|

पर्सा : पर्सामा एकैदिन ५३ जना संक्रमित थपिएका छन्। वीरगन्जस्थित नारायणी अस्पतालको स्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा एकै दिन ५३ जनामा संक्रमण पुष्टि भएको हो।

संक्रमितमध्ये ३ जना बाराका र बाँकी सबै पर्सा जिल्लाका रहेको नारायणी अस्पतालले जनाएको छ। संक्रमितमध्ये १५ जना महिला र बाँकी पुरुष रहेको नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा.मदन कुमार उपाध्यायले जानकारी दिएका छन्‌।

संक्रमितमध्ये स्वास्थ्यकर्मी ४ जना र नेपाली सेना वीरगन्जको चण्डी प्रसाद गणका २ जना रहेका छन्। त्यसैगरी, नारायणी अस्पतालकै क्वार्टरमा बस्दै आएका स्वास्थ्यकर्मीका परिवारका ११ जना सदस्यहरू पनि संक्रमित भएका छन्‌।

जगरनाथपुर गाउँपालिकाका १, छिपहरमाई गाउँपालिकाको टिहुकीका १, पटेर्वासुगौली गाउँपालिकाकी एक महिला र २ पुरुष गरी तीन जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ। ३ वर्षीया बालिका देखि ६० वर्ष उमेर समूहसम्मका व्यक्तिहरू संक्रमित भएका छन्‌। 

केहीमा लक्षण 

संक्रमितमध्ये केहीमा लक्षण देखिएको र केहीमा नदेखिएको नारायणी अस्पतालको कोभिड विशेष अस्पताल गण्डकका संयोजक डा. उदयनारायण सिंहले बताए। गण्डक अस्पताल पहिलेदेखि नै भरिएकाले थप संक्रमितहरूलाई कहाँ राख्ने भन्ने चुनौति प्रत्येक दिन थपिँदै गएको छ। अहिले तत्काललाई वीरगन्जको सिद्धार्थ मा.वि.मा बनाइएको सेमी आइसोलेसन कक्षमा पनि संक्रमितहरूलाई राख्न थालिएको डा. सिंहको भनाइ छ।

४८ जना पहिलेदेखि नै होम क्वारेन्टाइनमा नै रहेकोमा अब हरेक दिन थपिँदै जाने संक्रमित र संक्रमण नदेखिएकालाई होम क्वारेन्टाइनमा पनि राख्नुपर्ने अवस्था निम्तिएको चिकित्सकहरूले बताएका छन्‌। अस्पतालमा राख्ने ठाउँ नभएपछि घरको अवस्था हेरी होम आइसोलेसनमा नै राख्ने प्रबन्ध मिलाउँदै जानुको विकल्प नभएको नारायणी अस्पतालले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.