धोकाबारे सम्झाउँदा पनि ६ बुँदे प्रस्ताव फिर्ता लिन मानेनन्‌

|

काठमाडौँ : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले बहुमतको आडमा अघि बढ्दा पार्टी जोखिममा पर्ने बताएका छन्। पार्टीभित्रको विवादलाई लिएर छलफल गर्न पुगेका केन्द्रीय सदस्यहरूसँगको छलफलको क्रममा उनले यस्तो बताएका हुन्। 

‘पार्टीभित्रको विवादले संकटमा पुगेको अवस्था छ, त्यसैले मैले पार्टीभित्रको समस्या समाधान गर्ने मुल सूत्रधारमा रहेर ६ बुँदे प्रस्ताव ल्याएको हुँ,’ भेटवार्ताको क्रममा गौतमको भनाईलाई उद्धृत गर्दै केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले भनिन्, ‘कम्युनिष्ट पार्टी बलियो हुनका लागि संगठन बलियो हुनुपर्ने भएकाले समाधानको विकल्प छैन।’

सो भेटघाटका क्रममा गौतमले पार्टी संकटमा पुगेको बेलामा आफूले मध्यस्तकर्ताका भूमिका खेलेको तथा कसैको साथ र पदको लोभमा यस्तो निर्णय नगरेको बताएका छन्। उनले भनेका छन्, ‘म माथि शीर्ष तहबाट धेरैपटक धोका भइसकेको छ, तर, यो पटक पनि अपमानित नै हुनु परेपनि पार्टी एकता जोगाउन लाग्छु।’ 

‘मेरो प्रस्ताव उहाँहरु (ओली-दाहाल) दुवै पक्षमा मान्य भएन। तपाईंहरुलाई पनि मान्य भएको छ जस्तो लाग्दैन। तर, पार्टीभित्रको समस्या सुल्झाउन मुख्य सूत्रधार यही हो,’ उनले भने, 'ओलीलाई यसअघि साथ दिएर जे गल्ती गरेँ, त्यसले मलाई ठुलो घात भइरह्यो, अहिले पार्टी एकता जोगाउन फेरि यस्तो कदम अघि सारेको छु।’

‘दुवै पक्षले आ-आफ्नो अडान राखिरहे पार्टी विभाजनतिर धकेलिन सक्छ, म पार्टी फुटाउनेतिर भन्दा पार्टी एकताको पक्षमा उभिन्छु,’ उनले भने, 'पार्टीभित्रको विवाद समाधान गर्न मेरो प्रस्तावअनुसार अघि नबढे जे पनि हुनसक्छ, बहुमतको आधारमा अघि बढ्न खोजे दुर्घटना समेत निम्तिन सक्छ।’

‘मेरो प्रस्ताव उहाँहरु (ओली-दाहाल) दुवै पक्षमा मान्य भएन, तपाईंहरुलाई पनि मान्य भएको छ जस्तो लाग्दैन, तर, पार्टीभित्रको समस्या सुल्झाउन मुख्य सूत्रधार यही हो,’ उनले भने, 'ओलीलाई यसअघि साथ दिएर जे गल्ती गरेँ, त्यसले मलाई ठुलो घात भइरह्यो, अहिले पार्टी एकता जोगाउन यस्तो कदम अघि सारेँ।’

बैठकमा सहभागि झाँक्रीका अनुसार गौतमले बहुमतको खेल चलिरहेको बेलमा स्थायी कमिटी बैठक कसरी राख्न सकिन्छ भन्नेबारेमा पनि परामर्श लिएका थिए। केन्द्रीय सदस्यहरूले गौतमको प्रस्ताव राम्रो भएपनि प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीबारे कुराकानी गरेका थिए।

प्रधानमन्त्री ओली पार्टीमा एकलौटी चल्न खोज्दा पार्टी गम्भीर समस्यामा पुगेको उनले बताइन्। ‘उहाँ एकलौटी चल्न खोज्नुभयो, कम्युनिष्टहरू मुख्य गरी संगठनमा कटिबद्ध हुनुपर्छ, तर उहाँले पार्टीको निर्णय समेत मान्ने गर्नुभएको छैन,’ उनले थपिन्। 

केन्द्रीय सदस्यहरूले गौतमको प्रस्तावबाट प्रधानमन्त्री केपी शर्मा ओलीलाई थप सहयोग पुगेको भन्दै त्यसबाट पछि हट्न आग्रह समेत गरेका थिए। तर गौतमले आफ्नो प्रस्ताव अहिलेका लागि उत्कृष्ट भएको भन्दै सो प्रस्ताव लिन असहमति जनाएका थिए। बैठकमा सहभागी एक नेताले भने, ‘हामीले उहाँलाई ओलीबाट यसअघिका दिनमा पाएको धोकाको बारेमा पनि सम्झायौँ।’

पार्टीभित्रको विवाद चलिरहेको बेलामा अध्यक्ष दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहमा रहिरहेका उपाध्यक्ष गौतमको ‘यू टर्न’ले नेकपाको विवाद फरक मोडमा धकेलिएको छ। स्थायी कमिटीको बैठकमा प्रधानमन्त्री ओलीले पार्टी फुटाउनका लागि नेकपा एमाले दर्ता प्रक्रिया अघि बढाएको प्रमाण दिनसक्ने बताएका गौतम अहिले ओलीकै पक्षमा उभिएका छन्।​

उपाध्यक्ष गौतमले यो कार्यकाल पूर्ण रुपमा ओली प्रधानमन्त्री र अध्यक्ष रहिरहने र एकता महाधिवेशनसम्म अध्यक्ष दाहाल कार्यकारी अध्यक्ष रहेन प्रस्ताव गरेका छन्। समस्या समाधानका लागि भन्दै प्रधानमन्त्री ओलीले मंसिरमा एकता महाधिवेशन गर्ने प्रस्ताव गर्दा तर्किएको गौतम अहिले महाधिवेशनको विषयमा सहमतिमै अघि बढ्नुपर्ने पक्षमा उभिएका हुन्।

​पार्टीभित्रको समस्या समाधानका लागि भन्दै गौतमले ६ बुँदे प्रस्ताव अघि सारेका छन्। तर, उनले ल्याएको प्रस्तावलाई हेर्दा उनी फेरि प्रधानमन्त्री ओलीतिर ढल्किएको सहजै अनुमान लगाउन सकिने स्रोतको दाबी छ। गौतमको बोली फेरिएपछि दाहाल-नेपाल समूह नयाँ रणनीति बनाउनेतर्फ केन्द्रित भएका छन्। 

प्रधानमन्त्री ओलीको पक्षमा रहेर गौतमले ६ बुँदे प्रस्ताव अघि सारेका दिन प्रधानमन्त्री ओलीले उपाध्यक्ष गौतम निवास भैँसेपाटीमा पुगेर भेटवार्ता गरेका थिए। ओलीको साथमा महासचिव बिष्णु पौडेल पनि गएका थिए। पारिवारिक जमघट भएको बनाइएपनि पार्टीभित्र कसरी अघि बढ्ने भन्नेबारे ओलीले छलफल गरेको बुझिएको छ। 

पार्टीभित्र अल्पमतमा परेको बेलामा उपाध्यक्ष गौतमले आफ्नो पक्षको धारणा राखेपछि प्रधानमन्त्री ओलीलाई केही राहत मिलेको छ। गौतमको 'यू टर्न' पछि प्रधानमन्त्री ओलीले पनि अब कसरी अघि बढ्ने भन्नेबारे आन्तरिक छलफल तीव्र पारेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.