नयाँ रणनीति बनाउँदै दाहाल-नेपाल समूह

|

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक मंगलबार ११ बजेका लागि डाकियो। विवादले पार्टी विभाजनको संघारमा पुगेको अवस्था चलिरहेको बैठकको सुरुबाट नै प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुन चाहिरहेका थिएनन्। 

यही विवादका बीच पार्टीभित्रको विवाद फरक फरक मोडमा पुगेको विवाद चलिरह्यो। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायत स्थायी कमिटी सदस्यले प्रधानमन्त्री ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने बताए। 

त्यही विवाद चलिरहेको बेलामा नेकपाको स्थायी कमिटीको बैठक पटक पटक स्थगित भइरहेको छ। पार्टीभित्रको विवाद समाधानका लागि प्रधानमन्त्री ओली र अध्यक्ष दाहाल पटक पटक वार्तामा बसे तर निष्कर्ष दिन सकेनन्। 

शीर्ष नेताहरुको शक्ति संघर्षका कारण चुलिएको विवाद समाधानका लागि दोस्रो र तेस्रो तहका नेताले पनि निरन्तर दबाव दिइराखेका थिए। त्यही विवादका बीच पछिल्लो समय अध्यक्ष दाहाल र नेता नेपालले प्रधानमन्त्री ओलीविरुद्ध कडा अभिव्यक्ति दिए। 

अध्यक्ष दाहालले पार्टीभित्रको विवाद समाधान गर्नुको साटो प्रधानमन्त्री ओली नयाँ पार्टी दर्ता गर्न निर्देशन दिनतर्फ केन्द्रित भएको सार्वजनिक रुपमै मुख खोले। त्यही कार्यक्रममा नेता नेपालले पनि ओलीलाई नै लक्षित गर्दै पार्टीको विधि र पद्धती नम्माने चोइटिएर जाने प्रष्ट्याए। त्यही अभिव्यक्तिपछि प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीचको दुरी झन् बढेको छ।

बैठक सार्ने रणनीति

सोमबार बिहान अध्यक्ष दाहाल–नेपाल समूहले खुमलटारमा भेला भए। भेलामा सहभागि भएकाहरुले मंगलबारको बैठक अगाडि बढाउने निष्कर्ष निकाल्यो। तर, प्रधानमन्त्री ओली पक्ष आजको बैठक नबस्ने रणनीति बनाइरहेको थियो। 

दाहाल पक्षले ओलीले बैठक नराखे बहुमतले अगाडि बढ्ने निर्णयको अघि सारेको थियो। ‘प्रधानमन्त्री ओलीले पहिलो कुरा बैठक राख्नै सहमत हुनुहुन्थ्यो। त्यही भएर उहाँ बैठकमा पनि आइरहनु भएको छैन’, अध्यक्ष दाहालनिकट एक स्थायी कमिटी सदस्यले भने, ‘आफूविरुद्ध मोर्चाबन्दी हुने र अल्पमतमा पर्ने कारणले उहाँ बैठकबाट पछि हट्नु भएको हो।’ 

बैठक स्थगित भएको अर्का अध्यक्ष दाहाललाई समेत जानकारी भएको उनले बताए। तर प्रधानमन्त्री ओलीले एकलौटी रुपमा बैठक स्थगित गरेपछि दाहाल–नेपाल समूह बैठकका लागि बालुवाटार पुग्यो। बैठक सुरु गर्नुअघि अध्यक्ष दाहाल र नेता खनाल प्रधानमन्त्रीलाई भेट्न गए। 

‘प्रधानमन्त्री ओलीले आफूले बैठक स्थगित गरेको र अब कसरी अगाडि बढ्नुछ बढ्नुहोस् भन्ने कुरा गर्नुभयो’, अध्यक्ष दाहालले बैठक भनेको कुरालाई उदृत गर्दै एक नेताले भने,  ‘ओलीजीसँग भेटेर फर्किनु भएपछि उहाँले पार्टी संकटको अवस्थामा पुगेको छ। विभाजन हुन पनि सक्छ। तर, हामीले नआत्तिकन सकेसम्म समाधानको बाटो खोजेर एकता जोगाउनुपर्छ भन्ने कुरामा केन्द्रीत हुनुभयो।’  

पार्टी संकटमा छ : प्रवक्ता श्रेष्ठ 

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी संकटमा रहेको बताएका छन्। ‘हामी छिटो हतारमा कुनै निर्णय गर्न चाहँदैनौँ सकेसम्म सहमतिमा बहुमतको आधारमा अघि बढ्ने पक्षमा छैनौँ’, उनले भने, ओलीसँगको छलफलपछि मात्रै निर्णय हुन्छ।’ 

पार्टी एकता रक्षा गरेर संकट सकारात्मक ढंगबाट आआफ्नो ठाउँबाट आह्वान गरेको समेत बताए। ‘हामीले हतारमा निर्णय गरेर संकट ल्याउनेभन्दा पार्टीभित्र सहमति गरेर अघि बढ्ने पक्षमा छौँ’, उनले भने, ‘त्यसैले हामीले आजको बैठकपछि अध्यक्ष दाहालले प्रधानमन्त्री ओलीसँग छलफल गर्ने निर्णयमा पुगेपछि अघि बढ्ने निर्णय गरेका हौँ।’ प्रधानमन्त्री ओलीले पार्टीको विधि र पद्धती भुलेको समेत जनाए।  

फेरियो गौतमको कुरा, थापा अनुपस्थित

जारी स्थायी कमिटीको बैठकमा ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने अडानमा रहेका उपाध्यक्ष गौतमको कुरा फेरिएको छ। उनले मंगलबारको बैठकअघि प्रधानमन्त्री ओलीलाई यो कार्यकाल प्रधानमन्त्री र अध्यक्ष एकता महाधिवेशनसम्म अध्यक्ष दाहाल कार्यकारी अध्यक्ष हुनुपर्ने प्रस्ताव राखेका छन्। ​

यस्तै, बैठकमा अध्यक्ष निकट मानिएका गृहमन्त्री रामबहादुर थापा बादल पनि उपस्थित भएनन्। पार्टीभित्रको विवादमा साम्य हुने बेलामा मात्रै मुख खोल्ने गरेका बादलको अनुपस्थितिलाई अर्थपूर्ण रुपमा हेरिएको छ। गृहमन्त्री थापालाई पछिल्लो समयमा प्रधानमन्त्री ओलीनिकट भएको आरोप लाग्दै आएको छ।

पार्टी फुटको संघारमा पुगेको अवस्थामा उपाध्यक्ष गौतमको बोलि फेरिनु र गृहमन्त्री थापाको अनुपस्थितिलाई पार्टीभित्रको विवादका बीच अर्थपूर्ण मानिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.