समुदायमा कोरोना संक्रमण फैलिएको आशंका

|

बैतडी : बैतडीको पुर्चौंडी नगरपालिका-१० का ३२ वर्षीय कोरोना संक्रमित युवकको सम्पर्कमा रहेका २३ जनाको स्वाब संकलन गरेर कोरोना परीक्षणका लागि पठाइएको छ। 

आफ्नै आमामाथि बलात्कार आरोपमा पक्राउ परेका ती पुरुषको सम्पर्कमा रहेका २० जना प्रहरी,३ जना अन्य थुनुवा र ३ जना भारतबाट फर्केका नागरिकको स्वाब संकलन गरेर डडेल्धुरा अस्पतालको प्रयोगशालामा पठाइएको पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले बताए। 

गत असार ३१ गते पक्राउ परेका युवकमा गत सोमबार कोरोना संक्रमण पुष्टि भएको थियो। गत मंसिरमा भारतबाट फर्केका ती युवकमा कोरोना देखिएपछि इलाका प्रहरी कार्यालय पाटनमा कार्यरत प्रहरीहरुको स्वाब संकलन गरिएको हो। 

कोरोना महामारी नफैलिँदै भारतबाट नेपाल फर्केका ती पुरुषमा कोरोना संक्रमण पुष्टि भएपछि समुदायमा कोरोना फैलिएको आशंकामा युवकको सम्पर्कमा रहेकाको स्वाब संकलन गरिएको हो। 

ती पुरुषका घर परिवारको स्वाब संकलनका लागि समेत तयारी भइरहेको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए। जिल्ला अस्पतालको आइसोलेसनमा राखिएका थुनुवाको स्वास्थ्य अवस्था भने समान्य छ।

प्रहरी कार्यालयमा निषेध

कोराना भेटिएपछि इलाका प्रहरी कार्यालयमा भने सेवाग्राहीलाई निषेध गरिएको छ। स्वाब संकलन गरिएका प्रहरीको कोरोना रिर्पाेट नआउँदासम्म सेवाग्राही निषेध गरिएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक धनदेव साउँदले बताए। 

समुदायमा संक्रमण आशंका 

बैतडीमा समुदायमा कोरोना संक्रमण फैलिएको आशंका गरिएको छ। गत मंसिरमा भारतबाट फर्केका ३२ वर्षीय पुरुषमा कोरोना पुष्टि भएपछि समुदायमा कोरोना फैलिएको आशंका गरिएको हो।  

गत मंसिरमा भारतबाट फर्केका र ट्राभल हिस्ट्री नभएका व्यक्तिमा कोरोना पुष्टि भएपछि समुदायमा कोरोना फैलिएको आशंका गरिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए।

ती व्यक्ति आफ्नै आमामाथि बलात्कार गरेको आरोपमा गत असार ३१ गते पक्राउ परेका थिए। हिरासतमै रहेका बेला स्वाब संकलन गरिएकोमा सोमबार ती व्यक्तिमा कोरोना पुष्टि भएको थियो। कोरोना भएका ती व्यक्तिलाई  जिल्ला अस्पतालको आइसोलेसनमा राखिएको छ।

कुनै ट्राभल हिस्ट्री नभएका व्यक्तिमा कोरोना पुष्टि भएपछि इलाका प्रहरी कार्यालय पाटनमा कार्यरत प्रहरी र ती व्यक्तिका घरमा स्वाब संकलन गरिने स्वास्थ्य प्रमुख भट्टले बताए।

पछिल्लो समयमा भारतबाट फर्केका कतिपय नागरिक क्वारेन्टाइनमा नबसी सिधै घर गएकाले समुदायमा कोरोना संक्रमण भएको हुन सक्ने आशंका गरिएको छ। कोरोना संक्रमति ती व्यक्तिलाई सोधपुछ गरेर तिनको सम्पर्कमा रहेकाहरुको स्वाब संकलन गरेर कोरोना परीक्षण गरिने बताइएको छ।

संक्रमितको संख्या ३ सय ९

बैतडीमा आज थप दुईजनामा कोरोना संक्रमण पुष्टि भएको छ। डडेल्धुरा अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा पाटन नगरपालिकाका-६ का ३१ वर्षीय पुरुष र पाटन नगरपालिका ९ का ४३ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले जानकारी दिए।

कोरोना पुष्टि भएका दुवै जना भारतबाट फर्केका र क्वारेन्टाइनमा बसिरहेका महराले बताए। संक्रमितहरुको स्वास्थ्य अवस्था समान्य छ।

यो सँगै बैतडीमा कोरोना संक्रमितको संख्या ३ सय ९ पुगेको छ। जिल्लाका सबै स्थानीय तह मध्ये सबैभन्दा बढी पञ्‍चेश्‍वर गाउँपालिकामा ६० जना संक्रमित रहेका छन्। 

यस्तै शिवनाथ गाउँपालिकाका ५०, दोगडाकेदार गाउँपालिकाका ४३, सिगास गाउँपालिकाका ४०, दशरथचन्द नगरपालिकाका ३४, मेलौली नगरपालिकाका २७, सुर्नया गाउँपालिकाका १६, पाटन नगरपालिकाका २३, पुर्चौंडी नगरपालिकाका ९ र डिलाशैनी गाउँपालिकाका ७ जनामा संक्रमण पुष्टि भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.