|

काठमाडाैं : राष्ट्रिय खेलकुद परिषदमा रमेशकुमार सिलवाल पुन नियुक्त भएका छन्। खेलकुद विकास ऐन २०७७ लागु भएपछि तीन साताअघि पदमुक्त भएका सिलवाल पुन आवेदन हालेर नियुक्ति लिन सफल भएका हुन्।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सिलवाललाई ४ वर्षका लागि राखेप सदस्य सचिवमा नियुक्त गरको हो। त्यस्तै उपाध्यक्षमा शिव कोइरालालाई नियुक्त गरिएको छ। यसअघि पिताम्बर तिमल्सिना उपाध्यक्षका रुपमा रहेका थिए।

गत वर्ष असार २३ गते पहिलो पटक सदस्य सचिव नियुक्त भएका सिलवालसहित राखेपका तत्कालिन पदाधिकारी एवंम सदस्य राष्ट्रिय खेलकुद विकास ऐन २०७७ लागु भएपछि १८ असारमा पद मुक्त भएका थिए।

विगतमा भन्दा छनोट प्रक्रिया फरक भएपनि राजनितिक नियुक्तिकै आधारमा उनले राखेपको सदस्यसचिवको नियुक्ति लिन सफल भए। यसअघि नेपाल भलिबल संघको सिफारिसमा युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माबाट सदस्य सचिव नियुक्त भएका सिलवाल यसपटक नयाँ खेलकुद विकास ऐन २०७७ का आधारमा छनोट हुन सफल रहे।

सिलवालकै चाहनामा सदस्यसचिव

प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासपात्रका रुपमा रहेका सिलवाल दोस्रो पटक पनि उनकै चाहनामा सदस्य सचिव नियुक्त भएका छन्। नयाँ ऐन अनुसार युवा तथा खेलकुद मन्त्रालयका सचिवको संयोजकत्वमा रहेको सिफरिस समितिले पठाएको एक महिलासहित ३ जनाबाट सिलवाल सदस्य सचिव नियुक्त भएका हुन्। समितिले राष्ट्रिय महिला भलिबल टोलीकी पूर्व कप्तान अन्जु श्रेष्ठ र नेपाल भलिबल संघका पूर्व उपाध्यक्ष लिलबहादुर थापाको नाम सिफारिस गरेको थियो।

मन्त्रालयले सार्वजानिक गरेको सुचनामा २७ जनाले सदस्य सचिवका लागि आवेदन दिएका थिए। त्यसबाट खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलिया संयोजक तथा राखेपकी पूर्व सदस्य इन्दिरा निरौला र राखेपका पूर्व कर्मचारी रिम रानाभाट सदस्य रहेको समितिले सिलवाल, श्रेष्ठ र थापाको नाम खेलकुद मन्त्रालयलाई बुझाएको थियो। मन्त्रालयले बुधबार नै क्याबिनेटमा राखेप सदस्य सचिवको सिफारिस दर्ता गराएको थियो।

त्यस्तै १३ औं दक्षिण एसियाली खेलकुद (साग) को प्रचार प्रसार विभाग संयोजकको जिम्मेवारी निर्वाह गरेका शिव कोइराला राष्ट्रिय खेलकुद परिषद् (राखेप) को उपाध्यक्ष नियुक्त भएका छन्। बैठकले राखेप उपाध्यक्षमा कोइराला र सदस्य सचिवमा रमेश सिलवाललाई नियुक्त गरको हो। उपाध्यक्ष र सदस्य सचिवको पदावधि ४ वर्षको रहनेछ। कोइराला तेक्वान्दो युनियनका अध्यक्षका रुपमा क्रियासिल छन्। उनी नेकपा माओवादीका पूर्वनेतासमेत हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.