|

काठमाडौं : राप्रपाका संस्थापक अध्यक्ष सूर्य बहादुर थापाका छोरा सुनिल बहादुर थापा (साउन १३) गते दिउँसो ४ बजेपछि कांग्रेस बने। उनलाई कांग्रेसका सभापति शेरबहादुर देउवाले फूल मालासँगै  कांग्रेसको सदस्यता कार्ड दिएर कांग्रेसमा स्वागत गरे। केही कांग्रेसीहरू खुलेर उनको स्वागत गरिरहेका छन् भने केहीले आलोचना पनि। तर, सुनिल बहादुर थापाको परिवार कांग्रेससँग यसअघि नै जोडिएको थियो। सुनिलका बुवा सूर्य बहादुरमार्फत पहिले कांग्रेसमा जोडिएको थापा परिवार अहिले सुनिलमार्फत पुन: जोडिएको हो। 

सूर्य बहादुर थापा कांग्रेसको सभापति  र कोषाध्यक्ष 

उनै सूर्य बहादुर थापाका छोरा सुनिलले मंगलबार कांग्रेस प्रवेश कार्यक्रममा भनेका थिए, ‘२०१० सालताका मेरो बुबा सूर्यबहादुर थापा मोरङको कांग्रेसको कोषाध्यक्ष र त्यसपछि धनकुटा जिल्ला सभापति हुनुहुन्थ्यो।’ त्यस्तै सुनिल थापाले राणा, पञ्चायतदेखि राजासम्म निरन्तर संघर्ष र शक्तिमा रहेका सूर्यबहादुर थापाले पहिले कांग्रेसमा रहेर देखेको प्रजातान्त्रिक शक्तिको सपना पूरा गर्न आफू अहिले कांग्रेस प्रवेश गरेको पनि बताए। 

‘६६–६७ वर्ष पछि कांग्रेससँग पुनः नाता जोड्न पाउनु मेरो सौभाग्य हो,’ उनले भने, ‘लामो समय टुटेको साइनो राम्रोसँग जोडिन्छ भन्ने विश्वास लिएको छु। कांग्रेसमा आउँदा म हर्षित छु।’ 
त्यसो त पूर्वप्रधानमन्त्री सूर्य बहादुर थापा कांग्रेसका तत्कालीन सभापति तथा पूर्वप्रधानमन्त्री गिरिजाबाबु कोइरालासँग पनि निकै नजिक थिए। थापा र कोइराला एक अर्कामा राजनीतिक छलफल पनि खुबै साटासाट गर्ने गर्थे। सत्ता समीकरणका विषयमा गिरिजा बाबु सुनिल थापाकोमा जाने गर्थे। 

राजनीतिक विश्लेषक पुरञ्जन आचार्य भन्छन्, ‘गिरिजा बाबु र सूर्य बहादुरको केमेस्ट्री मिल्थ्यो। त्यही भएर नै होला उनीहरू राजनीतिक मुद्दामा भेट भएरै कुरा गर्थे।’ उनका अनुसार ०४६ सालपछि सूर्य बहादुर थापा र गिरिजाबाबु एक अर्कासँग नजिक भएका हुन्।

‘उहाँहरू दुवै जना एक अर्कासँग सहकार्य गर्न माहिर हुनुहुन्थ्यो,’ गिरिजाबाबु प्रधानमन्त्री हुँदा उनको सचिवालयका पदाधिकारीसमेत रहेका आचार्य भन्छन्, ‘उहाँहरू दुवैजना एक अर्का घरमा खूब मिटिङ बस्नु हुन्थ्यो। धेरै जसो थापा निवासमा गिरिजाबाबु जानुहुन्थ्यो।’ उनीहरूबीच २०५१ सालपछि बनेको गठबन्धनको सरकार कसरी अघि बढाउने भन्ने विषयमा चर्काे साँठगाँठ भएको थियो। 

अब सुनिल बहादुर थापाको कुरा गरौँ। २०७० सालमा भएको संविधानसभा चुनावमा धनकुटाबाट निर्वाचित भएका उनी नेपाली कांग्रेसका तत्कालीन सभापति तथा प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको सरकारमा आपूर्ति तथा वाणिज्य मन्त्री भएका थिए।  पछिल्लो समय फुटेको राप्रपा जुटेपछि आफूलाई अपमान गरिएको, बाबु सूर्य बहादुरको दृष्टिकोण राप्रपाले भुलेको आरोप उनले लगाउँदै आएका थिए। कांग्रेस प्रवेश गर्दा उनले मन्तव्य राख्नेक्रममा पनि उनले यो कुरा भने, ‘राप्रपाले संस्थापक अध्यक्ष सूर्य बहादुर थापाको दृष्टिकोण बिर्सिंदै गएको र त्यो पूरा गर्न कांग्रेस प्रवेश गरेँ।’  

सभापति देउवाले अलि पहिले पार्टीका उपसभापति रहेको विजय गच्छदारलाई भित्र्याएर प्रदेश १ मा कांग्रेसलाई बलियो बनाएका थिए। अहिले सूर्य बहादुर थापालाई भित्र्याएर कांग्रेसको उपस्थिति प्रदेश १ मा थप बलियो बनेको कांग्रेसकै नेताहरू पनि बताउँछन्। सुनिल थापासँगै धनकुटामा त राप्रपाको सबै जिल्ला, गाउँ, नगर समिति पनि कांग्रेसमा समाहित भएको थियो।

त्यस्तै, प्रदेशमा नेतृत्वमा रहेका राप्रपाका नेताहरूलाई पनि सुनिल थापाले कांग्रेस ल्याउने तयारी गरेका छन्। कांग्रेसले उनलाई सहमहामन्त्री र केहीलाई केन्द्रीय सदस्य दिने पक्का गरिसकेको छ। थापासँगै १९ जना राप्रपाका केन्द्रीय सदस्यहरू कांग्रेस प्रवेश गरेका छन्। यता, कांग्रेसमा सुनिल थापालाई स्वागत गर्ने र उता कांग्रेसका पूर्व-सहमहामन्त्री गोविन्दराज जोशी, पुष्करनाथ ओझा र रामबहादुर विष्टलाई पार्टीबाट निष्कासित गरेपछि कांग्रेसभित्रै चर्काे आलोचना भने भइरहेको छ।   

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.