छ। असार १ गते  न्यायाधीशहरू डा. आनन्दमोहन भट्टराई र हरिप्रसाद फुँयालको इजलासले श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जाने नेपालीले रकम योगदान गरेको वैदेशिक रोजगारी कल्याणकारी कोषबाट खर्च निकालेर उद्धार गर्न आदेश दिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.