फ्रन्ट लाइनमा खटिँदा उच्च जोखिम

|

रामप्रसाद तिमल्सिना

जोन हप्किन्स युनिभर्सिटी एण्ड मेडिसिन कोरोना भाइरस रिसोर्स सेन्टरका अनुसार मानिसबाट मानिसमा सजिलै सर्न सक्ने यो महामारीले हालसम्म विश्‍वमा करिब साढे ६ लाख मानिसको ज्यान लिइसकेको छ। करिब एक करोड ६० लाख मानिसहरुमा संक्रमण फैलिसकेको अवस्था छ। करिब एक करोड मानिस संक्रमणलाई जितेर स्वस्थ्य भएका छन्।

वुहान विश्‍व विद्यालयमा अध्ययनरत ३२ वर्षीय युवक नेपाल फर्किएपछि उनमा २३ जनवरी २०२० मा कोभिड-१९ पुष्टि भएसँगै प्रथम संक्रमण नेपालमा देखिएको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४५ जनाले ज्यान गुमाउँदा अठार हजारको हाराहारीमा संक्रमित भएका छन्। करिब १२ हजार संक्रमितले स्वास्थ्य लाभ गरेका छन्।

विज्ञान र प्रविधिको युगमा संसारलाई सानो गाउँको रुपमा बुझ्न थालिएको बुझाइमा यो महामारीले पुनः एक व्यक्ति देख्दा अर्को डराउनुपर्ने प्राचीन जीवन पद्धतिमा फर्काइदिएको छ। फरक यति मात्रै हो, त्यस बेला एकबाट अर्कोलाई भौतिक सुरक्षाको भय हुन्थ्यो भने हाल संक्रमणको।

यस महामारीबाट बाँच्न विश्वले बन्दाबन्दी र भौतिक दूरी कायम गर्ने कुरालाई मुख्य रुपमा पालना गरिरहेको छ। यसको खोप नआएसम्म जसको विकल्प पनि देखिएको छैन। विश्‍व स्वास्थ्य संगठनले ३० जनवरी २०२० मा कोभिड-१९ का कारण सार्वजनिक स्वास्थ्य संकटको घोषणा गरेर यो महामारी भयावह रुपमा भोग्नु पर्ने संकेत गरेको थियो।

कोभिड-१९ ले मानव जीवनका सामाजिक, आर्थिक, धार्मिक, सांस्कृतिक एवम् सम्पूर्ण आयामहरू प्रभावित गरिरहेको छ। अझ विज्ञहरुले कोभिड-१९ मानव जीवनमा अन्य सरुवा रोगहरु जस्तै रहिरहन सक्ने चेतावनीसमेत दिएका छन्। कोभिड-१९ भाइरस मानव जीवनमा रहिरह्यो भने यो सँगसँगै दैनिक जीवनका गतिविधि अनुकूल बनाउनुको विकल्प छैन।

कोभिड-१९ का बिरामीहरुको उपचारमा संलग्न स्वास्थ्यकर्मी, नागरिकको सेवामा खट्ने सुरक्षाकर्मी सबैभन्दा खतरामा रहेको तथ्य सर्वविदितै छ। नेपाल प्रहरीलगायत अन्य सुरक्षाकर्मीहरुले कोभिड-१९ का बिरामीहरुको उपचार, उद्धार र व्यवस्थापनमा संलग्न हुनुपर्छ।

भौतिक दूरी र बन्दाबन्दीको प्रभावकारी कार्यान्वयन गर्न, गराउन तथा तीनै तहका सरकारहरूबाट राहत वितरणको कार्यमा अहोरात्र खट्ने दायित्व पनि थपिएको छ। 

यो लेख तयार हुँदासम्म प्रहरी प्रधान कार्यालय, कोभिड-१९ डेस्कका अनुसार नेपालमा नेपाल प्रहरीका दुई सयको हाराहारीमा  प्रहरी कर्मचारीहरु  कोभिड-१९  बाट संक्रमित भइसकेका छन। तीमध्ये आधा जसो संक्रमणबाट निको भइसकेका छन्। बाँकीले पनि छिट्टै स्वास्थ्य लाभ हुने आशा गरिएको छ। करिब ८० हजारको हाराहारीमा कार्यरत रहेका नेपाल प्रहरीले तीनवटा मुख्य कार्य गर्नुपर्दछ। यसबाहेक सशस्त्र प्रहरी र नेपाली सेनाका अधिकृत तथा जवान पनि पीडित भएका छन्।

अपराधको रोकथाम र नियन्त्रण, शान्ति सुरक्षाको प्रत्याभूति गरी समाजमा अमन चयन कायम गर्ने र समाजमा फौजदारी अपराध अनुसन्धान गर्ने कार्यहरु पर्छन्। फौजदारी अपराध संहिता २०७४ अनुसार अनुसूची-१ मा रहेका मुद्दाको अनुसन्धान गर्ने जिम्मेवारी पनि नेपाल प्रहरीको हो।

यस अतिरिक्त समाजमा परी आउने कैयन् व्यवस्थापन गर्ने कार्य र प्राकृतिक प्रकोपमा उद्धार कार्यमा नागरिकहरुले नेपाल प्रहरीको सहयोगको अपेक्षा गरिरहेका हुन्छन्। यसरी नेपाल प्रहरीमा धेरै काम गर्नुपर्ने कानुनी र व्यवहारिक जिम्मेवारी छ।

समुदायमा कुनै फौजदारी अपराधको घटना भयो भने प्रहरीले घटनास्थलको सुरक्षा, सबुदहरुको संकलन, घटनास्थलको मुचुल्का लेखन, प्रतिवादीहरुको खोजी र पक्राउ, मुद्दा दर्ता र म्याद थप लगायतका धेरै कार्यविधिका हरेक चरणमा काम गर्नुपर्ने हुन्छ।

प्राकृतिक विपद्को समयमा प्रहरीले उद्धार तथा राहत वितरण कार्यमा प्रत्यक्ष खटिनुपर्ने हुन्छ। अझ केही चुनौतीपूर्ण र जोखिमपूर्ण काम गर्नुपर्दा प्रहरीले सहयोग गरिदिए हुने भनी समुदायमा रहेको पाइन्छ।

यसरी हेर्ने हो भने नेपाल प्रहरीका कर्मचारीले आफुलाई सधैं जोखिममा राखेर काम गर्नु परिरहेको हुन्छ। उनीहरुको शारीरिक एवम् मानसिक स्वास्थ्यलाई सन्तुलित बनाउँदै अघि बढे मात्र हालको कोभिड-१९ संक्रमणबाट बाँच्न र बँचाउन सकिन्छ।

भौतिक दूरीमा रहँदै प्रहरी कार्य गर्ने, रहनै नसक्ने गरी ड्युटी गर्नुपर्ने अवस्थामा स्वास्थ्य सुरक्षाका सामग्रीहरुको प्रयोग गर्नुपर्दछ। पक्राउ गर्नुपर्ने व्यक्तिहरुलाई सम्भव भएसम्म सोसल डिस्टान्सिङ प्लायर्स प्रयोग गरी नियन्त्रणमा लिनुपर्दछ।

नेपालमा कोभिड-१९ ले पार्न सक्ने प्रभाव तथा प्रतिकार्यका लागि स्वास्थ्यसम्बन्धी सुरक्षात्मक सामग्रीको अपर्याप्तताको बाबजुद पनि उच्च मनोबलका साथ राष्ट्रिय हित एवं नागरिक सेवाका खातिर कार्य गर्दै आइरहेको छ।

नेपाल सरकारले बन्दाबन्दी घोषणा गर्नुअघि र घोषणा गरेपश्चात् नेपाल प्रहरीले प्रतिकार्यका लागि दैनिक काम कारवाहीमा विभिन्‍न किसिमका समस्या र चुनौती सामना गर्नु परिरहेकै छ।

दिन-प्रतिदिन प्रहरी कर्मचारीमा पनि कोभिड-१९ संक्रमणको दर बढ्दै गइरहेको परिवेशमा प्रहरी कर्मचारीहरु उच्च मनोबलका साथ कार्य सम्पादनका लागि सेवा दिइरहेका छन्। आफ्नो काम थप प्रभावकारी बनाउन दैनिक कार्य सम्पादन गर्दा देखापरेका व्यक्तिगत र साङ्गठानिक समस्याहरु पनि छन्।

महामारीको विषम परिस्थितिमा पनि प्रहरी कार्य तथा प्रतिकार्यलाई निरन्तरता दिन थप शारीरिक र मानसिक समस्या निराकरण गर्दै अघि बढ्नुको विकल्प छैन। यसका लागि प्रहरी कर्मचारीले आफूलाई गतिशील राख्नुपर्दछ।

कोभिड १९को महामारी लामो समय सम्म जान सक्ने हुँदा आफूलाई सोही अनुरुप समायोजन गर्नुपर्दछ। एक अर्काको ख्याल गर्दै सहकर्मी काममा वा प्रतिकार्यमा खटिएको बेलामा संक्रमणको जोखिममा रहेका हुनसक्छन् भन्ने कुरालाई हेक्का राख्नु पर्छ। आफ्नो वरपरको वातावरण बारे सचेत भई, थकाई, तनाव र कार्य बोझले गर्दा प्रहरी कर्मचारीले स्वयं र अरुलाई संक्रमण सार्ने जोखिमलाई ख्याल गरेर काम गर्नु पर्छ।

सम्भव भएसम्म थकान भएका बेला आरामको लागि ब्रेक लिनुपर्दछ। लामो सिफ्टमा खटिँदा हुने मानसिक थकानका कारण प्रहरी कर्मचारीहरुमा विभिन्‍न किसिमका मानसिक रोगहरुको समेत खतरा हुनसक्छ।

कोभिड-१९ नितान्त नयाँ महामारी भएकोले नजानेका बिषयमा आफन्तजन एवं सहकर्मी साथीहरुसँग सेयर गर्न, सल्लाह लिनुपर्छ। दैनिक काम सकिएपछि सम्भव भएसम्म कमान्डरले ब्रिफिङ गरी राम्रो कार्यको सराहना  धन्यवाद ज्ञापन गर्दै मातहतका कर्मचारीलाई उत्प्रेरित गर्नुपर्छ।

शारीरिक तन्दुरुस्तीका लागि स्वस्थ दैनिकी परिपालना गर्दै आवश्यक व्यायामलाई निरन्तरता दिनुपर्दछ। प्रशस्त तरल पेय पिउने र लामो कार्यमा समेत पानी बोकी जहाँ पायो त्यहीँको खानेकुरा नखाने बानी गर्नुपर्दछ। सन्तुलित र स्वस्थ खानेकुरा खाने र सक्दो व्यायाम गर्ने, दैनिक कम्तीमा २० मिनेट हिँड्दा पनि शारीरिक स्फुर्त आउँछ।

मानसिक स्वास्थ्यको लागि फोन, म्यासेज र सोसल मिडियाको सही प्रयोग गरी ड्युटीमा नरहेका बखत परिवारका सदस्य र साथीसँग नियमित सम्पर्क गर्नुपर्दछ। समयको सदुपयोग गर्दै गीतसंगीत र मनोरञ्जनका गतिविधिमा सहभागी भई सिर्जनशील समय बिताउनुपर्दछ। आफ्नो रुचि अनुसारका कार्यमा व्यस्त रहनुपर्दछ।

आफ्नो तर्फबाट गर्न सक्ने विषय पहिचान गरी सकारात्मक परिवर्तन गर्दै संगठन, समाज र आफ्नो रूचिका कार्यमा केही गर्ने सोच राख्नु नै बुद्धिमानी हुन्छ। आफूसँग सद्भाव राख्ने साथीभाइ आफन्तसँग कुराकानी गरी आफ्ना अनुभव र अफठ्यारोबारे छलफल गर्नुपर्छ।

आफूलाई कुनै तनाव भए सो को पहिचान गरी व्यक्तिगत, साङ्गठानिक र बाह्य प्रयासका माध्यमबाट तनाव व्यवस्थापन गर्दै व्यवसायिक कामलाई निरन्तरता दिनुपर्दछ। व्यक्तिगत प्रयास अन्तर्गत स्वास्थ्य सतर्कता जस्तै व्यायाम, हिँडडुल, खेलकुद, पौडी लगायतका क्रियाकलापहरू पर्दछन्l। मनोरञ्जन गर्ने, ध्यान, पुस्तक अध्ययन, संगीत श्रवण, दृश्यावलोकन आदि कार्यहरुमा तल्लिन रहनु लाभदायी हुन्छ।

काम सकेपछि समयमा एकान्तमा नबस्ने, साथीभाइसँग घुलमिल हुने, हाँसो ठट्टा गर्नाले तनाव हुन दिँदैन। खानपिन तालिका बनाउने, ताजा खानेकुरा खाने, समय पालना गर्ने, भविष्यको चिन्ता र विगतको पश्चाताप नगरी वर्तमानमा रमाउन प्रयास गर्नाले व्यवसायिक जीवन सफल हुन्छ।

आवश्यकता अनुसार मनोचिकित्सकसँग परामर्श लिनु परे परामर्श लिनुपर्दछ। कोभिड-१९ लामो समय रहन सक्छ भनेर आफूलाई तयार गर्दै योग, ध्यान लगायतका लागि समय मिलाइ कठीन परिस्थितिमा समेत शान्त रहँदै आनन्दित हुनु पर्दछ। साङ्गठानिक प्रयासले समेत कतिपय अवस्थामा तनाव व्यवस्थापन गर्न मद्दत पुग्छ।

गुनासो सुनुवाई, सहभागीमूलक व्यवस्थापन शैली, अवसरहरूको समानुपातिक वितरण, तनाव कम गर्ने सम्बन्धी कार्यक्रमहरुको आयोजना गरी प्रहरी कर्मचारीको बढी भन्दा बढी सहभागिता र उपयुक्त सहयोगात्मक वातावरण बनाई कार्य सम्पादन र व्यक्तिगत जीवनमा सन्तुलन ल्याउन सक्नु पर्छ। त्यस्तै सामाजिक संगठनहरुका कतिपय आध्यात्मिक चेतना फैलाउने, कर्तव्य बोध गराउने सम्बन्धी कार्यक्रमहरुलाई प्राथमिकता दिई सरिक हुने वाताबरण निर्माण गर्दा पनि मानसिक शान्ति हुन्छ र कार्यसम्पादनमा सहयोग पुग्छ।

 मानिसको लागि खाना, पानी, परिवार र आफ्नोपनको अनुभूति जस्तै तनाव पनि अपरिहार्य विशेषता हो। कुनै विषयमा चिन्तन नै नगर्नु, सोच नहुनु र हुन सक्ने परिणामका लागि तयार नै नहुनु भनेको न्यून मानसिक सतर्कता हो। सामान्य अबस्थामा समेत सतर्कता राख्ने हद नाघेमा तनाव सृजना हुन्छ।

कोभिड-१९ ले झन त्यतिकै प्रहरी कर्मचारीहरुमा तनावको सिर्जना गरिरहेको छ। त्यसैले तनाव न्यूनीकरणका साथै उपयुक्त सतर्कता राख्ने दुवै शैली आवश्यक हुन्छ। तनाव दिमागसँग सम्बन्धित हुनाले यति नै तनाव ठिक हो भनेर नाप्न सकिँदैन न त तनाव नै लिन्‍न भनेर छुटकारा नै पाउन सकिन्छ।

त्यसैले यसलाई सन्तुलित अवस्थामा राखिरहन अपरिहार्य छ। कोभिड-१९ कति समय मानवजातिले झेल्नु पर्ने हो भन्ने सम्बन्धमा कुनै यकिन नहुनुले पनि यसबाट सिर्जित तनावलाई समायोजन गर्दै लानुपर्ने देखिन्छ। झन् समाजका अव्यवस्थाहरूको उचित व्यवस्थापन गर्ने एवं प्रतिकार्यमा निरन्तर खटिनुपर्ने प्रहरी कर्मचारीहरुले आफ्नो शारीरिक र मानसिक अवस्थालाई सुदृढ गरी कार्यक्षेत्रमा डट्नुपर्छ।

प्रहरी निरीक्षक तिमल्सिना हाल आसरा सुधार केन्द्र पानवारी, धरानमा कार्यरत छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.